Saturday, April 23, 2011

समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन -3

समकालीन सिक्किमेली कथा साहित्य

सिक्किममा कथा साहित्यको विकास १९९०-को दशकपछि तीव्रताका साथ भएको पाइन्छ। कविता विधामा झैं कथा विधामा पनि यहॉं धेरै कलमकारहरूले कलम चलाउन रूचाएको देखिन्छ। अघिल्लै दशकदेखि सक्रिय रहेका कथाकारहरूसित नयॉं कथाकारहरूको सङ्गमले समकालीन सिक्किमेली नेपाली कथा साहित्यलाई उच्चता प्रदान गरेको छ। अहिलेका सिक्किमेली नेपाली कथा परम्परावादी कथा लेखनबाट माथि उठेका छन् भने उत्तराधुनिक कथा लेखनलाई पनि यहॉंका एक दुइ कथाकारले प्रयोगमा ल्याउने चेष्टा गरेको देखिन्छ। यस अवधिका कथाहरू बदलॅंदो सामाजिक, राजनैतिक, आर्थिक र वैश्विक परिवेशमा सिर्जना भएका छन्। कथाको मार्मिकता र विषयगत प्रस्तुतिमा एक दुइ कथाकारहरू निकै अघि पुगेका छन्।

अघिल्लो दशकमा कथा साहित्यमा आफूलाई स्थापित गरिसकेका सानु लामा, सानुभाइ शर्मा, पूर्ण राई, गंगा क प्तान, राधाकृष्ण शर्मा, आर्य लामिछाने, समीरण छेत्री प्रियदर्शी, टेकबहादुर तामी, रूद्र पौड्याल, गहर उदासी, सरला राई, प्रेम थुलुङ, भीम दाहालहरू सॅंगसॅंगै नयॉं कथाकारहरूले १९९०-को दशकको शुरूदेखि नै सिक्किमेली कथा साहित्यलाई नयॉं आयाम दिने प्रयास गरेको देखिन्छ। यीमध्ये भीम दाहाल, प्रवीण राई जुमेली, डिल्लीराम अधिकारी, विजयकुमार सुब्बा, पेम्पा तामाङ, चम्पादिवस राई, कालुसिंह रणपहेंली, विनोद प्रधान "सोरकी', थिरूप्रसाद नेपाल, छिरिङ पाञ्जो शेर्पा, पारसमणि शम, देवकुमार राई, धन निर्दोष सुब्बा आदि कथाकारहरूले सिक्किमेली नेपाली कथा साहित्यलाई नयॉं आयाम दिने चेष्टा यस कालमा आएर गरेका छन्। यस अवधिमा कथा साहित्यलाई विकसित गर्न तथा नयॉं कथाकारहरूलाई परिष्कृत र परिमार्जित गर्दै परिपक्व बनाउन विभिन्न पत्र-पत्रिकाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। कथा साहित्यलाई बढ़ी प्राथमिकता दिँदै अघि सरेका पत्र-पत्रिकाहरूमा स्रष्टा, प्रक्रिया, निर्माण, नागबेली, चौंरी डॉंड़ा, समय दैनिक, बाल दर्पण प्रमुख रहेका छन्।

समकालीन सिक्किमेली कथाकारहरूले आफ्ना कथाहरूमा ग्रामीण जनजीवनको यथार्थिक चिन्त्रणमा बढ़ी जोर दिएका छन्। यसका साथसाथै शहरीकरणको कारण देखा परेका विभिन्न समस्या र विकृतिहरूलाई पनि कथाकारहरूले आफ्ना कथाहरूमा विषय वस्तु बनाउने काम गरेका छन्। प्रवृत्तिगत विशेषताको कुरा गर्दा सिक्किमेली कथाकारहरू यस अवधिमा आएर मनोविश्लेषणतर्फ पनि उन्मुख देखिन्छन्। मूलतःकथाकारहरूले समाजको वास्तविक चित्रणलाई वर्णन गर्न वक्र दृष्टिको पनि प्रयोग गर्न रूचाएको देखिन्छ। एकातिर ऐतिहासिक विषयवस्तुलाई समेट्ने तथा पारिवारिक जीवनका दुःख, कष्टलाई पनि आफ्ना कथाहरूमा उतार्न यहॉंका कथाकारहरू निक्कै सक्रिय देखिन्छन्। पछिल्ला पिँढ़ीका कथाकारहरू आर्थिक विपन्नता र बेरोजगारको समस्यालाई कथाका माध्यमद्वारा चित्रण गर्न रूचाएको पनि देखिन्छ। नयॉं कथाकारहरूले आफ्ना कथाहरूमा मानव तस्करी, मादक पदार्थको तस्करी र रोजगारका निम्ति पलायन हुनुपरेको विसङ्गत जीवनलाई पनि चित्रण गर्न अघि सरेका छन्।

यस कालमा आएर सिक्किमेली कथाले नयॉं रूप लिँदै कोरा रोमाण्टिक भाव चित्रणलाई नसमेटेर जीवन भोगाइका क्रममा देखा परेका अमिल्दा पक्षहरूलाई समेत उतार्न रूचाएका छन्। अर्कोतिर जीवन भोगाइका क्रममा अनेकौं वैकल्पिक स्रोतहरूको खोजीमा संघर्ष गर्नुपरेको अनि परिश्रम र संघर्षको उचित मूल्य नपाएको दुखेसोहरू पनि यस अवधिका कथाहरूमा यत्रतत्र पाइन्छ।

अर्कातिर कथाको सौन्दर्य पक्षलाई नयॉं रूप दिँदै विविध प्रयोगवादी दृष्टिकोण राख्ने कथाकारहरू पनि धेरै जन्मिएका छन्। कथाका पात्रहरूको चयन अनि उनीहरूको गतिविधिलाई अनेकौं रूप दिने प्रचेष्ठा यस अवधिका कथाकारहरूको रहेको छ। सामान्य कुरोलाई असामान्यकरण गर्ने अनि विशिष्ट तथा महत्वपूर्ण कुराहरूको सामान्यकरण गर्ने प्रवृत्तिको पनि विकास भएको पाइन्छ। अर्कातिर व्यङ्ग्यात्मकतालाई पनि कथाकारहरूले महत्व दिएका छन्। आफ्ना कथाहरूमा समाजमा देखा परेका विभिन्न विसङ्गतिहरूप्रति, माथिल्लो दर्जाका ठान्नेहरूप्रति व्यङ्ग्य चित्रण गर्ने प्रयास पनि कथाकारहरूले गरेका छन्। यसरी नै यस अवधिका कथाहरूमा प्रतिकात्मक प्रयोगहरू पनि भएका छन् भने कथामा सामान्य घटनालाई पनि विशेषता दिने र घटना नघटाइकन पनि कथा लेख्ने परम्परा बसालेका छन्। मानव जीवनको खोक्रोपन र आडम्बरप्रति व्यङ्ग्य र त्यस आडम्बरबाट उत्पन्न समस्याहरूलाई पनि कथाहरूमा समेट्ने प्रयास गरिएकाछन्। यसका साथसाथै सिक्किमले राष्ट्रिय स्तरमा गरेका प्रगति र उन्नतिका कुराहरूलाई पनि कथाकारहरूले इमान्दारिताका साथ प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ। मानवोत्तर पात्र-पात्राको प्रयोगद्वारा मानवीय प्रेम र करूणालाई प्रस्फुटित पार्ने कोशिश गरिएको पाइन्छ भने देह व्यापार, यौवनजन्य व्यापारको चित्रण पनि कथाहरूमा पाइन्छन्। बाल पात्र-पात्राहरूको प्रयोगले पनि कथालाई विशिष्टता दिनसकिन्छ भन्ने कुरो पनि अहिलेका सिक्किमेली कथाहरूले बताएका छन्। यसका साथसाथै कथामा उत्तराधुनिक लेखन शैली र पाश्चात्य कथा साहित्यको प्रभाव देखापरेको छ। कथालाई कलाको रूपमा प्रस्तुत गर्न अनि माझिएको कथा निर्माण गर्न यहॉंका कथाकारहरू लागिपरेका छन्। भाषा-शैलीका दृष्टिकोणमा कथाकारहरूले कथालाई आवश्यकतानुसार संवाद अनि वर्णन र विश्लेषणद्वारा अघि बढ़ाउने जुन प्रयास गरेका छन्, त्यसबाट कतिपय कथाकारका भाषा-शैली, साधारण पाठकका निम्ति केही क्लिष्ट बनेका छन् भने धेरै कथाकारहरूको कथा प्रस्तुति सरल र स्पष्ट भाषामा भएकाले साधारणभन्दा साधारण पाठकलाई पनि आकर्षित गर्नसकेका छन्।

यस अवधिमा सिक्किममा झण्डै पुराना र नयॉं गरी सय कथाकारहरूको उदय भएको छ, जो सिक्किमेली कथा साहित्यको उज्ज्वल भविष्यको सङ्केत हो। यी कथाकारहरू सबैका कथाले सङ्ग्रह र पुस्तकको रूप धारण गरेका छैनन् यद्यपि, यी कथाकारहरूले पत्र-पत्रिकामार्फत नै आफ्ना पाठकहरू जन्माइसकेको प्रतीत हुन्छ। पत्र पत्रिकामा सीमित रहेका कथाकारहरूसमेतलाई समेट्ने प्रयास यहॉं गरिएको छ।

