Saturday, April 23, 2011

समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन-1

उठान :

साहित्य कुनै समय, परिवेश, सीमा, जाति, भाषा, क्षेत्र, शैली आदिमा बॉंधिएर बस्ने वस्तु होइन। यो निरन्तर विकास भइरहने एउटा धारा प्रवाह गति हो, जो निरन्तर अघि बढ़िरहन्छ। यसैले साहित्यलाई कुनै क्षेत्र, समय र सीमामा बॉंधेर राख्न पनि सकिँदैन। यद्यपि, अध्ययनको सुविधालाई ध्यानमा राख्दै प्रस्तुत लेखमा सिक्किमेली समकालीन साहित्यको विवेचनात्मक तथा विकासक्रमिक अध्ययन गर्ने प्रयास गरिएको छ। यस क्रममा सन् १९९०-पछिका सिक्किमेली साहित्यिक गतिविधिलाई समकालीन साहित्यिक गतिविधिका रूपमा लिइएको छअर्थात समकालीन सिक्किमेली साहित्य भन्नाले १९९०-को दशकयता आजसम्मको सिक्किमेली नेपाली साहित्य बुझिनेछ।

समकालीन भन्नाले यसै समयको, आजको, वर्तमानको, समसामयिक भन्ने अर्थ बोध हुनाले सन् १९९०-को दशकयता नेपाली साहित्यका क्षेत्रमा देखापरेको प्रवृत्तिगत परिवर्तनका साथै राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, चिन्तन आदिको परिवर्तित रूपको प्रभाव र छाप के-कस्तो हिसाबमा भएको छ अनि साहित्य सिर्जनाले के-कस्तो गति लिएको छ ती सबैको अध्ययन गर्ने कोशिश यस लेखको अभीष्ट रहेको छ। सन् १९९०-को दशकको शुरुवात सॅंगसॅंगै भारतमा नेपाली भाषाको संवैधानिक मान्यताको आन्दोलन चरम सीमामा पुगिसकेको हुन्छअनि यसको नेतृत्व त्यस समय सिक्किमको कॉंधमा पनि आएको हुन्छ।


२० अगस्त, १९९२-मा नेपाली भाषाले भारतमा राष्ट्रिय भाषाको मान्यता ग्रहण गर्दै संविधानको आठौं अनुसूचिमा अन्तर्भुक्त भएपछि नेपाली भाषा-साहित्यका क्षेत्रमा सिक्किमले जुन कार्य शुरु गरेको छ, त्यो आज प्रशंसनीय र उल्लेखयोग्य देखिन्छ। भारतभरि छरिएर बसेका नेपाली जातिमा एकता र विकासको प्रत्यक्ष र परोक्ष नेतृत्व १९९० -को दशकदेखि सिक्किमले आफ्नो कॉंधमा लिएको देखिन्छ। ९०-को दशक सॅंगसॅंगै भारतीय नेपाली साहित्यमा सिक्किमले जुन उल्लेखनीय कार्य गरेको छ त्यसले आज सिक्किमलाई साहित्य सिर्जनाको अगुवा बनाइसकेको छ। सिक्किममा आएको राजनीतिक परिवर्तन तथा साहित्य सिर्जनाप्रतिको हार्दिकताको कारण ९०-को दशकयता भारतीय नेपाली साहित्यको मात्र नभएर समस्त नेपाली साहित्यका निम्ति सिक्किमले जुन कार्य गरेको छ, त्यसको प्रशंसा इतिहासले स्वतः गर्ने नै छ। पुस्तक प्रकाशन, पत्र-पत्रिकाको प्रकाशन, सिर्जनाकारहरूको सम्मान, साहित्यिक महारथीहरूलाई पेन्सनजस्ता उल्लेखनीय कार्य सिक्किमले यही समकालीन समयमा शुरु गरेर विश्व साहित्य सिर्जनाका क्षेत्रमा लागिपरेको सिक्किमले आफ्नो प्रतिबद्धता व्यक्त गरिसकेको छ। नेपाली साहित्य, संस्कृतिको सम्वर्द्धना र विकासमा आज सिक्किम सबैका निम्ति आदर्श बनेको छ। यही आदर्शताको आड्मा ९०-को दशकको उत्तरार्द्धदेखि सिक्किमले नेपाली साहित्यमा आफूलाई अघिल्लो हुद्दामा राख्दै आएको छ। आज नेपालले पनि नेपाली साहित्यको समृद्धि र विकासका लागि सिक्किमतिर फर्किएर हेर्नुपर्ने बाध्यता सृष्टि भइसकेको छ। आज सिक्किमले नेपालले गर्ननसकेका कार्य धेरै ठाउँमा गरेर देखाएको छ। पत्र-पत्रिकाका विशेषाङ्कहरूमा होस् अथवा कुनै लेखकको सम्पूर्ण सिर्जनालाई ग्रन्थका रूपमा प्रस्तुत गर्दै होस् अथवा प्रकाशन र सम्मानका क्षेत्रमा होस् सिक्किम यस कालमा आएर सबैभन्दा अघिल्लो पंक्तिमा उभिएको पाइन्छ।

यसैले यस लेखमा १९९०- यताको अवधिलाई समकालीन युगको रूपमा स्वीकार गर्दै यस युगमा अहिलेसम्म सिक्किमेली नेपाली साहित्यले के-कति प्रगति गरेको छ, त्यसको मूल्याङ्कन गर्ने झिनो प्रयास गरिएको हो।


पृष्ठभूमिः-

सन् १९९०-को दशक शुरु हुँदा एकातिर भारतमा नेपाली भाषालाई संविधानको आठौं अनुसूचिमा अन्तर्भुक्त गर्ने प्रयास भइरहेको थियो अनि त्यस प्रयासमा सिक्किमले कूटनैतिक भूमिका निर्वाह गरिरहेको थियो। देशका चारैतिर सङ्गोष्ठी, विचारगोष्ठी तथा चिन्तनहरू भइरहेका थिए। यस्तो परिस्थितिमा पत्र-पत्रिकाहरू एक प्रकारको उत्साहका साथ प्रकाशित हुन शुरु भइसकेका थिए। त्यस समय सिक्किमबाट प्रकाशित हुँदै गरेका स्रष्टा, प्रक्रिया, निर्माण, अर्चनाजस्ता पत्र-पत्रिकाले आफ्नो भूमिका यथोचित रूपमा निर्वाह गर्दै थिए। यता अघिल्लै कालखण्डदेखि सक्रिय रहेका साहित्यकारहरू तुलसीराम शर्मा "कश्यप', सानु लामा, सानुभाइ शर्मा, डा. शान्ति छेत्री, श्रीमती गीता शर्मा, राधाकृष्ण शर्मा, पूर्ण राई, शिव प्रधान, राजेन्द्र भण्डारी, राज. के. श्रेष्ठ, रूद्र पौड्याल, केदार गुरूङ, उपमान बस्नेत, पवन चामलिङ "किरण', गिर्मी शेर्पा, सन्तोष बरदेवा, रघुनन्दन सापकोटा, वीरभद्र कार्कीढोली, बलि सुब्बा, प्रद्युम्न श्रेष्ठ, गोपाल गाउँले, चुनिलाल घिमिरे, उदयचन्द्र वशिष्ट, देवकुमार दुमी, विजय बान्तवा, भीम दाहाल, प्रवीण राई जुमेली, राम अपतन, डा. घनश्याम नेपाल, सुवास दिपक, वत्स गोपाल प्रभृत्ति साहित्यकारहरू अझ सक्रिय बने भने नवोदित कलमकारहरूको सशक्त रूपमा प्रवेश शुरु भयो। अघिल्ला पुस्ताका साहित्यकारहरू सॅंगसॅंगै नयॉं पुस्ताले पनि यस दशकमा आएर आफूलाई विकसित गर्ने फराकिलो ठाउँ पाए। एकातिर नयॉं पुस्ताका लागि ९०-को दशकको उत्तरार्द्धमा आइपुग्दा नेपाली भाषाले संवैधानिक मान्यता पाइसकेको स्थिति थियो भने अर्कोतिर पत्र-पत्रिकाहरूको प्रकाशन अनि पुस्तकहरूको प्रकाशनका लागि प्रकाशकहरू पनि खुलेर अघि आइसकेका थिए। अझ नयॉं शताब्दीको थालनी सॅंगसॅंगै सिक्किममा नयॉं पुस्ताका साहित्यकारहरूलाई आफ्नो कलमलाई पारिलो बनाउन पत्र-पत्रिकाहरूले पूरै सहयोग गरे। एकातिर साहित्य सिर्जनाका लागि अनुकूल प्रशासनिक तथा राजनेैतिक वातावरणले पनि नयॉं हुद्दाका साहित्यकारलाई प्रोत्साहन गरेको छ। निर्माण प्रकाशन, जनपक्ष प्रकाशन, आँकुरा प्रकाशन, हिमाली प्रकाशन, रचना प्रकाशनजस्ता प्रकाशकहरूको उदारता अनि साहित्यिकहरूको सम्मान र सङ्गोष्ठी, सम्मेलनहरूको आयोजनको बढ़ोत्तरीले पनि यस कालखण्डमा आएर सिक्किमेली साहित्यको सेवामा लाग्नेहरूलाई सधैं प्रोत्साहन दिइरह्यो। यस अवधिमा एकातिर साहित्यकारहरूको सम्मान गर्न सरकार स्वयं अघि सरेको देखियो भने अर्कोतिर विभिन्न सङ्गठनहरू, सरकारी इकाईहरू तथा संस्थानहरू पनि सिर्जनधर्मीहरूको सम्मानमा अघि सरे। यी सबै परिदृश्यले सिक्किममा साहित्यका क्षेत्रमा लागिपर्नेहरूको मान-सम्मानले पनि नयॉं जोश र उत्साह यहॉंका साहित्यकारहरूलाई दियो। यसै पृष्ठभूमिमा यहॉंका साहित्यकारहरू निरन्तर विकसित बन्न अग्रगामी बनेका छन्, जो यस १५-१६ वर्षको छोटो अवधिको उल्लेखनीय उपलब्धि हो।

यस अवधिमा एकातिर कविता विधाले विभिन्न रूप धारण गर्दै महाकाव्यदेखि एक हरफेसम्मको रूप धारण गऱ्यो। तुलसीराम शर्मा "कश्यप'-ले आमा महाकाव्यका लागि साहित्य अकादमी पुरस्कार (१९९०), गिर्मी शेर्पाले हिपोक्रिट चॉंप गुरॉंस र अन्य कविताका निम्ति साहित्य अकादमी पुरस्कार (१९९१) प्राप्त गरे। कथा साहित्यमा पनि यहॉं उल्लेखनीय प्रगति भएको छ। सानु लामा, प्रवीण राई जुमेली, राधाकृष्ण शर्मा, भीम दाहाल, पूर्ण राई, समीरण छेत्री प्रियदर्शी आदि कथाकारहरूको कथाले सिक्किमेली कथा साहित्यलाई माथि उठाउने काम गरेको छ भने सानु लामाको मृगतृष्णालाई साहित्य अकादमी पुरस्कार प्राप्त भइसकेको छ। उपन्यास विधामा यहॉं थोरै तर उल्लेखनीय कार्य भएको छ। भीम दाहाल, एम.डी. कार्की, पारसमणि शम जस्ता उपन्यासकारको जन्म यसै समयमा भएको पाउँछौं भने भीम दाहाललाई उनको उपन्यास द्रोहका निम्ति साहित्य अकादमी पुरस्कार प्राप्त भएको छ। निबन्ध साहित्यमा विशेष गरी डा. घनश्याम नेपाल, डा. वत्स गोपाल, राज.के. श्रेष्ठ, सुवास दीपक, मटिल्डा राई आदिका विभिन्न आयाममुखी निबन्धका साथसाथै पत्र-पत्रिकातर्फ निबन्ध प्रकाशन गर्ने एउटा ठूलो जमातको जन्मनै समकालीन परिवेशमा भएको छ। विशेष गरी राज्यमा २००० पछि प्रकाशित हुन शुरु भएका समाचार-पत्रहरू हाम्रो प्रजाशक्ति, समय दैनिक, आजको सिक्किम, हाम्रो पाहाड़लगायत सिलगढ़ीबाट प्रकाशन हुने सुनचरी, हिमालय दर्पण, अब, आजभोलि, सगरमाथा साप्ताहिक (दैनिक र पुनः साप्ताहिक) आदि दैनिकमा निरन्तर निबन्ध, लेखहरू भनौं गद्य साहित्यको प्रकाशन गर्ने साहित्यकारहरूमा आर.सी. शर्मा, विजय बान्तवा, अर्जुन पीयूष, दीप प्रधान गान्तोके आदिका निबन्धहरूले यहॉंको निबन्ध साहित्यलाई पनि माथि उठाएको छ। यस क्रममा आइपुग्दा आलोचना साहित्यले पनि उल्लेखनीय विकास हुने अवसर पाएको छ। यस विधामा डा. घनश्याम नेपाल, डा. शान्ति छेत्री, डा. वत्स गोपाल, महानन्द पौड्याल, डा. पुष्प शर्मा, पेम्पा तामाङ, महानन्द पौड्याल आदिको प्रवेशले समालोचना विधालाई पनि माथि उठाइदिएको छ। जीवनी साहित्यका क्षेत्रमा चुनिलाल घिमिरे, टीबी चन्द्र सुब्बा, राज.के. श्रेष्ठ आदिको उपस्थिति अनि नाट्य साहित्यमा चुनिलाल घिमिरे, ध्रुव लोहागण तथा थमन नौवागजस्ता एकाध रङ्गमञ्च प्रेमीको प्रवेश खट्कॅंदो विषय बनेको छ। समकालीन सिक्किमेली साहित्यको कुरा गर्दा नाटक विधा सबैभन्दा पछि परेको अनि यहॉं स्तरीय नाट्य लेखनको ठूलो ठाउँ रिक्त स्थान रहेको महसुस हुन्छ। अतः नाटक साहित्यमा पनि यहॉं प्रगति भइरहेको भए पनि गुणात्मक र प्रयोगधर्मी नाट्य शिल्पीहरूको अभाव भने यस कालमा पनि पूरा भएको छैन भन्न चाहिँ सकिन्छ।

प्राचीन ओलम्पिक खेल

प्राचीन ओलम्पिक खेल

आधुनिक विश्वमा ओलम्पिक खेलको महत्त्वपूर्ण स्थान छ। खेलकूदको संसारमा ओलम्पिक खेल सबैभन्दा ठूलो खेल प्रतियोगिता हो। यसैले त ओलम्पिक खेललाई खेलकूदको महाकुम्भ भनिन्छ, जो प्रत्येक चार वर्षमा आयोजन गरिन्छ। कुनै पनि राष्ट्र खेलकूदमा कतिसम्म विकसित छ, त्यसको सही लेखा-जोखा प्रत्येक चार वर्षमा आयोजन हुने यस ओलम्पिक खेलले गर्दछ। यसैले प्रत्येक राष्ट्र ओलम्पिक खेलमा आफ्नो राष्ट्रको सर्वोत्कृष्ट प्रदर्शन होस्‌ भन्ने चाहेर नै खेलकूदको क्षेत्रमा लगानी गर्दछन्‌। ओलम्पिक खेलमा पदकहरू जित्नु भनेको राष्ट्रको गौरव तथा सगरमाथाको टुप्पोमा हुग्नु हो।

ओलम्पिक खेलको जन्म यूरोपको ग्रीस राष्ट्रमा भएको हो। ईशापूर्व 776-मा प्राचीन ग्रीसको ओलम्पिया शहरमा ओलम्पिक खेलको जन्म भएको बताइए पनि यो खेल ग्रीसमा आजभन्दा 3 हजार वर्षअघि आयोजन हुने गरेको अनुमान गरिएको छ। ओलम्पियामा आयोजन हुने खेलबाट नै ओलम्पिक खेलको उदय भएको हो। यो खेल आयोजन भएको पहिलो लिखित प्रमाण ईशापूर्व 776को पाइएको छ। त्यसताक ग्रीसमा प्रत्येक चार वर्षमा यो खेलको आयोजन गरिन्थ्यो। त्यस समय ग्रीसमा चारवटा ग्रीसेली खेल आयोजन हुन्थे जसमध्ये ओलम्पियामा आयोजन हुने खेल एक थियो। ओलम्पिया, डेल्फी, स्तमिया र निमियमा यी खेलको आयोजन हुन्थे। त्यस समय ग्रीस स-साना राज्यहरूमा विभाजित थियो तर सम्मान संस्कार र परम्परा भएकाहरूको यो खेल रहेको थियो।


ओलम्पिक खेलको आयोजना गर्नअघि शहर-शहरमा पवित्र मशाल बोकेर हिँडिन्थ्यो। मशालले ओलम्पिको खेलको सन्देश लिएर सबैलाई खेलमा सहभागी बन्ने आग्रहसहित यसको तिथिको जानकारी दिइन्थ्यो। ओलम्पिया र निमियमा आयोजन हुने खेल देवताहरूका राजा जीउसको स्मरणमा आयोजन हुन्थ्यो भने डोल्फीको खेल प्रकाशका देवता अपोलोको स्मरणमा अनि स्थमियाको खेल समुद्र देवता पोसीय डोनको स्मृतिमा आयोजन हुन्थ्यो। चारवटा ग्रीसेली खेलहरूमा ओलम्पिया सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। ओलम्पिया कुनै शहर बजार थिएन। एउटा ग्रामीण क्षेत्र थियो र यसलाई प्रवित्र स्थान मानिन्थ्यो। यहॉं देवराज जिउसको मन्दिर पनि भएकोले विभिन्न धार्मिक अनुष्ठानहरू आयोजन हुनेगर्थ्यो।ओलम्पिक खेल आयोजन भएको समय ओलम्पियामा 40 हजारभन्दा धेरै मानिसको जमघट हुनेगर्थ्यो। यसमा खेलाडीहरू, व्यापारीहरू, स्थानीय मानिसहरू, लोक कलाकारहरू आदिको उपस्थिति हुनेगर्थ्यो।


प्राचीन ओलम्पिक खेलमा विभिन्न प्रकारका खेलहरू आयोजन हुनेगर्थे। विशेष गरी एथ्लेटिक्स, जिम्नेजियम, पालास्ट्रा, शरीर प्रदर्शन आदि खेलहरूको आयोजन गरिन्थ्यो। यस खेलमा ग्रीसेली मूलका पुरुषहरूलाई अनि स्वतन्त्र पुरुषलाई सहभागी बन्ने अधिकार थियो। यस खेलमा महिला, दास र विदेशीले सहभागिता जनाउन पाउँदैन थिए। धेरैजसो खेलाडीले सहभागिताका लागि धेरै महिनाको व्यक्तिगत प्रशिक्षण र तयारी गर्नुपर्थ्यो। खेल शुरु हुन चार हप्ताअघि नै उनीहरू ओलम्पियामा पुगिसकेको हुनुपर्थ्यो। ओलम्पियामा उनीहरूले छनौट प्रतियोगितामा भाग लिएपछि मात्र अन्तिम प्रतियोगितामा सहभागी बन्नसक्थे। खेलाडीहरूलाई निर्णायकहरूले शपथ खुवाउने परम्परा रहेको थियो। खेलका नियमहरू नमान्ने खेलाडीलाई जरिमाना लगाउने परम्परा प्राचीन ओलम्पिकमै रहेको थियो।



प्राचीन ओलम्पिकमा चर्चित खेलाडीहरू धेरै रहेका थिए। क्रोटनका मिलोले ईशापूर्वको सातौं सताब्दीको उत्तरार्धमा ओलम्पियामा सातपटक विजय प्राप्त गरेका थिए भने तासोसका थियोजेनेसले प्राचीन ओलम्पिक खेलहरूमा 13 सयभन्दा धेरै विजय प्राप्त गरेको बताइन्छ। रोडेसका लियोनिडासले दौडमा 12 पटक जैतुन पत्ता (ओलिभ लीफ) जीतेको बताइन्छ। रोडेसका डायगोरासले ईशापूर्व 464 मा ओलम्पियामा आफ्नो छोरो, नातिसितै बक्सिङ जीतेका थिए।



प्राचीन ओलम्पिकमा व्यक्तिगत प्रतिसपर्धा हुन्थे। प्रतियोगिताहरू स्टेडियम र हिपोड्रोममा आयोजन हुनेगर्थे। पहिलो दिन खेलाडीहरू र निर्णायकहरूले शपथ ग्रहण गर्ने चलन थियो। दोस्रो दिन हिपोड्रोममा घोड सवारी प्रतियिगिताहरू आयोजन हुनेगर्थे जसमा चारवटा घोडाको दौड खेललाई प्रमुख मानिन्थ्यो। दोस्रो दिन नै बेलुकी पख डिस्कस, लङजम्प, जेवेलिन, दौड र कुस्तिजस्ता खेलहरूको आयोजन हुनेगर्थे। तेस्रो दिन खेलाडीहरूको अङ्क जोडिन्थ्यो अनि एउटा विशाल धार्मिक अनुष्ठान आयोजन गरिन्थ्यो। देवराज जिउसको स्मृतिमा एस सयवटा गाईको बलि चढाइन्थ्यो र उक्त मासु प्रसादका रूपमा खेलाडीहरूलाई वितरण गरिन्थ्यो। चौथो दिन विभिन्न प्रकारका दौड आयोजन स्टेडियममा गरिन्थ्यो। सोही दिन बेलुकी बक्सिङ, कुस्ती आदि खेल आयोजन हुन्थ्यो। पॉंचौं तथा अन्तिम दिन खेलाडीहरूलाई सम्मान गरिन्थ्यो। ओलम्पियाका विजेताहरूलाई नाच गानका साथ सङ्गीतमय वातावरणमा सम्मान गरिन्थ्यो। ओलम्पियाका विजेताहरूलाई ओलिभ पत्ताको श्रीपेच लगाएर सम्मान गरिने चलन थियो। आधुनिक ओलम्पिकमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई स्वर्ण, रजत र कास्य पदकले सम्मानित गर्ने चलन छ तर प्राचीन ओलम्पिकमा भने विजेतालाई ओलिभको पत्तासित रातो रिबन लगाएर सम्मान गरिन्थ्यो।


ग्रीसेली मूलकाहरूद्वारा आयोजित हुने प्राचीन ओलम्पिक ग्रीसेली परम्पराको एउटा सद्‌भावपूर्ण सम्मेलन थियो। यो खेल सन्‌ 393 सम्म आयोजन भएको बताइन्छ।