Wednesday, February 3, 2010










उपराष्ट्रपतिको सिक्किम भ्रमण र नयॉं रेल मार्ग


 


पारसमणि शम भारतका उपराष्ट्रपति मोहम्मद हामिद अन्सारीले
आफ्नो तीन दिवसीय सिक्किम भ्रमण पूरा गरेर जानअघि वर्षौंदेखि सिक्किमे
जनताको सिक्किमबाटै रेल चढ्‌ने सपनाको आधारशीला राखेर फर्किएका छन्‌। गत 28
अक्टोबरको दिन सिक्किम आएका उपराष्ट्रपतिको भ्रमण सिक्किमको विकास र
प्रगतिका लागि महत्वपूर्ण प्रमाणित भएको छ। मूलतः उपराष्ट्रपति सिक्किम
उच्च न्यायालयको स्वर्ण जयन्तीका अवसरमा आयोजित सङ्‌गोष्ठीको उद्‌घाटन गर्न
तथा सिक्किमे जनतालाई रेल मार्गद्वारा राष्ट्रिय मूलधारामा जोड्‌ने
कार्यक्रम लिएर सिक्किम आएका थिए। जब-जब सिक्किममा केन्द्रिय नेताहरूको
आगमन हुन्छ तब सिक्किमले महत्वपूर्ण विकासीय योजनाको पनि पाउने गरेको छ।


 केन्द्रिय नेताहरूको सिक्किम आगमन अनेक पक्षमा
महत्वपूर्ण रहने गरेको छ तथापि उपराष्ट्रपति जस्ता व्यक्तित्वको सिक्किम
भ्रमण आफैमा एक विशिष्ट तथा ऐतिहासिक घटना प्रमाणित भएको ठान्न सकिन्छ।
आजभन्दा एक दशकअघि तत्कालीन उपराष्ट्रपति कृष्ण कान्तले सिक्किमका निम्ति
हवाई सेवाको आधारशीला राखेर गएका थिए। आज उनी हामीमाझ छैनन्‌ तर पाकिममा
उनले आधारशीला राखेको ग्रीनफिल्ड एयरपोर्टको निर्माण कार्य युद्धस्तरमा
भइरहेछ। जो 2011-12 सम्ममा पूरा हुने आशा गरिएको छ। एक दशकपछि आज
उपराष्ट्रपति मोहम्मद हामिद अन्सारीले सिक्किमका लागि रेलमार्गको आधारशीला
राखेर गएका छन्‌, जो 2015-16-मा पूरा हुने लक्ष्य राखिएको छ। आजको केही
वर्षपछि सिक्किम देशका अन्य भूभागसित हवाई र रेल मार्गद्वारा जोडिनेछ।
आजसम्म सडक मार्गबाट मात्र जोडिएको सिक्किम भोलि हवाई र रेल मार्गद्वारा पनि
जोडिनेछ। जसले सिक्किमका लागि थुप्रै अवसरहरू सिर्जना गर्ने कुरामा आशावादी
बन्न सकिन्छ।


अनेकन सुविधा पनि उपलब्ध गराउनेछ। हवाई यातायात सबैका
लागि सुलभ होइन तर रेल भनेको हरेकका लागि सुलभ हो। यो सडक यात्राभन्दा पनि
सस्तो यात्रा हो। अबका केही वर्षपछि सिक्किमले राष्ट्रिय राजधानी
दिल्लीलगायत कोलकाता, गुवाहाटी, लखनऊ , आगरा, जयपुर, भुवनेश्वर, पटना,
भूपाल, बङ्‌गलोर, चेन्नई, मुम्बईलगायत देशका अन्य ठूला शहरसित सोझो सम्पर्क
स्थापित गर्नेछभने देशका अन्य राज्यले पनि सिक्किमसित सोझो सम्पर्क स्थापित
गर्नेछन्‌। यस दोहोरो प्रक्रियाले सिक्किमवासीलाई थुप्रै अवसरहरू लिएर
आउनेछ। सिक्किम भारतीय महासङ्‌घमा 1975-मा सामेल भएपछि यहॉं विकास प्रक्रिया
तीव्रतासित अघि बढ्यो। आर्थिक रूपमा पछाडिएको राज्य सिक्किम तीन दशकमा नै
राष्ट्रलाई नेतृत्व दिने सक्षम राज्य बन्ने दिशामा अग्रसर छ। सिक्किम देशका
अन्य राज्यको तुलना एक प्रगतिशील राज्यका रूपमा परिचित भएको छ। सिक्किमले
आफ्नो विकास कार्यक्रमलाई निरन्तरता दिइरहेको भए तापनि प्रतिकूल भौगोलिक
परिस्थितिका कारण अनेकन समस्या भोग्नुपर्छ। सिक्किम एक पार्वत्य राज्य हो र
पार्वत्य क्षेत्रमा विकास कार्यक्रम सञ्चालन गर्न अनेक चुनौती खडा हुन्छन्‌।
जब सिक्किम भारतीय लोकतन्त्रमा सामेल भयो, त्यस समय सिक्किमको अवस्था कस्तो
थियो त्यसको आज कल्पना मात्र गरिन्छ। सिक्किम तीव्रतासित परिवर्तन भयो,
विकासलाई सिक्किमले सहर्ष अँगाल्ने काम गऱ्यो। तीनवटा अन्तरराष्ट्रिय सीमाले
घेरिएको सिक्किम एक भूपरिविष्ट राज्य हो। यसको आफ्नो आय स्रोत केही थिएन।
भारतीय महासङ्‌घमा सामेल भएपछि सिक्किमको विकास कार्यक्रम सञ्चालन भयो। एलडी
काजी, नरबहादुर भण्डारी र पवन चामलिङको नेतृत्वमा सिक्किमे जनताले विकासीय
कार्यक्रमलाई अघि बढाए।


सिक्किममा धमाधम सडक, स्कूल, अस्पताललगायत अन्य आवश्यक
पूर्वाधार विकासमा प्रारम्भका दुइ सरकारका काम गरे। बिस्तारै सिक्किमका आम
जनताको जीवन स्तरमा सुधार आउन शुरु भयो। भारतीय लोकतन्त्रले सिक्किमलाई
अवसरहरू ल्याइदियो। पवन चामलिङको नेतृत्वमा सिक्किमे जनताको जीवन स्तर माथि
उठाउने दिशामा ठोस पहल भयो। भौतिक पूर्वाधारसितै सिक्किमे जनतालाई राजनैतिक
अधिकार सुनिश्चित गरियो अनि वर्ष 2015 सम्ममा सिक्किमलाई विकसित राज्य
बनाउन सिक्किम निर्माण अभियान शुरु गरियो। आज सिक्किमसित आफ्नै केन्द्रिय
विश्वविद्यालय, चिकित्सा महाविद्यालय, अभियान्तिकी महाविद्यालय छन्‌। आज
सिक्किमका प्रत्येक गाउँलाई सडक मार्गसित जोडिएको छ, जोडिँदैछ, प्रशासनिक
अधिकार दिइएको छ, पर्यटन पूर्वाधारसहित पर्यटन गन्तव्यका रूपमा विकसित
गरिँदैछ तथा अनेकौं पूर्वाधार उपलब्ध गराइँदैछ। सिक्किमका प्रत्येक गाउँलाई
स्वीट्‌जरल्याण्डका गाउँजस्तो बनाउने योजना छ भने सिक्किमका शहरलाई
सिङ्गापुर जस्तो बनाउने कोशिश भइरहेछ। सिक्किमलाई औद्योगिकीकरण गरिँदैछ र
सिक्किमलाई आफ्नै राजस्वमा खडा गर्ने कोशिशमा वर्तमान सरकार जुटेको छ। अन्य
राज्यको तुलना 28 वर्षपछि भारतीय महासङ्‌घमा सामेल भएको सिक्किम आज धेरै
कुरामा अघि छ। सिक्किम पूर्वोत्तर राज्यहरूको अग्रणी राज्य मानिन्छ।
सिक्किमले राज्य हरित अभियानद्वारा देशलाई पर्यावरण संरक्षणका दिशामा मार्ग
निर्देश गरेको छ। क्षमता विकास कार्यक्रम सञ्चालन गरेर सिक्किमले आफ्नो
मानव संसाधन विकासका लागि जुन कार्यको थालनी गऱ्यो त्यो देशका लागि
उदाहरणीय बनेको छ। आज पर्या-पर्यटन, ज्ञान अर्थतन्त्रजस्ता आधुनिक विकासीय
अवधारणालाई सिक्किमले अघि सारेको छ। सिक्किमले 10 हजार फूट अग्लो आकाश
यात्रा र आधुनिक मेट्रो शहरीय राज्य विकासको योजना बनाउँदैछ। दुइ दशकअघि
औंलामा भॉंचिने पर्यटक सिक्किम भ्रमणमा आउने गर्थे भने आज वर्षेनी लगभग
पॉंच लाख पर्यटक सिक्किम आउने गरेका छन्‌। सिक्किम विश्व पर्यटन मानचित्रमा
आफ्नो चित्र समावेश गर्न सफल बनेको छ। पर्यटन अद्योग आज सिक्किमको प्रमुख
आय स्रोत बनेको छ। अर्कोतिर सिक्किमले देशलाई लगभग 4 हजार मेगावाट बिजुली
प्रदान गर्ने जलविद्युत परियोजनाहरू सञ्चालन गरिरहेछ,जसले राज्यको राजस्व
विकासमा महत्‌ भूमिका निर्वाह गर्नेछ। सिक्किमले आफूलाई विकसित राज्य बनाउने
कोशिश गरे तापनि सिक्किम खाद्यान्न तथा अनेक पक्षमा आश्रित राज्य रहेको हो
भने एउटा मात्र राजमार्ग 31-ए मा सिक्किमको जनजीवन निर्भर रहेको छ।


\प्रतिकूल भौगोलिक परिस्थितिका कारण वर्षाको समय
पैह्रोले राजमार्ग प्रभावित हुनेगरेको छ। कुनै-कुनै समय पैह्रोका कारण लामो
समयसम्म सिक्किम अन्य राज्यसित सम्पर्क स्थापित गर्न असक्षम बन्नुपरेको छ।
अर्कोतिर छिमेकी राज्यको राजनीतिक गतिविधिका कारण राजमार्ग प्रभावित
हुनेगरेको छ। बन्द र हडतालले लामो समयसम्म सिक्किमको जीवन रेखा 31-लाई
प्रभावित गर्नेगरेको तीतो अनुभव सिक्किमसित छ। पैह्रो र अन्य प्राकृतिक
आपदासित मानव निर्मित आपदाबाट सिक्किमले जुन शास्ती भोग्नु परेको छ त्यसले
राज्यको विकास प्रक्रिया, पर्यटन र जनजीवनमा प्रतिकूल असर पार्नेगरेको छ।
राजमार्गमा हुने अनियमितताका कारण सिक्किमले करोडौं रुपियॉंको नोक्सानी
भोग्नुपर्छ। सिक्किमसित हवाई र रेल मार्ग नभएका कारण सिक्किमले अनावश्यक
प्रताडना सहनुपरेको हो। शास्ती र नोक्सानी भोग्नु परेको हो। अनावश्यक
प्रताडना र शास्तीबाट सिक्किमलाई मुक्त गर्न सिक्किम सरकारले लामो समयदेखि
सिक्किमलाई रेल तथा हवाई मार्गद्वारा जोड्‌न केन्द्र सरकारसित माग र आग्रह
गर्दै आएको थियो। मुख्यमन्त्री पवन चामलिङले यी दुइ मागलाई आफ्नो विकासीय
कार्यक्रमको पहिलो सूचीमा राखेर प्रत्येकपटकको दिल्ली यात्रा र केन्द्रिय
नेताहरूको सिक्किम भ्रमणका क्रममा उठाउँदै आएका थिए, जसको अन्ततः सुनवाई
भएको छ। हवाई अड्डाको निर्माण पाकिम भइरहेछ भने पश्चिम बङ्गालको सेभोकदेखि
रम्फूसम्मका लागि नयॉं रेल परियोजनाको शुक्रबार भारतका उपराष्ट्रपति
मोहम्मद हामिद अन्सारीले शिलान्यास गरेर सिक्किमको भविष्य उज्यालो बनाएर
दिल्ली फर्किएर गए। यो सिक्किमका लागि ठूलो उपलब्धि हो। अनेक पक्षमा यो
महत्वपूर्ण रहेको उपलब्धि हो। सिक्किम रेल र हवाई मार्गसित जोडिएपछि यहॉंको
विकास प्रक्रिया अझ तीव्र भएर जानेछ भने यहॉंको पर्यटन उद्योग पनि फस्टाएर
जानेछ। अर्कोतिर यी दुवै मार्गको परियोजना पूरा भएपछि सिक्किमले छिमेकी
राज्यमा हुने अनेकन प्रतिकूल गतिविधिबाट राहत पाउने निश्चित छ। यो राहत
सिक्किमको विकासका लागि बरदान प्रमाणित हुनेछ। प्रारम्भिक
सर्वेक्षणअन्तर्गत शुरुमा सेभोकदेखि रम्फूसम्म रेल मार्ग तयार हुनेछ भने
दोस्रो चरणअन्तर्गत राजधानी गान्तोकसम्म रेलमार्ग पुऱ्याउन सर्वेक्षण र
अध्ययन पूरा भइसकेको छ। यहॉं महत्वपूर्ण विषय के छ भने केन्द्र सरकारले
सेभोकदेखि रम्फू रेल मार्गलाई राष्ट्रिय परियोजनाका रूपमा ग्रहण गरेको छ।


यस महत्वकाङ्‌क्षी परियोजनाका लागि 1334.70 करोड रुपियॉं
खर्च आउनेछ। सिक्किम रेलमार्ग निर्माण कार्य 2015-16-सम्ममा पूरा हुने आशा
गरिएको छ। निर्माण कार्यमा अनेकन चुनौतीको सामना गर्नुपर्ने हुन्छ। यस
मार्गमा कूल 13 वटा सुरुङ र 100 वटा साना पुलको निर्माण हुनेछ। रेल यात्रा
पर्यटकीय दृष्टिकोणमा पनि उत्तिकै महत्वपूर्ण ठहर्नेछ। सिक्किमको लगातार
प्रयास र आग्रहका कारण अन्ततः केन्द्र सरकारले सिक्किमलाई ठूलो लाइनको रेल
सेवा प्रदान गर्ने जुन निर्णय गरेको थियो त्यो सिक्किमको विकासमा माइलखुट्टी
नै हो। मुख्यमन्त्री पवन चामलिङको सिक्किम निर्माण अभियान र विकासीय
प्रतिबद्धताका कारण आज प्रतिकूल भौगोलिक परिस्थितिबीच पनि रेल र हवाई
मार्गसित जोडिन गइरहेछ।


Tuesday, February 2, 2010


AT NAtional PRESS DAY 2009