Sunday, October 14, 2007

प्रतीक्षाभित्रको प्रेम उत्सर्ग

त्यस समय शायद उ त्यही आठ-नौ वर्षको थियो होला। घरमा बिहेको धुम-धाम थियो। बिहे त उसको दाजु लाक्पाको थियो। तर परोक्ष रूपमा त्यो बिहे उसको पनि थियो। उसलाई त्यो के थाहा। बिहे त दाजुको भइरहेको थियो। उसको होइन। सात भाइमा उ सबैभन्दा कान्छो। बिहे भएको हो दाजु लाक्पाको। दाजु लाक्पाको उमेर त्यही 30-को थियो। 30 वर्षको उमेरसम्म लाक्पाको बिहे किन भएन भने उनीहरूको बाबु थुब्देनलाई बिहेको क्रम रोक्नु पर्छ भन्ने ज्ञात नै कहाँ भएको थियो र जब बाबुको उमेरले पचास नाग्यो तब मात्र उसले बिहे गर्ने आफ्नो अभियान रोक्यो। उ शिथिल बनेको थियो। उसको शरीर छिया-छिया भएको थियो। 17 वटा उसले भित्र्याएको थियो। काजी थुब्देनले परम्परा र धर्मको पालन गर्नेक्रममा 17 वटी भित्र्याए छ। बाबु थाकिसकेपछि मात्र पालो आएको हो लाक्पाको। अब लाक्पाले कतै बाबुको परम्परालाई अघि त लगाउने होइन... परम्परा अनुसार तीन-चारवटी त ल्याउनु नै पर्छ। काजी परिवारको मान-सम्मानको कुरो हो।
लाक्पाले तीन महीनाको लामो यात्रापछि सात डाँड़ा पारी गएर भाउजू लिएर आएको छ। नथुला भञ्ज्याङ पारीको देश ल्हासाबाट उसले डोमालाई बिहे गरेर ल्यायो। डोमा गुम्बाकी पुजारी झैं स्वच्छ देखिन्छे। हिमालको चमक झैं कान्तियुक्त उसको रूप छ। कति सुन्दर छ डोमा, डोल्मा झैं। सुनाखरी फूलको सुन्दरता छ उसको रूपमा। आफ्नो लोग्नेभन्दा 13 वर्ष कान्छी। डोमा 17 की हो। लाक्पा 30-को। बाबु-आमाले सात हिमाल पारीको लोग्नेलाई दिएर पठाएपछि ल्हासाको सुन र सुन्दरता लिएर उ आएकी हो।
लाक्पाको शरीरलाई छ्याङले गलाइसकेको छ। बिहानदेखि नै छ्याङ लिने लाक्पाको बानी त्यही 13-14 –देखि नै बसेको हो। भैंसीको जत्रा ठूल्ठूला उसका आँखा सधैं मातेको हुन्छ। उसको अनुहार सनै सनै डढ़न थालेको छ। यात्रामा उ थाक्छ। उसको स्वरमा एक प्रकारको रूखोपन छ। उसको बोलीमा निराशा झल्कन्छ। यो मान्छेको शरीरमा कुनै ताकत छ के... डोमालाई बाटोमा नै शंका लागेको थियो। तर के गर्ने जीवन नै उसँग बिताउनु छ। बाबु-आमाले दिए। आखिर सात गाउँको काजीको छोरो हो लाक्पा।
डोमाले लाक्पाको घरमा आएपछि देखी उसले सातजनासित जीवन बिताउनु रहेछ। लाक्पाका भाइहरू सेराप, छिरिङ, गिर्मी, नाम्गेल, टाशी र क्रर्मा। कर्मा त्यही आठ-नाैको रहेछ। अरू पाँचको उमेर बिहेको लायक भइसकेको रहेछ। टाशीको उमेर त 18 रहेछ। जेठीका सन्तान सात भाइ। 17 वटी मध्ये पाँच वटी मरिसकेछन्। जेठी पनि मरिछ। मरेकाहरूमा तीनवटीका सन्तान थिएनन्। साैताहरू धेर भएर 5 वटी त एक-दुइ महीना बिताएर काजी लेण्डुपलाई छाड़ेर पोइल गइसकेका छन्। रहल सासूका कुल 25 जना सन्तान छन् 14 छोरी, 11 छोरा। तर धर्म अनुसार डोमाले सात भाइसित जीवन बिताउनु पर्ने छ। परम्परा के छ भने जेठोले बिहे गरेर ल्याएकी स्वास्नी सबै भाइहरूकी स्वास्नी हुन्छे। पहिलो सन्तान जेठोको, देस्रो माइलोको, तेस्रो साइलोको....। यही क्रम चलिरहन्छ। फेरि माइलोले बिहे गरेर ल्याएकी स्वास्नीचाहिँ जेठाकी स्वास्नी हुन्न तर उ मुनीका अरू भाइकी स्वास्नी हुन्छे। डोमाले पनि परम्पराको पालन गर्नुपर्ने छ। उसले पनि आफ्ना देवरहरूको बिस्तर तताउनु पर्नेछ।
वर्ष दिनपछि डोमाको एउटा छोरो जन्मियो। परम्परा अनुसार छोरो बाबु लाक्पा भएको थियो। तर नवजात शिशुको बाबु को हो डोमालाई पनि थाह थिएन। प्रत्येक रात उसले लोग्ने फेरेकी थिई। तर योचाहिँ पक्का थाह थियो नवजात शिशु लाक्पाको विर्यको फल थिएन। किनभने लाक्पामा पाैरूष्य क्षमता नै थिएन। उ शिथिल थियो। नामकी स्वास्नी थिई डोमा उसकी। लाक्पालाई पनि छोरो आफ्नो विर्यको होइन भन्ने कुराको राम्रोसित ज्ञान थियो। धर्म र परम्परालो छोरो उसलाई दिएको थियो। यस एक वर्षको अन्तरालमा डोमा अब बिस्तारै सबैकी भाउजू भइसकेकी थिई किनभने सेराप, छिरिङ, गिर्मी, नाम्गेल र टाशीले पनि बिहे गरिसकेका थिए। अब उ नितान्त लाक्पाकी स्वास्नी भएकी छ। अब उसले रात-बिरात आेछ्यान साट्नु पर्दैन। उ लाक्पाकी प्यारी स्वास्नी भएकी छ। शिथिल लाक्पालाई उसले छोरो दिएर ठूलो गुण लगाएकी छ। कर्मा अझै सानो छ। डोमाले दिनदिनै छोरोको लालन पोषण गर्न थाली। कान्छो देवरको पनि उ खुब ख्याल गर्छे। आफ्नो छोरोको भन्दा धेर याद गर्ने गरेकी छ। समयमा खान-पान सबै उसले हेरिरहेकी छ। आमाले गर्नुपर्ने सबै काम उ गरिरहेकी छ। कर्मा पनि भाउजु भनेपछि हुरूक्क हुन्छ। डोमाबिना खाना खाँदैन, कर्मा। सुत्न पनि डोमा नै चाहिन्छ। बीस वर्षकी डोमालाई आफ्नो लोग्ने लाक्पासित सुत्नुभन्दा किशोर कर्मासित सुत्न आनन्द लाग्छ।
दिन बित्तै गए। डोमाको छोरा काटुक पनि ठूलो हुँदै गयो भनो काका कर्मा पनि दिनदिनै जवान भइरहेको छ। कर्माको पुष्ट हुँदै आएका पासुला सुम्सुमाउन पाउँदा डोमालाई जुन आनन्द लाग्छ त्यो कहाँ लाक्पाबाट हुन्छ र। आफ्नो छोरो काटुकलाई भन्दा बढ़्ता माया गर्छे डोमा, कर्मालाई। कर्मासितको सआनन्दले डोमा दिन दिनै हँसिलो बन्दै आएकी छ। वास्तवमा डोमालाई कर्माको असाध्य माया लाग्न थालेको छ। उ कर्मालाई जिस्काउँछे। म्वाई खान्छे। कर्मा पनि भाउजू भनेपछि हुरूक्क हुन्छ। भाउजू बिना रहँदैन।
बिस्तारै कर्मा पनि 16 वर्षको भयो। उसको हृष्टपुष्ट शरीरमा डोमा पुरुष देख्न थालेकी छ। आफ्नो लोग्ने लाक्पासित उसले छटपटाएर रात बिताएकी छ। लोग्नेबाट प्रत्येक रात उ तिरस्कृत छ। उसलाई लाग्छ लोग्नेका कसिला पाखुराले उसलाई प्रत्येक रात कुज्याएर राखोस्् तर लाक्पामा यो सामर्थ कहाँ छ र। यो सामर्थ त कर्मामा छ। कर्माको पाखुरालो उसलाई कज्याउन सक्छ। चरम सुख दिनसक्छ। आखिर परम्पराले कर्मा पनि उसको लोग्ने हो।
कर्मा पनि अब ठूलो भयो भनेर काजी बूढ़ोले एक दिन उसलाई पनि सात हिमाल पारी ल्हासा व्यापार गर्न पठाउँछ। कर्माले ल्हासा जान अघि डोमासित बिदा माग्छ अनि डोमाले गहभरि आसु पार्छे। उसले कर्मालाई कहिले फर्किने हो भनेर सोध्न पनि सकिन। कर्मा चाैरीमा चढ़ेर टाड़ा ल्हासाका लागि प्रस्थान गर्छ। धेरै परसम्म डोमाले हात हल्लाएर कर्मालाई बिदा दिने प्रयत्न गर्छे तर सकिन। उ रोई। चिच्याई। कराई। मनमनमा।
कर्मा हिँड़ेपछि डोमाको रातको निद्रा पनि हराएको छ। उसका आँखाले सधैं नथुलातिर दृष्टि गाड़ेको हुन्छ। सपनामा उ कर्मालाई देख्छे। ल्हासाको दरबारमा कर्मा र उ ड्डलेको, साथै चाैरीमा चड़ेर हिमाल डुलेको। जङ्गलभित्र हिँउ चितुवा र भालुसित कर्माले सहजजासित लड़ाई गरेर दुवैलाई मारेको। कर्मा कहिले आउँछ... मनभित्र बारम्बार यही प्रश्न छ – उसको मनमा। कर्मालाई किन टाड़ा पठाए ससुराले, मनमनमा ससुरालाई उ पापी भन्छे।
ल्हासाबाट फर्केर आउने प्रत्येक कामदारलाई उ कर्माबारे सोध्छे। कर्मालाई ल्हासा जानेका हातमा खबर पठाउँछे। कर्माको खबर पाएको दिन डोमा आनन्दको चिर निद्रामा पर्छे। कर्माले ल्हासाबाट आएर सोझै उसको गालामा म्वाई खाएको सपना उसले देख्ने गरेकी छ।
कर्मा ल्हासा गएको पनि चार वर्ष बितेछ। यी चार वर्ष बिताउन डोमालाई चार जूनी बिताए झैं लाग्यो। एक दिन लाक्पालाई काजीले कर्मा आउने कुरो गरिरहेको डोमाले सुनी। डोमाको मन तोरीको फूल फुले झैं फुल्यो। हिमालमा लाली गुराँस डकमक्क भए झैं उसको जीवन फुलेको उसले अनुभव गरी। उसले प्रत्येक कुरामा कर्माको दिप्तियुक्त अनुहार देखेकी थिई।
कर्मा आउँने दिन उ बिहानै धारामा गएर सफा भई यतिका वर्ष प्रतीक्षा गरेको व्यक्ति उ सामु आइरहेको थियो। आज उ हर्षित छ। उसको मन प्रफुल्ल छ। सात डाँड़ा पारीबाट उसको सुख आइरहेको थियो। तर भाग्यले डोमा माथि उल्टो खेल खेलिदियो। कर्मा त आइपुग्यो तर उसको कर्मा त आएन छ। कर्माले ल्हासाबाट नै बिहे गरेर आएछ। साथमा छोरी पनि।
डोमाले दश-दश वर्ष जस्तो प्रतीक्षा गरी, जसको तपस्या गरी आज उसैले उसको तपस्यामा पानीपानी बनाइ दियो। कर्मा उदेखि टाड़ा भइसकेका थियो। आफ्नो लोग्नेलाई भन्दा बढ़ी माया गरेकी थिई। कर्मा ल्हासा गएदेखि डोमाले प्रत्येक पल उसको सम्झनामा बिताएकी थिई। तर पनि कर्माले उसको प्रेम बुझ्न सकेन। लोग्नेसित सुतेर पनि उसले कर्मालाई सम्झेकी थिई। लोग्नेको कमजोरीलाई पनि उसले कर्मालाई सम्झेर सहेकी थिई। दश वर्षसम्म उ बाँझो बसेकी थिई कर्मालाई सम्झेर। तर कर्माले त डोमालाई विदेश गएर रत्ति भर पनि सम्झिएनछ। डोमाले गहभरि आँशु पारेर यी सबै कुरा सम्झी। उसको छात्ती पोलेर आयो। उसले देखि उसको जीवनको घाम अस्ताएछ। उसले लाक्पालाई सम्झी। आफैंमा घिन लागेर आयो। लाक्पाको काही परेको शरीर र वासना शून्य जीवनदेखि उसलाई दिक्क लागेर आयो। अब उसले त्यही छ्याङले डढ़ेको लाक्पासित नै जीवन बिताउनु छ। उसले सोची म किन यस्ति। काजी बूढ़ोले 17-17 वटी बिहे गर्यो। म पनि यस्तै हुन्छ भनेर जानेकी भए पहिले नै हिँड़्ने थिए। खान लाउनले मात्र मान्छेलाई कहाँ हुँदो रहेछ र। मान्छेलाई मान्छेकै उपस्थित चाहिन्दो रहेछ। उसलाई लाग्यो बिस्तारै उसको जमिन भसिरहेछ। उसको मुख सुकिरहेछ। उसका आँखाबाट आउँदै गरेका आँशु पनि रोकिए। मन रोए पनि उसको आँशु आएन। छोरोले ल्हासाबाट बुहारी लिएर आएको खुशीयाली घरमा भए पनि डोमाको जीवनका सबै सुखहाँसो सिधियो, आज।
दश वर्ष जसको आशामा उसले जीवन बिताई आज उसले उसको ख्याल नै नगरी बिहे गर्यो। लाक्पासित सुत्न उसलाई मन लागेन। लाक्पासित सुत्न उसलाई घिन लागेर आयो। घिन किन नलागोस पनि वासनाको ठाउँमा छ्याङको गन्ध आउँछ भने। डोमा उठी बाहिर गई। लाक्पा घोर निद्रामा पर्यो केही बेर मै।भोलिपल्ट बिहान कसैले लाक्पालाई आएर भन्यो डोमाले घाँटीमा पासो लगाइछ।

www.tistarangit.com

Saturday, October 13, 2007

मेरो कथा -1

कविताहरू 5
एक

मानिसहरूमा एक भिन्न प्रकारको विचार त्यस समय आउने गर्छ जब उसको सम्पूर्ण आय स्रोतका बाटाहरू बन्द हुँदै जान्छन्। वास्तवमा हिजो-आज यस शहरमा पनि यस्तै भइरहेको छ। कविताका सम्पूर्ण आय स्रोतका बाटाहरू बन्द भएका छन्। कविताहरू जस्ताको सबै आय स्रोत बन्द बन्दै गइरहेका छन्। तर कविताले यस शहरमा बाँच्नुछ। जीवन यापन गर्नुछ। यस पापी संसारमा जिएर देखाउनु छ। कविताले संघर्ष गर्नु छ। त्यो कविता कुनै समय सबैकी प्रशंसाकी धनी थिई। उसलाई चाहनेहरू यस समाजमा धैरै थिए। उसका कारनामाहरूका किस्सा दिन दिनै समाचारपत्रहरूमा छापिन्थे। उसलाई रत्न भन्थे मानिसहरू तर आज कविताको जुन अवस्था छ, त्यो देखेर पनि समाज मौन छ। कसैले कविताबारे चासो राख्दैनन्। समाचारपत्रहरूमा पनि कविताको किस्सा छापिन छाडे। कविता अब इतिहासमा बिलाइसकेकी थिई। कविताको स्थितिबारे आज कसैले पत्तो राख्दैन। कविताको किस्सा छापिएको एउटा लेख बहुमुखि प्रतिभाकी धनी कविता चौथो श्रेणीको किताबमा सिमित बन्न पुगेको छ।
दुइ
कवितासँग म सँगै पढ़ेको । सँगै हुर्केको भन्दा पनि हुन्छ। कविता जब दुइमा थिइ म त्यस स्कूलमा पुगेको थिए। कविता निकै गम्भीर प्रकृतिकी थिई सानैदेखि । उ एकाग्र चित्तकी थिई। अनि थिई शान्त स्वभावकी। पढ़ाइमा पनि कविता अरूभन्दा निकै तेज नै थिई। सबैकी प्यारी थिई उ।
कुद्ने घोटाजस्तो। उ सानैदेखि तेजगतिमा दौडिन्थिई। उसको रफ्तार थियो त्यसले एक दिन उसलाई चरमसीमामा पुर्याउनेछ भन्ने सबैको भनाई थियो। उदेखि म प्रभावित बनेको थिएँ। वास्तवमा उसँग विलक्षण प्रतिभा थियो।
तर समयको गति कहाँ गएर उल्टो भइदियो त्यो मलाई थाहा भएन। स्कूलमा पीटी उषाकी नामले परिचित कविताको सपना थियो ओलम्पित गोल्ड हत्याउने। उ चितुवा जस्तो दौडिन्थी। चौथो श्रेणीमा ओलम्पिक खेलमाथि एउटा लेख थियो। त्यो पढ़ेपछि कवितामा ओलम्पिक गोल्ड जित्ने हुटहुटी लागेको थियो।उसको जीवनको लक्ष्य र सपना थियो ओलम्पिक गोल्ड।
13-14- की हुँदा उ राष्ट्रिय स्तरकी खेलाडी बनीसकेकी थिई। उ राष्ट्रिय स्तरकी एथ्लिट बनेपछि समाचार पत्रहरूमा उ दिन दिनै छाउँथिई। कविताबारे पढ्न पाउँदा मलाई गर्व महसुस हुन्थ्यो। यसैबीच कविताले छात्रवृत्ति पाएर राजधानी गई। त्यसपछि केही वर्ष उ उसका किस्साहरू पढ़्न पाइन्थ्यो। एकपल्ट एउटा साक्षात्कारमा उसले ओलम्पिक गोल्ड जीवनको सपना भएको बताएकी पनि थिई। चार पाँच वर्षमा उसले जति राष्ट्रिय स्तरका प्रतियोगिताहरू हत्याई त्यति नै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा उ छनौट पनि भई। तर यहाँ उसलाई भाग्यले साथ दिएन। उ राष्ट्रिय स्तरकी एक होनहार प्रतिभा हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय स्तरमा उसको सफलता देखिएको थिएन। यसका पछि के कारणहरू थिए त्यो सर्वसाधारणलाई थाहा थिएन।
तीन
आज मैले कवितालाई भेटें। उसको अवस्थालाई देखेर मेरो मन भाँचियो। कविताको कथा सुनेपछि उनको अवस्थाप्रति आफैलाई धिक्कार लागेर आयो।एउटी अन्तर्राष्ट्रिय स्तरकी प्रतिभाले पनि यति दुख पाउछे भन्ने सोचेको पनि थिइन। तर कविताको कथाले मेलाई रूवायो।
कवितालाई मैले आज दश वर्षपछि भेटेको थिएँ। यस दशवर्षमा के-के भयो कविताले मलाई सबै सविस्तार सुनाई। कविताको कथा सुनेपछि यस देशमा कसैले कसैको विश्वास गर्न नसक्ने स्थिति भएको प्रमाणित भएको जस्तो अनुभव मैले गरेँ।
आज भन्दा दशवर्ष अघि जब उसले जिल्ला स्तरीय एथ्लिटक मिटमा पहिलो स्थान प्राप्त गरेपछि छात्रवृति पाएर राजधानी गएकी कविताबारे केही वर्ष समाचार पत्रहरूमा उसका कारनामाहरू पढ़ेको थिएँ। चार-पाँच वर्षदेखि कविताबारे केही पढ़न पाएको थिएन। उ राजधानीमा नै थिई। तर आज अचानक भेट भयो। मैले चिनिन पनि। कविताले नै मलाई बोलाई। उसको परिवर्तित रूप देखेर म दङ्गदास भएको थिएँ।
चार
राजधानीको एउटा प्रतिष्ठित खेलकूद स्कूलमा उसले भर्ना पाएपछि उसको प्रतिभाले अझ प्रस्फूटित हुने अवसर पाएकी थिई। एकवर्षको छोटो अवधिमा नै उसले आफूलाई राष्ट्रिय प्रतिभाको रूपमा स्थापित गरी। उसले सबभन्दा पहिला आँचलिक स्तरको प्रतियोगितामा गोल्ड जिति।फेरि राष्ट्रिय खेलमा रजत, अर्को वर्ष गोल्ड।
कविता दुई वर्षभित्रमा अन्तर्राष्ट्रिय खेलाड़ी बनी। उसले साफ खेलमा भाग लिएर देशका काश्य पदक जिती। अन्य अन्तराष्ट्रिय प्रतियोगितामा पनि उसको प्रदर्शन अन्यको तुलनामा उत्कृष्ट रहेको थियो। समाचार पत्रहरूको स्पोट्स पेजमा उसका किस्सा छापिन्थे। एशियाई खेलका निम्ति उसले तयारी गरिरहेकी थिई। यसैबीच उसमाथि षडयन्त्रहरू शुरू भए, जसको उसले पत्तो पाइन। उसलाई एशियाई खेलमा बदनाम गराउने षडयन्त्र चयन समितिबाट नै भएको थियो। त्यस समय चयन समितिका अध्यक्षले एउटी खेलाड़ीलाई छनौट गराउन चाहन्थे। तर उनकी त्यस खेलाड़ी सरिताको प्रदर्शन राष्ट्रियस्तरमा नै राम्रो थिएन। यस्तो स्थितिमा सरिता चयन हुने कुरै थिएन। उनलाई कविता नै बाधा लाग्यो। किन भने एशियाई खेलका लागि सय मिटर दौड़मा एकजना खेलाड़ी मात्र पठाउनु पर्ने बाध्यता थियो। यस बाध्यतामा परेर उनले चयन समितिका अन्य सदस्यको विपरित सरितालाई पठाउन सकेनन्। कविता एशियाई खेलमा चयन भई। एशियाई खेलमा कविताले उत्कृष्ट प्रदर्शऩ गर्दै काश्य पदक जिती। देशका लागि यो उल्लेखनीय उपलब्धी थियो। तर भाग्यले कविताको साथ छोडेर षड़यन्त्रकारीहरूलाई साथ दियो। कविताले पदक त जिती तर त्यो फेरि खोसियो।

खेलपछिको डोपिङ टेस्टमा उसले प्रतिबन्धित औषधी सेवन गरेको आरोप लाग्यो। उसको क्यारियरमा कालो बादल छायो। डोपिङ टेस्टमा दोषी पाईएकी कविताले कति स्पष्टिकरण दिई थाहा भएन।देश फर्किएपछि कविताले आफूले कुनै त्यसस्तो कार्य नगरेको बताई तर कसले सुन्ने। त्यसपछि कवितामाथि एक वर्षको प्रतिबन्ध लाग्यो। उसले घरेलू प्रतिस्पर्धामा पनि खेल्न पाइन। घर फर्किने विचार गरी तर एक वर्षपछि फेरि उसले आफूलाई अन्तराष्ट्रिय प्रतियोगितामा पाउनु थियो। यसैले उसले घर फर्किने विचार परित्याग गरी राजधानीमा नै संघर्ष गरी बस्ने विचार गरी। अहिलेसम्म कमाएको धन विस्तारै राजधानीको भीड़मा सकिन लागेको थियो। नीजि स्तरमा प्रशिक्षण लिनु मँहगो भइरहेको थियो।
यसैबीच उसलाई राजधानीका एक धनाठ्य व्यक्तिले केही धन दिने भए। कविता भर्खर यौवन अवस्थामा पुगेकी थिई। ती व्यक्तिले कविताको रूप देखेर नै उसलाई प्रशिक्षणका लागि धन उपलब्ध गराउने भएका थिए।कवितालाई पैसाको पूरै आवश्यकता छ भन्ने कूरो ती व्यक्तिलाई राम्रोसँग थाहा थियो। यसैले उनले कवितामाथि खोला जस्तो पैसा बगाउने भई। आवश्यकताले मानिसको विचार नै परिवर्तन गरिदिन्छ।कविता पनि ती व्यक्तितिर विस्तारै आकर्षित बन्न थालेकी थिई। अनि त्यस समाजले देख्दा भलाद्मी देखिने त्यस व्यक्तिको कविता दिन दिनेै शिकार बन्न थालिसकेकी थिइ।
कविताले पैसा लिन भऩे त्यस व्यक्तिको विस्तरकोठामा जानुपर्थ्यो, एक दिन उसले आफ्नो अभाव टार्न र लक्ष्य प्राप्त गर्ने चहानामा त्यसै गरी त्यसै दिनदेखि उसको जीवनको कालो अध्याय शुरू भई सकेको थियो।
एक वर्षको प्रतिबन्धित समय पूरा भएपछि कविता पुनः राष्ट्रिय स्तरका प्रतियोगिताबाट खेलमा फर्किई। तर कविताको फर्काई पहिलाको जस्तो थिएन। लगातार तीनवटा प्रतियोगितामा खराब प्रदर्शन पछि चौथोमा भने मरेर उसले कास्य पदक जिती। समय-समयमा उसले त्यस व्यक्तिको विस्तर पनि तताउनु पर्ने बाध्यता छँदै थियो। अब त उसलाई बानी पनि परिसकेको थियो। विस्तर तताउने प्रवृत्तिले उसलाई रोमाञ्चक तुल्याउँथ्यो।
ठीक ओलम्पिकको चयन प्रक्रियाको समयअघि कविताको अवैध यौन सम्पर्कको कालो किस्सा मीडियाले छापेपछि उसको ओलम्पिक गोल्ड जित्ने सपना सपना नै रह्यो।
त्यसपछि कविताको जीवन नर्कतुल्य बन्न पुग्यो। त्यस व्यक्तिले पनि छाडिदियो। कविताका कारनामाका किस्सा अब इतिहास बने।
आज कविताको कथा सुने पछि मेरो मन भाँचियो।
कविता जस्ता कति हाम्रा प्रतिभाहरू अन्याय र षड़यन्त्रको शिकार बनेका छन्। म जस्ता साथीहरू कथा मात्र सुन्नसक्छौ, गर्न केही सक्दैनौ। कविताहरू दिन-दिनै कविता बन्न पुग्छन्। हामी हेरिरहन बाध्य छौं। हामी चुप छौ। कविताहरूको कथा सुनेर चुप छौं, र चुप बसेर हेरिरहन्छौं तमासा।