१५ जून १९३९-मा जन्मिएका अनि साहित्यका क्षेत्रमा सानु लामा (गरूड़सिंह लामा) नामले परिचित सानु लामा सिक्किमेली कथा साहित्यका एक नक्षत्रका रूपमा स्थापित बन्नपुगेका छन्। कथा साहित्यलाई नै आफ्नो क्षेत्र मान्ने लामाले मृगतृष्णा (१९९०) कथा सङ्ग्रहका लागि १९९३-मा साहित्य अकादमी पुरस्कार प्राप्त गरे भने २००५-मा उनलाई भारत सरकारले भाषा-साहित्यको उत्कृष्ट सेवा गरेवापत २००४-को पद्मश्री पुरस्कारले सम्मानित गरेको छ, जो सिक्किमको निम्ति मात्र नभएर भारतभरि छरिएर बसेका नेपालीहरूका निम्ति गौरवको विषय बनेको छ। सानु लामा पद्मश्री पुरस्कार ग्रहण गर्ने भारतीय नेपाली साहित्यकारहरूमा पहिलो र एक्लो व्यक्ति हुन् यसैले पनि उनको महत्व स्पष्ट भएर जान्छ। उनका कथाहरूमा आञ्चलिकताको छाप, करूणा, सुन्दर र स्पष्ट भाषा-शैली, भाव प्रधानता, ग्रामीण जीवनको चित्रण, पाठकीय दृष्टिकोण, मध्यमवर्गीय जीवनपद्धति, अतिशयताको वहिष्कार, कलात्मकता र वास्तविकताको समन्वय, सन्देशमुखी आदि विशेषता पाइन्छन्।

सिक्किमेली कथा साहित्यको कुरा गर्दा समीरण छेत्री "प्रियदर्शी' (जन्मः४ जुलाई, १९३५)-को नाम प्रमुख रूपमा लिनुपर्ने हुन्छ। दार्जीलिङमा जन्मिएर सिक्किमलाई कर्मभूमि बनाएका छेत्री १९५० -को दशकको उत्तरार्द्धदेखि नै कथा लेखनमा प्रवेश गरेका हुन् भने उनको समकालीन अवधिमा पनि दुइवटा कथा सङ्ग्रह निलो झिंगा (१९९३) र निर्वाणको रात (१९९६) पाठकसामु आउनुले उनको कथा साहित्यप्रतिको प्रतिबद्धता व्यक्त हुँदछ। डा. घनश्याम नेपालको भनाइमा सामाजिक यथार्थको जिउँदो-जाग्दो चित्र पाठकसमक्ष प्रस्तुत गर्ने कथाकार हुन् उनी। सामाजिक यथार्थको विडम्बनापूर्ण र विसङ्गत स्वरूपप्रति व्यङ्ग्यात्मक प्रस्तुति र आलोचनात्मक दृष्टि राखेर कथा सिर्जना गर्नु कथाकार छेत्रीका कथामा सरल र बोधगम्य भाषा-शैलीको प्रयोग भएको पाइन्छ।

यस क्रममा उल्लेखयोग्य कथाकारहरूमा पूर्ण राई र राधाकृष्ण शर्माको नामलाई विशेष महत्वका साथ लिनुपर्ने हुन्छ। मूलतः मनोवैज्ञानिक कथा लेखनलाई अघि बढ़ाउने कथाकार हुन् राधाकृष्ण शर्मा। यिनका कथाहरूमा मानिसको जीवन संघर्ष, माया-प्रीति, प्रेम-विरह, रहर तृष्णा, आवेग र संवेगहरूको चित्रण पाइन्छन्। यिनको नयॉं स्वेटर (१९९७) प्रकाशित छ, जसमा १४ वटा कथा सामेल छन्। पूर्ण राई (जन्म)-का कथाहरूमा सामाजिक जनजीवनको राम्रो चित्रण पाइन्छ भने मानव जीवनले गर्नुपरेका संघर्ष अनि त्यसबाट प्राप्त भएका हार र जीतहरूको यथार्थ चित्रण पाइन्छ। उनको फूल झरेको पत्रदल (१९९३) र जय विजय (१९९३) यस अवधिमा प्रकाशित उत्कृष्ट कथाहरूका सङ्गालो नै मान्नुपर्छ। यिनका कथाहरूमा मान्छेका संवेदनाहरूको चित्रण गहनताका साथ प्रस्तुत गरिएको पाइन्छ। पारिवारिक जीवन पद्धतिबाट उत्पन्न विविध समस्यामूलक पाटाहरूलाई यिनले आफ्ना कथाहरूमा समेटेका छन्। उनको पासाङहरूको कथा छुट्टै विशेषता र प्रस्तुति लिएर उदय भएको छ। जस्तै दुःखमय परिस्थितिमा पनि यस कथाको पात्र पासाङ हॉंस्न पछि पर्दैन।

१९८०-कै दशकदेखि कथा साहित्यमा प्रवेश गरेका अनि १९९० पछि आएर पूर्णतः स्थापित बन्नपुगेका कथाकार हुन्‌ भीम दाहाल(जन्मः २९ नोभेम्बर, १९५४)। भाषा-शैलीका दृष्टिकोणमा अनि चरित्र र विषय वस्तुको छनौटका दृष्टिकोणमा भीम दाहाल अन्य कथाकारहरूभन्दा भिन्न रहेका छन्। यिनी आफ्ना कथाहरूमा यौवनजन्य विषय वस्तुलाई ठाउँ-ठाउँमा प्रस्तुत गर्न रूचाउँछन् भने स-साना घटनाहरूसमेतलाई च्वाट्ट टिपेर कथामा हुलिदिन्छन्। सिक्किमेली गाउँले परिवेशलाई हुबहू उतार्न उनी खप्पिस छन्। यिनको लप्टन थामी कथाको पात्र लप्टन थामी एउटा रहस्यमय पात्रका रूपमा देखापरेको छ। समाजको विकृति र विसङ्गतिप्रति अनि थोत्रे आडम्बरको आड़मा हुने उत्पीड़न र शोषणप्रति यिनले आफ्ना कथाहरूमा विद्रोह बोलेका छन्। यिनको कथाको प्रस्तुतिको विशिष्टताका कारण कतिखेर कुन सामाजिक विकृतिप्रति व्यङ्ग्य गरिएको छ, त्यो स्पष्ट भइहाल्छ। यिनको मेरो मनको साइनो तिम्रो मनलाई (१९९२) अहिलेसम्म प्रकाशित एकमात्र कथा सङ्ग्रह हो।

नेपाली कथा साहित्यमा एक प्रयोगवादी कथाकारका रूपमा उदय भएका कथाकार हुन्‌ प्रवीण राई जुमेली(जन्म ः१९६७)। सरल गाउँले जीवनको चित्रण गर्दै आफ्ना कथाहरूलाई विश्वजनिन परिवेशमा उतार्न सक्षम कथाकारका रूपमा परिचित जुमेलीको पात्र चयन र विषय वस्तुहरूको छनौट नितान्त मौलिक छ। ठाउँ-ठाउँमा श्वैरकल्पना र असित व्यङ्ग्यसमेतको प्रयोग गरिएका यिनका कथाहरूले बद्लॅंदो सामाजिक परिवेश अनि मानव मनलाई राम्रोसॅंग उतारेको देखिन्छ। स-साना कुराहरूसमेतलाई गम्भीरताका साथ टिपेर ती कुरालाई विशिष्ट तरिकाले पाठकसम्म पुऱ्याउनु उनको विशेषता नै हो। उनको भक्तेले स्कूटर किनेन, आत्मदंश, एउटा कविको मृत्यु, आ.कका.ती.पासि, विडम्बना दुइ आदि कथामा विभिन्न प्रयोग गरिएको पाइन्छ। यिनी आफ्ना कथाहरूमा प्रतीकहरूको प्रयोग गर्दै ठाउँ-ठाउँमा चोटिला व्यङ्ग्य प्रयोग गर्न खप्पिस छन्। यसै अवधिमा आएर स्थापित बनेका जुमेलीका दुइ कथा सङ्ग्रह आत्मदंश (१९९८) र निनादको निम्ति निनाद (२००१) प्रकाशित भएका छन्। जुम पश्चिम सिक्किमबाटै उदाएका अर्का कथाकार देवकुमार राई जुमेली (जन्म १९४८-मृत्युः२०००)-का केही कथाहरू ९०-को दशकमा प्रकाशित भएका छन्। मूलतः ७०-कै दशकमा कथा लेखनमा प्रवेश गरेका देवकुमार जुमेलीका कथाहरूमा ग्रामीण जनजीवनको संघर्षमय कथालाई चित्रण गरिएको पाइन्छ। यिनका १३ वटा कथाहरूको सङ्गालो निस्तब्ध ध्वनिहरू (२००६) प्रवीण राई जुमेलीद्वारा सम्पादन गरी प्रकाशन गरिएको छ। जुम, पश्चिम सिक्किमकै अर्का प्रतिभाशाली कथाकार हुन् खुसेन्द्र राई (जन्म-१६ सितम्बर, १९६८)। यिनका कथाहरू विभिन्न पत्र-पत्रिकामा प्रकाशित भइरहेका छन्। छोटा, छरिता, स्पष्ट, सौन्दर्यमय वाक्य गठनद्वारा कथालाई रोचकताका साथ प्रस्तुत गर्नु यिनको कथाकारिताको विशेषता रहेको छ।

कालुसिंह रनपहेंली (जन्म-२ मई, १९५४) एक कुशल प्रयोगवादी साहित्यकार हुन् र कथा साहित्यमा पनि उनको विशेष प्रयोगवादी दखल रहेको छ। १९७०-कै दशकदेखि कथा लेख्न शुरु गरेका रणपहेंली १९८०-को दशकको उत्तरार्द्धमा आएर एक कुशल कथा शिल्पीका रूपमा स्थापित बन्नपुगे। यिनी लघु कथाकारितामा पनि खप्पिस छन्। स्थानीय पत्र-पत्रिकाहरूसित यिनका लघुकथाहरू धेरै प्रकाशित भएका छन्। यिनका कथाहरूमा व्यङ्ग्य, आञ्चलिकता, श्वैरकल्पना, असित व्यङ्ग्य र सामाजिक यथार्थहरू पाइन्छन्। यस कालखण्डमा उनका दुइवटा कथा सङ्ग्रह कथा कुटीर (२००४) र यथार्थबोध (२००५) प्रकाशित भएका छन्। कथा कुटीर लघु कथाहरूको सङ्गालो हो, जसमा उनका २५० जति लघुकथा समेटिएका छन्। यथार्थबोध कथा सङ्ग्रहमा उनका २७ कथा प्रकाशित छन्, जसबाट उनी कथा सिर्जना गर्न कतिसम्म दक्ष छन् भन्ने कुरो प्रमाणित हुन्छ।

सिक्किमेली कथा साहित्यमा आन्दोलनकालीन समयदेखि नै लागिपरेका प्रेम थुलुङ (जन्म...)-का कथाहरूमा ऐतिहासिकताको छाप पाइन्छ। सिक्किमको ऐतिहासिक पृष्ठभूमिलाई लिएर पुरानो सिक्किमको जनजीवन र समाजको चित्रण यिनले आफ्ना कथाहरूमा गरेका छन्। यिनको राब्देञ्चीका पहाड़हरू (१९९३)-प्रकाशित भएको छ। विनोद प्रधान "सोरकी' (जन्मः मृत्यु)-का कथाहरूमा खटिखाने श्रमिकवर्गको अनि आर्थिक रूपमा पछाड़िएकाहरूको चित्रण पाइन्छ। यिनका दुइवटा कथा सङ्ग्रह सोरकीका कथाहरू (१९९७) र ..... प्रकाशित भएका छन्।

सिक्किमेली कथा साहित्यमा थोरै कथा लेख्ने तर उत्कृष्ट कथा दिने कथाकार हुन्‌ पेम्पा तामङ (जन्म....)। १९८०-को छेउछाउदेखि २००५-सम्ममा उनले ९वटा कथा लेखेका छन्, जसलाई कालो भारी (२००६) कथा सङ्ग्रहमा समावेश गरिएको छ। यिनको भ्रान्ति कथा उत्तराधुनिक कथा लेखन शैलीमा लेखिएको छ, जो सिक्किमेली कथा साहित्यको एउटा मास्टर पिस नै बन्नपुगेको छ। यसका साथै थोरै कथामा यिनले सिक्किमेली सामाजिक परिवेशलाई राम्रोसॅंग चित्रण गर्न खोजेका छन्। विशेष गरी ग्रामीण र खटिखानेवर्गका विविध समस्याहरूलाई टिपेर कथा बनाउनु नै यिनको विशेषता हो। यिनको पाठकको खोजीमा एउटा कथा-ले वर्तमान साहित्यप्रतिको पाठकको ह्राषोन्मुख प्रवृत्तिलाई चिनाउने काम गरेको छ। नाटककारका रूपमा परिचित चुनिलाल घिमिरे (जन्मः २२ फरवरी, १९५६) एक कुशल कथाकार पनि हुन्। यिनका दुइवटा कथा सङ्ग्रहले समकालीन सिक्किमेली कथा साहित्यमा निकै ठूलो योगदान पुऱ्याएको छ। मूलतः रोमान्सेली भावधारामा कथा लेख्ने कथाकार घिमिरेका सीमाको देशमा (१९९४) र अनास्था (१९९७) कथा सङ्ग्रह प्रकाशित छन्।

कथा पढ्ने पाठकको खोज होइन पाठकको निम्ति कथा खोजौं भन्ने कथाकार हुन्‌ विजयकुमार सुब्बा (जन्मः २६ जनवरी, १९६२)। कथामा व्यङ्ग्यात्मक प्रस्तुति अनि मार्मिकतालाई समेत मिलाएर प्रगतिवादी चिन्तनलाई समेटी कथा प्रस्तुत गर्ने सुब्बाको अनन्तसम्म (१९९९) कथा सङ्ग्रह प्रकाशित छ। यिनका कथाहरूमा समाजका आर्थिक, सामाजिक पक्षलाई समेटिएको हुन्छ भने ग्रामीण जनजीवनलाई यिनका कथाहरूमा हुबहू उतार्ने प्रयास पनि हुन्छ। सिक्किमेली समकालीन कथा साहित्यमा यिनी एक मूर्द्धन्य कथा शिल्पी हुन्। राधाकृष्ण शर्माझैं धन निर्दोष सुब्बा (जन्म... )मनोविश्लेषणवादी कथा लेख्न रूचाउऩे कथाकार हुन्। यथार्थपरक मनोवैज्ञानिक कथा लेखनमा यिनले रूचि लिएका छन् अनि यौन मनोविश्लेषणलाई आफ्ना कथाहरूमा प्रस्तुत गरेका छन्। यिनको निर्वाध उज्यालाहरू (१९९९) कथा सङ्ग्रह प्रकाशित छ भने धेरै कथा विभिन्न पत्र-पत्रिकाहरूतिर प्रकाशित छन्। यिनको नयॉं साल कथामा विश्वजनिन समस्याहरूलाई समेट्ने प्रयास गरिएको छ भने मानिसको यस वैश्विक परिवर्तनमा अस्तित्व सङ्कटमा परेको चित्रण राम्रोसॅंग गरिएको छ।

सन् १९७०-को दशकमा टोटलाको फूल कथा लेखेर कथाकारका रूपमा पूर्णतः स्थापित बनेकी अनि सिक्किमलाई आफ्नो कर्मभूमि बनाएकी मटिल्डा राई (जन्मः१७ मई, १९४८) थोरै तर राम्रा कथा लेख्ने कथाकार हुन्। यिनका कथामा नेपाली लोक जीवनको चित्रण अनि कतै-कतै लोककथाका प्रसङ्गहरूलाई पनि लिइने गरिएको पाइन्छ। छोटा र छरिता कथा रचना गर्न रमाएको यिनको कलमबाट माई ड्याडी (२००५) कथा सङ्ग्रहभित्र २१ कथा प्रकाशित छन्। सरल र स्पष्ट भाषा-शैलीमा लेखिएका यिनका कथाहरूमा मनोरञ्जन र कौतुहलताका साथसाथै सन्देश पनि पाइन्छ।

सन् १९७०-कै दशकदेखि नै कथा लेखनमा प्रवेश गरेका हुन् उपमान बस्नेत (जन्मः ३ मार्च, १९५३)र केदार गुरूङ (जन्मः ९ जुलाई १९४८) उपमान बस्नेतका कथाहरूमा निम्नवर्गीय समाजका विभिन्न पाटाहरूलाई केलाउने काम गरिएको पाइन्छ। यिनी आफ्ना कथाहरूमा ठेट शब्दहरूको प्रयोग गर्न रूचाउँछन् भने सरल र स्पष्ट भाषाको प्रयोग गर्दछन्। यिनको दोसॉंधमाः जीवनका घाम छायॉंहरू (१९९४) कथा सङ्ग्रह प्रकाशित भएको छ। केदार गुरूङका कथाहरूमा सामाजिक यथार्थलाई क्लिष्ट भाषा-शैलीद्वारा प्रस्तुत गरिएको पाइन्छ। कथाको प्रस्तुतिकरणसमेत विश्रृङ्खल भएकाले यिनका कथाहरू त्यति प्रभावकारी बन्न सकेको देखिँदैन। यिनको सिमानामाथि चढ़ेर सुनाएका अग्ला होचा कथाहरू (१९९४) प्रकाशित छ।

सिक्किमेली कथा साहित्य कमला आँशु (जन्म- मृत्यु)-को योगदान महत्वपूर्ण रहेको छ। मूलतः नारी हृदयका कोमल भावनालाई कथाको रूप दिँदै यिनले नारी जीवनका विभिन्न पाटालाई आफ्ना कथाहरूका विषय वस्तु बनाएकी छन्। नेपाली समाजमा नारीले भोग्नु परेका विविध समस्या र संघर्षलाई सरल भाषामा कथाको रूप दिने आँशु यसै कालखण्डमा आएर स्थापित कथाकार हुन्। सेतो गुलाफ (१९९५), ममताको छालभित्र (१९९९), आफ्नो माटोको सुगन्ध (१९९९) र मीमांसा (२००६) गरी उनका चारवटा कथा संग्रह प्रकाशित छन्।

आख्यान साहित्यमा बेजोड़ताका साथ कलम चलाउने अनि सिक्किमका प्रथम उपन्यासकारको पगरी लगाएका गंगा कप्तान( जन्म-७ जून, १९४६-मृत्यु-११ दिसम्बर, २००२)-एक कुशल कथाकार रहेका छन्। यिनी यथार्थपरक सामाजिक कथा लेख्ने कथाकार हुन्। यिनका कथामा प्रयोगात्मक दृष्टिकोण पनि प्रशस्तै पाइन्छ भने विज्ञान कथा लेखनमा पनि यिनको रूचि रहेको देखिन्छ। उनको मृत्युपछि प्रकाशित एकमात्र कथा संग्रह कुरै कुराका कुराहरू(२००६)-का कथाहरूमा उनको विशिष्ट कथाकारिताको छाप पाइन्छ। हास्य व्यङ्ग्यात्मक कथा लेखनलाई एल्डी राई "मिक्खोले' (जन्मः ४अक्टोबर, १९५६- मृत्युः १९ अगस्त १९९२)-ले अघि बढ़ाएको देखिन्छ। समाजको यथार्थ, युगीन परिवेशको चित्रण, निम्नवर्गका जीवनगत दुःख र व्यङ्ग्यात्मक भाषा-शैलीको प्रयोग मिक्खोलेको कथाकारिता हो। उनको जीवन कालमा लेखिएका ११ वटा कथाहरूलाई चम्पादिवस राई र मणि चामलिङ रहरले सम्पादन गरी मिक्खोले व्यक्तित्व एवं कृतित्व (२००२)-मा प्रकाशित गरेका छन्।

समालोचकका रूपमा स्थापित डा. शान्ति छेत्री (जन्म-१९४७) एक कुशल कथाकार पनि हुन्। थोरै तर गहकिला कथा लेख्ने डा. शान्ति छेत्रीका कथामा मध्यमवर्गीय परिवारका नारीहरूका विविध समस्यालाई इंकित गरिएको पाइन्छ। नारी विषयक यथार्थपरक र वस्तुनिष्ठ चिन्तन राख्ने कथाकार शान्ति छेत्रीको माया-जाल (२००६) कथा संग्रह प्रकाशित छ। सुधा राई (जन्म-११ मार्च,१९६८) पनि सिक्किमेली कथा साहित्यमा एक प्रतिभावान कथाकारको रूपमा उदय भएकी छन्। उनका कथाहरू समाजको यथार्थ चित्रण गर्न सक्षम छन् भने नारी मनभित्र कुण्ठा र द्वन्द्वलाई पनि उनले प्रस्फुटित गर्ने चेष्टा गरेकी छन्। उनको समाधानहीन पाइलाहरू (१९९८)-नामक कथा संग्रह प्रकाशित भएको छ।

अघिल्लै दशकदेखि कथा लेखनमा प्रतिबद्धताका साथ लागिपरेका गहर उदासी (२ अक्टोबर, १९५१)-का कथा साहित्यका एक प्रमुख व्यक्तित्व हुन्। यस अवधिमा उनका चारवटा कथा सङ्ग्रह प्रकाशित भएका छन्। आफ्ना कथाहरूमा ग्रामीण जीवनका तीता-मीठा अनुभवहरूलाई प्रस्तुत गर्ने उदासी एक सामाजिक यथार्थवादी कथाकार हुन्। उनका कथा सङ्ग्रहहरू सिमानाहरू (१९९०), तीन उच्छवास (१९९३), वक्र रेखाहरू (१९९६) र मान्छे अमान्छे (१९९९) प्रकाशित छन्।
१९८०-को दशकमा कथा साहित्यमा स्थापित बनेका थिरूप्रसाद नेपाल (जन्म....) का दुइ कथा सङ्ग्रह प्रकाशित छन्- उकाली ओह्राली (१९९५) र अर्को देशको मान्छे (२०००)। यिनका कथाहरूमा समाजको वास्तविक चित्रण गरिनका साथै त्यसप्रति वक्र दृष्टि राखिएको हुन्छ। समाजमा सम्भ्रान्तवर्गले निम्नवर्गमाथि कसरी शोषण र दमन गर्छन् अनि निम्नवर्गकाहरू कसरी शोषित बन्नुपर्छ ती कुरालाई साधारण रूपमा होइन तर विशिष्टताका साथ प्रस्तुत गर्नमा यिनी खप्पिस छन्। अर्कोतिर यिनका कथाहरूमा सामान्यलाई असामान्य अनि असमानान्यलाई सामान्य बनाउने प्रयास गरिएको पाइन्छ। सिक्किमेली कथा साहित्यमा यिनको विशेष स्थान निर्धारण भइसकेको छ।

यस अवधिमा स्वछन्दतावादी धारामा सामाजिक कथा लेख्ने धेरै कथाकारहरूको उदय भएको छ। समाजका सामान्य कुरालाई कथाको रूप दिँदै रोमाण्टिक भावधारामा कथालाई अघि बढ़ाउने कथाकारहरूमा वीरभद्र कार्की ढोली, डिल्लीप्रसाद शर्मा अधिकारी, दलमान डी. गुरूङ (जन्मः २५ दिसम्बर, १९६५), निकुरा बुङ्छेन, प्रेम मुखिया "बैरागी' र कपिलमणि अधिकारी (जन्मः २२ मई, १९६६), प्रमुख छन्। वीरभद्र कार्कीढोलीको शब्दमा मनका आवेगहरू (२०००), डिल्लीप्रसाद शर्मा अधिकारीको उन्मुक्ति (१९९५), दलमान डी. गुरूङको चर्केको ऐनाभित्र आफ्नै अनुहार (१९९६) र जून उदाउन बिर्सिएका रातहरू (२००६), निकु रा बुङ्छेनको जीवन यात्रा (२००४), प्रेम मुखियाको यो जन्ममा यस्तै भयो (१९९०), कपिलमणि अधिकारीको बिडम्वना (२००२) कथा सङ्ग्रहहरू प्रकाशित छन्। यसै धारामा उदय भएका कथाकारहरूका कथा सङ्ग्रहरूमा अभिचन्द्र सिग्देल (जन्मः१९७०)-को प्रभावले हानेका चोटहरू (२०००), एम.एस.खानको दुइ थोपा आँशु (१९९९) प्रमुख छन्।

यस अवधिमा उदय भएका अनि स्थापित पनि बनेका कथाकारहरू सॅंगसॅंगै अघिल्लै दशकदेखि कथा लेखनमा सक्रिय रहेका केही अन्य कथाकारहरूमा छिरिङ पाञ्चो शेर्पा प्रमुख रहेका छन्। सामाजिक यथार्थका विषय वस्तुहरूलाई व्यङ्ग्यात्मक अभिव्यक्तिका साथ प्रस्तुत गर्ने कथाकार हुन् छिरिङ पाञ्जो शेर्पा। उनको भालेको डाक (१९९१) र अदृष्य घरहरू (१९९५) कथा सङ्ग्रह प्रकाशित छन्। यसै क्रममा ललित राई र पुष्प शर्माको लाल पुष्प (१९९२), जीवन बान्तवाको जीवन बान्तवाका कथाहरू (१९९१), जी.आर. खुलालको परदेशतिर (१९९३), काजी गजमेरको यात्रा उज्यालोको (१९९३), टी.बी.चन्द्र सुब्बाको आँशुका करूण थोपाहरू (१९९३), बेन सिंह राईको निशानी (१९९५), लक्ष्मी गुरूङको समय र जीवनका प्रतिच्छायॉंहरू (१९९६), विकास श्रेष्ठ र आशवीर राईको नौलो सुस्केरा (१९९६), हरिश मोक्तान "अल्लरे'-को तथागत (१९९७), सानुभाइ शर्माको हाते चिट्ठी (१९९८), सम्पूर्णा राईको नाभो (१९९६), विजय बान्तवाको बिब्ल्यॉंटो (१९९६), नन्दू दूतराज निशाको विश्व रोएको दिन (१९९४) र आत्महरूको देशमा (२००५), लिनू खालिङको सुस्केरा द्वय (२००५), अर्जुन चामलिङ यावाको अस्तित्व (२००४) आदि प्रकाशित कथा पुस्तकहरू हुन्।

पत्र-पत्रिकामा सिमित रहेका तर कथा लेखनमा विशिष्ट दक्षता प्राप्त गरेका कथाकारहरूको उल्लेख नगरी समकालीन कथा साहित्यको विकासक्रमलाई पूरा मान्न सकिँदैन। यस क्रममा वत्स गोपाल, डा. घनश्याम नेपाल, तुलसीराम शर्मा "कश्यप', रूद्र पौड्याल, महानन्द पौड्याल प्रमुख रहेका छन्। वत्स गोपाल र डा. घनश्याम नेपालका कथाहरूमा समाजका विभिन्न विषय वस्तुहरूलाई सजीवता प्रदान गरिएको पाइन्छ। वत्स गोपालका कथाहरूमा सामाजिक विसङ्गतिहरू र व्यक्तिगत विकृतिहरूलाई चिरफार गरिएका हुुन्छन्। डा. घनश्याम नेपालका कथामा प्रयोगवादी दृष्टिकोणका साथसाथै प्रतीकहरूको प्रयोग गरिएको पाइन्छ। थोरै कथा लेख्ने डा. नेपाल आफ्ना कथाहरूमा आञ्चलिक भाषाको प्रयोग गर्न रूचाउँछन्। रूद्र पौड्याल, महानन्द पौड्याल र तुलसीराम शर्मा "कश्यप'-का थोरै कथा यस अवधिमा प्रकाशित भएका छन्‌ र उनीहरूका कथामा समाजका विभिन्न पाटालाई केलाउने प्रयास गरिएको छ। यसै क्रममा उदय भएका अर्का कथाकार हुन्‌ पारसमणि शम। शमका थोरै कथाहरूमा समाजमा देखा परेका विकृतिहरूलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ। उनको कविताहरू १,२,३,४, र ५ कथा प्रकाशित छन्, जसमा कविताहरू २ र ४-मा उनले भ्रष्टाचार र यौन-व्यापारलाई एकार्काका पूरकका रूपमा प्रस्तुत गरेका छन्।

यस अवधिमा देखा परेका अन्य कथाकारहरूका कथाहरू विभिन्न पत्र-पत्रिकाहरूमा समय-समयमा प्रकाशित भइरहेका छन्। ती कथाकारहरू हुन्-सरला राई, श्याम विरही, गोवर्धन बॉंस्तोला, अमिता "अनु', सुवास दीपक, चम्पादिवस राई, दलमान "पीर', युवा बराल, भानुप्रकाश मार्मिक, भीम प्रधान, इन्दू शर्मा, गिर्मी शेर्पा, जयवीर सुब्बा, टेकबहादुर तामी, डम्बर गुरूङ, देवकुमार दुमी, नयन राई, पासाङ शेर्पा, बुद्धिमाया सिंह, रघुनन्द सापकोटा, राज.के. श्रेष्ठ, लक्ष्मीप्रसाद सुब्बा, लिङदोम पुष्कर लिम्बू, डिल्लीराम शम, थमन नौवाग, सुश्री कृष्णा "जनम', परशु ढकाल "उपमन्यु', बलराम दाहाल, शेरबहादुर कार्की, जानुकी गुरूङ, देवमान लिम्बू,"होनदोक', गंगाराम छेत्री, प्रेम कुमार बु़ड़ाथोकी, वत्स वेदनिधि, सीता शर्मा, पुष्पमणि वशिष्ट, सन्तवीर हिवासे, ईश्वरप्रसाद "देवाशीश' ध्रुव लोहागण, सुवास तामाङ "अतीत', होमनाथ दवाड़ी, योगेश भण्डारी, शेर शशि, अम्बिका दवाड़ी, कृष्ण दवाड़ी, गोपाल अधिकारी, कृतिका नेपाल, रश्मी किरण, कमल दाहाल आदि।
यस अवधिमा समकालीन कथा साहित्यलाई विकसित गर्न स्रष्टाको भारतीय कथा विशेषाङ्क(१९९१), समय दैनिकको कथा विशेष समय कथा (२००५) रचना प्रकाशनको रचना कथा अनुष्ठान (२००५) सॅंगसॅंगै निर्माण, प्रक्रिया, सिद्धि, आदि पत्र-पत्रिकाले कथा साहित्यलाई विशेष महत्व दिएको देखिन्छ।

No comments: