Saturday, April 23, 2011

समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन -6

समकालीन सिक्किमेली समालोचना साहित्य

आलोचनाको क्षेत्रमा पनि सिक्किमले समकालीन पृष्ठभूमिमा महत्वपूर्ण उपलब्धि प्राप्त गरेको छ। साहित्यिक कृतिहरूको वस्तुनिष्ठ, सैद्धान्तिक र आलोचनात्मक समीक्षा यस अवधिमा आएर अघिल्ला वर्षहरूभन्दा धेरै समालोचनाका क्षेत्रमा काम भएको पाइन्छ। यस अवधिमा आएर समालोचकहरूले साहित्यिक कृतिहरूको वस्तुनिष्ठ, पाठनिष्ठ, शैली वैज्ञानिक सैद्धान्तिक समालोचना, तुलनात्मक समालोचना आदि पद्धतिहरूद्वारा विभिन्न वाद, चिन्तन र धाराहरूका आधारमा कृतिहरूको विश्लेषण र मूल्याङ्कन गर्ने कार्य गरेका छन्। एकातिर समालोचकहरू शोध कार्यमा पनि त्यत्तिकै सक्रिय देखिन्छन् भने कालक्रमिक र टिप्पणीमूलक समालोचना पनि गरिएको पाइन्छ।

विशेष गरी १९९०-को दशकदेखि यता समालोचना साहित्यको विकासमा विशुद्ध साहित्यिक पत्र-पत्रिकालगायत समसामयिक पत्र-पत्रिका र दैनिक समाचार-पत्रहरूले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यस क्रममा पवन चामलिङको निर्माण, केदार गुरूङ र उपमान बस्नेतको स्रष्टा, वीरभद्र कार्कीढोलीको प्रक्रिया, प्रद्युम्न श्रेष्ठको सिद्धी, नेपाली साहित्य परिषद्को कनका, प्रवीण राई जुमेलीको बार्दली, मोहन प्रधानको सञ्जीवनी, चक्रपाणि भट्टराईको पूर्णिमा, चम्पादिवस राईको नागबेली, हरिभक्त अधिकारीको चौंरी डॉंड़ालगायत दैनिक समाचार-पत्रहरू हाम्रो प्रजाशक्ति, समय दैनिक, सुनचरी दैनिक, आज-भोलि, हाम्रो पहाड़, अब, हिमालय दर्पण आदिले पनि आइतबारे अङ्कमा साहित्यिक कृतिहरूको समय-समयमा मूल्याङ्कन र विश्लेषण गर्दै समालोचना साहित्यको विकासमा सहयोग गर्दै आएका छन्। यस अवधिमा आएर गरिएका केही शोध कार्यले पनि सिक्किमेली समालोचना साहित्यमा ठूलो योगदान पुऱ्याएको छ। यस क्रममा डा. शोभाकान्ति थेगिम, डा. शान्ति छेत्री, डा. पुष्प शर्मा, डा. राजेन्द्र भण्डारी, डा. वत्स गोपाल, उदय छेत्री, टेकबहादुर छेत्री, बलराम पाण्डे, पारसमणि शम आदिका पाठ्यक्रमिक शोधहरूले पनि समालोचना साहित्यको विकासमा ठूलो योगदान पुऱ्याएको देखिन्छ। यस अवधिमा आएर प्रकाशित भएका केही स्मृति ग्रन्थ र पत्र-पत्रिकाका विशेषाङ्कहरूले पनि सिक्किमेली समालोचना साहित्यलाई निरन्तरता दिने काम गरेको छ।

यस कालका प्रमुख समालोचकहरूमा डा. घनश्याम नेपाल, डा. वत्स गोपाल, डा. पुष्प शर्मा, डा. राजेन्द्र भण्डारी, डा. शोभाकान्ति थेगिम, डा. शान्ति छेत्री, प्रा. दशरथ खरेल, पेम्पा तामाङ, प्रा. गीता शर्मा, शिव प्रधान, महानन्द पौड्याल, भीम दाहाल, डिल्लीराम अधिकारी, केदार गुरूङ, उदय छेत्री, चम्पादिवस राई, प्रेम थुलुङ, दीपक तिवारी आदि रहेका छन्।

डा. घनश्याम नेपाल शैली वैज्ञानिक परिपाटीमा समालोचना गर्ने नेपाली साहित्यकै दिग्गज समालोचकहरूमध्ये एक हुन्। यिनको कलमले कृतिहरूको पाठनिष्ठ मूल्याङ्कन साहित्येतिहास, सैद्धान्तिक विश्लेषण र शैली वैज्ञानिक आलोचनात्मक पद्धतिहरू अप्नाएको देखिन्छ। यस अवधिमा आएर यिनको नेपाली साहित्यको परिचयात्मक इतिहास (१९९१) र शैली विज्ञान (१९९२) र रूप र रेखाहरू (२००१) प्रकाशित भएको छ। यसरी नै डा. शोभाकान्ति थेगिमको शोध ग्रन्थमा आधारित समालोचनात्मक कृति नेपाली समालोचनाको परम्पराः मूल्याङ्कन र विश्लेषण (१९९२)-मा नपाली समालोचनाको साहित्येतिहास तथा समालोचना साहित्यका सिद्धान्त र पद्धतिहरूको चर्चा गरिएको छ। यसरी नै डा. शान्ति छेत्रीको शोध ग्रन्थमा आधारित समालोचनात्मक कृति नेपाली समालोचना साहित्यमा राम कृष्ण शर्माको योगदान (१९९२)-कुमार सिंह राईको जोसमणि पन्थ परम्परा औ स्वामी १०८ श्याम दास (१९९३), प्रेम थुुलुङको कवि अगमसिंह तामाङ र उनका कृति(१९९३), नेपाली गीत साहित्यः केही प्रतिभा एवं उदाहरणहरू(२००२) र सन्दर्भ कवि पवन चामलिङ "किरण' का तीन कविता सङ्ग्रह एवं गीतहरू (२००५), उदय छेत्रीको नेपाली साहित्यको विकासमा सिक्किमका संघ संस्थाहरूको योगदान (१९९९), घोषणा सन्दर्भ माटो कवि (२००३), हीरा छेत्रीको भारतेली नेपाली पत्र-पत्रिकाको शताब्दी १८८७-१९८६ (१९९३), पेम्पा तामाङको आख्यानदेखि पराख्यानसम्म (२००५), पूर्ण राईको नेपाली साहित्य परिचय (१९९९), टी.बी. चन्द्र सुब्बाको श्री इन्द्रबहादुर राईः व्यक्ति कृति र कार्य (२००४), डिल्लीप्रसाद अधिकारीको चिन्तनको चौतारी (२००५), डा. राजेन्द्र भण्डारी र वत्स गोपालको लीला लेखन वार्ता र अन्तर्वार्ता (१९९७), महानन्द पौड्यालको कवि नरेन्द्रप्रसाद कुमाई कृतित्व र मूल्याङ्कन (२००४), टी.बी. चन्द्र सुब्बाको व्यक्ति र कृतिको आधारमा स्रष्टा केदार गुरूङ (२०००) आदि प्रमुख छन्।

समालोचना साहित्यमा पत्र-पत्रिकामा निरन्तर कलम चलाउने समालोचकहरूमा सानु लामा, रूद्र पौड्याल, पारसमणि शम, गोपाल गाउँले, गीता शर्मा, डा. पुष्प शर्मा, देवकुमार दुमी, हरिश मोक्तान "अल्लारे' , मोहन प्रधान "नीरज', सानु भाइ शर्मा, सुवास दीपक, विजय बान्तवा, प्रद्युम्न श्रेष्ठ, के.एन. शर्मा, नकुल काजी, दीपक तिवारी, बलराम पाण्डे, समीरण छेत्री "प्रियदर्शी', चम्पादिवस राई, हरिभक्त अधिकारी आदि प्रमुख छन्। डा. पुष्प शर्मा र डा. राजेन्द्र भण्डारीका शोध ग्रन्थहरू पनि नेपाली समालोचना साहित्यको विकासमा महत्वपूर्ण उपलब्धि मानिएका छन्। डा. शर्माले सिक्किमेली कविता साहित्यको मूल्याङ्कन र विश्लेषण गरेकी छन् भने डा. राजेन्द्र भण्डारीले सिक्किमेली कथा साहित्यलाई आफ्नो शोधको विषय बनाएका छन्। यस क्रममा पारसमणि शमको शोध नेपाली साहित्यको विकासमा स्रष्टा पत्रिकाको योगदान पनि सिक्किमेली साहित्यिक पत्रकारिताको अध्ययन र मूल्याङ्कनमा आधारित छ। शमको सन्‌ २००६-देखि समय दैनिकमा सन् २००० पछिका सिक्किमेली कविता र कवि धारावाहिक रूपमा प्रकाशित भइरहेको छ। यसमा उनले २००० पछिका सिक्किमेली कविताको प्रवृत्तिगत विश्लेषण गर्ने प्रयास गरिरहेका छन्। यस अवधिमा आएर प्रकाशित केही स्मृति ग्रन्थ र पत्र-पत्रिकाका विशेषाङ्कहरूले पनि समालोचना साहित्यको विकासमा थप योगदान दिएका छन्। यसक्रममा टीबीचन्द्र सुब्बाद्वारा सम्पादित महाकवि तुलसीराम शर्मा "कश्यप' स्मृति ग्रन्थ (२००३), स्वर सम्राज्ञी अरूणा लामा (१९९९), डा. शोभाकान्ति थेगिम स्मृति ग्रन्थ (२०००), स्रष्टा, प्रक्रिया, निर्माण, सञ्जीवनी, कनका आदि पत्रिकाका विशेषाङ्कहरूमा विविध समालोचनात्क दृष्टिकोण राखिएका रचनाहरू प्रकाशन भएका छन्।

No comments: