Saturday, April 23, 2011

प्राचीन ओलम्पिक खेल

प्राचीन ओलम्पिक खेल

आधुनिक विश्वमा ओलम्पिक खेलको महत्त्वपूर्ण स्थान छ। खेलकूदको संसारमा ओलम्पिक खेल सबैभन्दा ठूलो खेल प्रतियोगिता हो। यसैले त ओलम्पिक खेललाई खेलकूदको महाकुम्भ भनिन्छ, जो प्रत्येक चार वर्षमा आयोजन गरिन्छ। कुनै पनि राष्ट्र खेलकूदमा कतिसम्म विकसित छ, त्यसको सही लेखा-जोखा प्रत्येक चार वर्षमा आयोजन हुने यस ओलम्पिक खेलले गर्दछ। यसैले प्रत्येक राष्ट्र ओलम्पिक खेलमा आफ्नो राष्ट्रको सर्वोत्कृष्ट प्रदर्शन होस्‌ भन्ने चाहेर नै खेलकूदको क्षेत्रमा लगानी गर्दछन्‌। ओलम्पिक खेलमा पदकहरू जित्नु भनेको राष्ट्रको गौरव तथा सगरमाथाको टुप्पोमा हुग्नु हो।

ओलम्पिक खेलको जन्म यूरोपको ग्रीस राष्ट्रमा भएको हो। ईशापूर्व 776-मा प्राचीन ग्रीसको ओलम्पिया शहरमा ओलम्पिक खेलको जन्म भएको बताइए पनि यो खेल ग्रीसमा आजभन्दा 3 हजार वर्षअघि आयोजन हुने गरेको अनुमान गरिएको छ। ओलम्पियामा आयोजन हुने खेलबाट नै ओलम्पिक खेलको उदय भएको हो। यो खेल आयोजन भएको पहिलो लिखित प्रमाण ईशापूर्व 776को पाइएको छ। त्यसताक ग्रीसमा प्रत्येक चार वर्षमा यो खेलको आयोजन गरिन्थ्यो। त्यस समय ग्रीसमा चारवटा ग्रीसेली खेल आयोजन हुन्थे जसमध्ये ओलम्पियामा आयोजन हुने खेल एक थियो। ओलम्पिया, डेल्फी, स्तमिया र निमियमा यी खेलको आयोजन हुन्थे। त्यस समय ग्रीस स-साना राज्यहरूमा विभाजित थियो तर सम्मान संस्कार र परम्परा भएकाहरूको यो खेल रहेको थियो।


ओलम्पिक खेलको आयोजना गर्नअघि शहर-शहरमा पवित्र मशाल बोकेर हिँडिन्थ्यो। मशालले ओलम्पिको खेलको सन्देश लिएर सबैलाई खेलमा सहभागी बन्ने आग्रहसहित यसको तिथिको जानकारी दिइन्थ्यो। ओलम्पिया र निमियमा आयोजन हुने खेल देवताहरूका राजा जीउसको स्मरणमा आयोजन हुन्थ्यो भने डोल्फीको खेल प्रकाशका देवता अपोलोको स्मरणमा अनि स्थमियाको खेल समुद्र देवता पोसीय डोनको स्मृतिमा आयोजन हुन्थ्यो। चारवटा ग्रीसेली खेलहरूमा ओलम्पिया सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। ओलम्पिया कुनै शहर बजार थिएन। एउटा ग्रामीण क्षेत्र थियो र यसलाई प्रवित्र स्थान मानिन्थ्यो। यहॉं देवराज जिउसको मन्दिर पनि भएकोले विभिन्न धार्मिक अनुष्ठानहरू आयोजन हुनेगर्थ्यो।ओलम्पिक खेल आयोजन भएको समय ओलम्पियामा 40 हजारभन्दा धेरै मानिसको जमघट हुनेगर्थ्यो। यसमा खेलाडीहरू, व्यापारीहरू, स्थानीय मानिसहरू, लोक कलाकारहरू आदिको उपस्थिति हुनेगर्थ्यो।


प्राचीन ओलम्पिक खेलमा विभिन्न प्रकारका खेलहरू आयोजन हुनेगर्थे। विशेष गरी एथ्लेटिक्स, जिम्नेजियम, पालास्ट्रा, शरीर प्रदर्शन आदि खेलहरूको आयोजन गरिन्थ्यो। यस खेलमा ग्रीसेली मूलका पुरुषहरूलाई अनि स्वतन्त्र पुरुषलाई सहभागी बन्ने अधिकार थियो। यस खेलमा महिला, दास र विदेशीले सहभागिता जनाउन पाउँदैन थिए। धेरैजसो खेलाडीले सहभागिताका लागि धेरै महिनाको व्यक्तिगत प्रशिक्षण र तयारी गर्नुपर्थ्यो। खेल शुरु हुन चार हप्ताअघि नै उनीहरू ओलम्पियामा पुगिसकेको हुनुपर्थ्यो। ओलम्पियामा उनीहरूले छनौट प्रतियोगितामा भाग लिएपछि मात्र अन्तिम प्रतियोगितामा सहभागी बन्नसक्थे। खेलाडीहरूलाई निर्णायकहरूले शपथ खुवाउने परम्परा रहेको थियो। खेलका नियमहरू नमान्ने खेलाडीलाई जरिमाना लगाउने परम्परा प्राचीन ओलम्पिकमै रहेको थियो।



प्राचीन ओलम्पिकमा चर्चित खेलाडीहरू धेरै रहेका थिए। क्रोटनका मिलोले ईशापूर्वको सातौं सताब्दीको उत्तरार्धमा ओलम्पियामा सातपटक विजय प्राप्त गरेका थिए भने तासोसका थियोजेनेसले प्राचीन ओलम्पिक खेलहरूमा 13 सयभन्दा धेरै विजय प्राप्त गरेको बताइन्छ। रोडेसका लियोनिडासले दौडमा 12 पटक जैतुन पत्ता (ओलिभ लीफ) जीतेको बताइन्छ। रोडेसका डायगोरासले ईशापूर्व 464 मा ओलम्पियामा आफ्नो छोरो, नातिसितै बक्सिङ जीतेका थिए।



प्राचीन ओलम्पिकमा व्यक्तिगत प्रतिसपर्धा हुन्थे। प्रतियोगिताहरू स्टेडियम र हिपोड्रोममा आयोजन हुनेगर्थे। पहिलो दिन खेलाडीहरू र निर्णायकहरूले शपथ ग्रहण गर्ने चलन थियो। दोस्रो दिन हिपोड्रोममा घोड सवारी प्रतियिगिताहरू आयोजन हुनेगर्थे जसमा चारवटा घोडाको दौड खेललाई प्रमुख मानिन्थ्यो। दोस्रो दिन नै बेलुकी पख डिस्कस, लङजम्प, जेवेलिन, दौड र कुस्तिजस्ता खेलहरूको आयोजन हुनेगर्थे। तेस्रो दिन खेलाडीहरूको अङ्क जोडिन्थ्यो अनि एउटा विशाल धार्मिक अनुष्ठान आयोजन गरिन्थ्यो। देवराज जिउसको स्मृतिमा एस सयवटा गाईको बलि चढाइन्थ्यो र उक्त मासु प्रसादका रूपमा खेलाडीहरूलाई वितरण गरिन्थ्यो। चौथो दिन विभिन्न प्रकारका दौड आयोजन स्टेडियममा गरिन्थ्यो। सोही दिन बेलुकी बक्सिङ, कुस्ती आदि खेल आयोजन हुन्थ्यो। पॉंचौं तथा अन्तिम दिन खेलाडीहरूलाई सम्मान गरिन्थ्यो। ओलम्पियाका विजेताहरूलाई नाच गानका साथ सङ्गीतमय वातावरणमा सम्मान गरिन्थ्यो। ओलम्पियाका विजेताहरूलाई ओलिभ पत्ताको श्रीपेच लगाएर सम्मान गरिने चलन थियो। आधुनिक ओलम्पिकमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई स्वर्ण, रजत र कास्य पदकले सम्मानित गर्ने चलन छ तर प्राचीन ओलम्पिकमा भने विजेतालाई ओलिभको पत्तासित रातो रिबन लगाएर सम्मान गरिन्थ्यो।


ग्रीसेली मूलकाहरूद्वारा आयोजित हुने प्राचीन ओलम्पिक ग्रीसेली परम्पराको एउटा सद्‌भावपूर्ण सम्मेलन थियो। यो खेल सन्‌ 393 सम्म आयोजन भएको बताइन्छ।

No comments: