Saturday, April 23, 2011

समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन -7

सिक्किमेली नेपाली नाटक साहित्य

सिक्किममा नाट्य साहित्यको भनेजस्तो हिसाबमा विकास भएको पाइँदैन। तर यहॉंका नाटककारहरू नाटक साहित्यलाई विकसित गर्ने दिशामा अग्रसर छन्। आजको विश्व साहित्यिक परिवेशमा नाटक साहित्यले ठूलो छलाङ लगाइसकेको छ। नेपाली नाट्य साहित्यले पनि उल्लेखनीय उपलब्धि प्राप्त गरिसकेको छ तर सिक्किममा नेपाली नाट्य साहित्यको स्थिति अहिले पनि विकासोन्मुख नै रहेको छ। समकालीन सिक्किमेली नाट्य साहित्यमा सामाजिक पारिवारिक इतिवृत्तमै नाट्य लेखन सीमित रहेको अनि नाट्य साहित्यमा विविध प्रयोगको न्यूनता रहेको पाइन्छ। एकातिर नेपाली नाट्य साहित्यमा देखा परेको प्रयोगधर्मिता समकालीन सिक्किमेली नाट्य साहित्यमा प्रयोग नभएको देखिन्छ। मूलतः नाटककारहरूले रङ्गमञ्चीय दृष्टिकोणमा नै नाट्य कृति सिर्जना गरेको अनुभूति हुन्छ। यस क्रममा सिक्किमबाट पूर्णाङ्की र एकाङ्की नाट्य सिर्जना भइरहेको पाइए पनि गुणात्मकता र स्तरीयताका दृष्टिकोणमा यी नाट्य कृतिहरू मध्यम र निम्नमध्यम स्तरका रहेका छन्। तर सिक्किमेली नाट्य साहित्य विकासोन्मुख दिशातिर अग्रसर चाहिँ पक्कै छ।

यस अवधिका प्रमुख नाटककारहरू हुन्- चुनिलाल घिमिरे, ध्रुव लोहागण, थमन नौवाग, एम.डी. कार्की, कमल दाहाल, हेमन्त गिरी, नरेन्द्र साइवा आदि।
चुनिलाल घिमिरेका नाटकहरू पुत्काको मह (१९९६), सॉंझदेखि सॉंझसम्म (१९९७) यस अवधिमा प्रकाशित दुइ नाट्य कृति हुन्। यिनका पूर्णाङ्की र एकांकीहरू विभिन्न रङ्गमञ्चमा मञ्चन हुँदै आएका छन् भने यिनका नाट्य कृतिमा सामाजिक र पारिवारिक पक्षलाई प्रस्तुत गरिएको पाइन्छ। सन्‌ १९७०-को दशकको उत्तरार्द्धदेखि नाट्य साहित्यमा सक्रिय रहेका घिमिरे एक कुशल नाट्य निर्देशक पनि रहेका छन्।

सन्‌ १९८०-को दशकदेखि नाट्य क्षेत्रमा प्रवेश गरेका ध्रुव लोहागणका नाटक एकांकीहरूमा हॉंस्य व्यङग्यत्मकता बढ़ी पाइन्छ भने समाजमा देखा परेका विकृति र विसङ्गतिहरूलाई उनले नाटकका विषयहरू बनाएका छन्। यस अवधिमा आएर उनका तीन नाट्य कृति प्रकाशित भएका छन्। आँधी आएपछि (१९९७) र मृगतृष्णा (२००६) उनका पूर्णाङ्की नाटक हुन् भने कटुसत्य (१९९९) एकाङ्कीहरूको संग्रह हो।

सिक्किमेली नाट्य साहित्यमा आफ्नो सशक्त उपस्थिति दिँदै उदाएका नाटककार हुन् एम.डी. कार्की। यिनको प्रश्न चिन्ह (२००३) नाटकमा भारतका गोर्खाहरूमाथि लगाइएका लाञ्छना र प्रश्नचिन्हहरूलाई नाटकको कथ्य बनाइएको छ। यिनका नाटकमा अस्तित्वबोध र स्वाभिमानका निम्ति गरिएका संघर्षहरू र राष्ट्र प्रेमको उचित मूल्य नपाएको अनि अवहेलित बनेको वीर नेपालीहरूको दुखलाई बोकेको कथा रहेको छ।

पारिवारिक तथा सामाजिक पृष्ठभूमिमै नाटक सिर्जना गर्ने अर्का नाटककार हुन् थमन नौवाग। सन्‌ १९८०-को दशकदेखि नाट्य क्षेत्रमा प्रवेश गरेका नाटककार नौवाग १९९०-पछि निकै सक्रिय भएका छन्। उनका नाटक एकाङ्कीहरूले समाजमा रहेको अन्धविश्वास, जातिवादी भेदभाव, तश्करी, युवावर्गको पलायनता आदिलाई विषय वस्तु बनाएका छन्। यिनको कलङ्क (१९९७) नाट्य संग्रह प्रकाशित भएको छ।

यस अवधिमा आएर रणजीत सिंह, कमल दाहाल, हेमन्त गिरी, टीएस सुवेदी, केबी गुरूङ, फुर्वा लेप्चा, महेन्द्र बजगाईं आदि नाटककारहरू आफ्ना नाटकहरूलाई विभिन्न रङ्गमञ्चमा प्रदर्शन गर्न सफल भएका छन् भने केही पत्र-पत्रिकामा उनीहरूका नाटक एकाङ्कीहरू पनि प्रकाशित हुँदैछन्।

No comments: