Saturday, October 13, 2007

मेरो कथा -1

कविताहरू 5
एक

मानिसहरूमा एक भिन्न प्रकारको विचार त्यस समय आउने गर्छ जब उसको सम्पूर्ण आय स्रोतका बाटाहरू बन्द हुँदै जान्छन्। वास्तवमा हिजो-आज यस शहरमा पनि यस्तै भइरहेको छ। कविताका सम्पूर्ण आय स्रोतका बाटाहरू बन्द भएका छन्। कविताहरू जस्ताको सबै आय स्रोत बन्द बन्दै गइरहेका छन्। तर कविताले यस शहरमा बाँच्नुछ। जीवन यापन गर्नुछ। यस पापी संसारमा जिएर देखाउनु छ। कविताले संघर्ष गर्नु छ। त्यो कविता कुनै समय सबैकी प्रशंसाकी धनी थिई। उसलाई चाहनेहरू यस समाजमा धैरै थिए। उसका कारनामाहरूका किस्सा दिन दिनै समाचारपत्रहरूमा छापिन्थे। उसलाई रत्न भन्थे मानिसहरू तर आज कविताको जुन अवस्था छ, त्यो देखेर पनि समाज मौन छ। कसैले कविताबारे चासो राख्दैनन्। समाचारपत्रहरूमा पनि कविताको किस्सा छापिन छाडे। कविता अब इतिहासमा बिलाइसकेकी थिई। कविताको स्थितिबारे आज कसैले पत्तो राख्दैन। कविताको किस्सा छापिएको एउटा लेख बहुमुखि प्रतिभाकी धनी कविता चौथो श्रेणीको किताबमा सिमित बन्न पुगेको छ।
दुइ
कवितासँग म सँगै पढ़ेको । सँगै हुर्केको भन्दा पनि हुन्छ। कविता जब दुइमा थिइ म त्यस स्कूलमा पुगेको थिए। कविता निकै गम्भीर प्रकृतिकी थिई सानैदेखि । उ एकाग्र चित्तकी थिई। अनि थिई शान्त स्वभावकी। पढ़ाइमा पनि कविता अरूभन्दा निकै तेज नै थिई। सबैकी प्यारी थिई उ।
कुद्ने घोटाजस्तो। उ सानैदेखि तेजगतिमा दौडिन्थिई। उसको रफ्तार थियो त्यसले एक दिन उसलाई चरमसीमामा पुर्याउनेछ भन्ने सबैको भनाई थियो। उदेखि म प्रभावित बनेको थिएँ। वास्तवमा उसँग विलक्षण प्रतिभा थियो।
तर समयको गति कहाँ गएर उल्टो भइदियो त्यो मलाई थाहा भएन। स्कूलमा पीटी उषाकी नामले परिचित कविताको सपना थियो ओलम्पित गोल्ड हत्याउने। उ चितुवा जस्तो दौडिन्थी। चौथो श्रेणीमा ओलम्पिक खेलमाथि एउटा लेख थियो। त्यो पढ़ेपछि कवितामा ओलम्पिक गोल्ड जित्ने हुटहुटी लागेको थियो।उसको जीवनको लक्ष्य र सपना थियो ओलम्पिक गोल्ड।
13-14- की हुँदा उ राष्ट्रिय स्तरकी खेलाडी बनीसकेकी थिई। उ राष्ट्रिय स्तरकी एथ्लिट बनेपछि समाचार पत्रहरूमा उ दिन दिनै छाउँथिई। कविताबारे पढ्न पाउँदा मलाई गर्व महसुस हुन्थ्यो। यसैबीच कविताले छात्रवृत्ति पाएर राजधानी गई। त्यसपछि केही वर्ष उ उसका किस्साहरू पढ़्न पाइन्थ्यो। एकपल्ट एउटा साक्षात्कारमा उसले ओलम्पिक गोल्ड जीवनको सपना भएको बताएकी पनि थिई। चार पाँच वर्षमा उसले जति राष्ट्रिय स्तरका प्रतियोगिताहरू हत्याई त्यति नै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा उ छनौट पनि भई। तर यहाँ उसलाई भाग्यले साथ दिएन। उ राष्ट्रिय स्तरकी एक होनहार प्रतिभा हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय स्तरमा उसको सफलता देखिएको थिएन। यसका पछि के कारणहरू थिए त्यो सर्वसाधारणलाई थाहा थिएन।
तीन
आज मैले कवितालाई भेटें। उसको अवस्थालाई देखेर मेरो मन भाँचियो। कविताको कथा सुनेपछि उनको अवस्थाप्रति आफैलाई धिक्कार लागेर आयो।एउटी अन्तर्राष्ट्रिय स्तरकी प्रतिभाले पनि यति दुख पाउछे भन्ने सोचेको पनि थिइन। तर कविताको कथाले मेलाई रूवायो।
कवितालाई मैले आज दश वर्षपछि भेटेको थिएँ। यस दशवर्षमा के-के भयो कविताले मलाई सबै सविस्तार सुनाई। कविताको कथा सुनेपछि यस देशमा कसैले कसैको विश्वास गर्न नसक्ने स्थिति भएको प्रमाणित भएको जस्तो अनुभव मैले गरेँ।
आज भन्दा दशवर्ष अघि जब उसले जिल्ला स्तरीय एथ्लिटक मिटमा पहिलो स्थान प्राप्त गरेपछि छात्रवृति पाएर राजधानी गएकी कविताबारे केही वर्ष समाचार पत्रहरूमा उसका कारनामाहरू पढ़ेको थिएँ। चार-पाँच वर्षदेखि कविताबारे केही पढ़न पाएको थिएन। उ राजधानीमा नै थिई। तर आज अचानक भेट भयो। मैले चिनिन पनि। कविताले नै मलाई बोलाई। उसको परिवर्तित रूप देखेर म दङ्गदास भएको थिएँ।
चार
राजधानीको एउटा प्रतिष्ठित खेलकूद स्कूलमा उसले भर्ना पाएपछि उसको प्रतिभाले अझ प्रस्फूटित हुने अवसर पाएकी थिई। एकवर्षको छोटो अवधिमा नै उसले आफूलाई राष्ट्रिय प्रतिभाको रूपमा स्थापित गरी। उसले सबभन्दा पहिला आँचलिक स्तरको प्रतियोगितामा गोल्ड जिति।फेरि राष्ट्रिय खेलमा रजत, अर्को वर्ष गोल्ड।
कविता दुई वर्षभित्रमा अन्तर्राष्ट्रिय खेलाड़ी बनी। उसले साफ खेलमा भाग लिएर देशका काश्य पदक जिती। अन्य अन्तराष्ट्रिय प्रतियोगितामा पनि उसको प्रदर्शन अन्यको तुलनामा उत्कृष्ट रहेको थियो। समाचार पत्रहरूको स्पोट्स पेजमा उसका किस्सा छापिन्थे। एशियाई खेलका निम्ति उसले तयारी गरिरहेकी थिई। यसैबीच उसमाथि षडयन्त्रहरू शुरू भए, जसको उसले पत्तो पाइन। उसलाई एशियाई खेलमा बदनाम गराउने षडयन्त्र चयन समितिबाट नै भएको थियो। त्यस समय चयन समितिका अध्यक्षले एउटी खेलाड़ीलाई छनौट गराउन चाहन्थे। तर उनकी त्यस खेलाड़ी सरिताको प्रदर्शन राष्ट्रियस्तरमा नै राम्रो थिएन। यस्तो स्थितिमा सरिता चयन हुने कुरै थिएन। उनलाई कविता नै बाधा लाग्यो। किन भने एशियाई खेलका लागि सय मिटर दौड़मा एकजना खेलाड़ी मात्र पठाउनु पर्ने बाध्यता थियो। यस बाध्यतामा परेर उनले चयन समितिका अन्य सदस्यको विपरित सरितालाई पठाउन सकेनन्। कविता एशियाई खेलमा चयन भई। एशियाई खेलमा कविताले उत्कृष्ट प्रदर्शऩ गर्दै काश्य पदक जिती। देशका लागि यो उल्लेखनीय उपलब्धी थियो। तर भाग्यले कविताको साथ छोडेर षड़यन्त्रकारीहरूलाई साथ दियो। कविताले पदक त जिती तर त्यो फेरि खोसियो।

खेलपछिको डोपिङ टेस्टमा उसले प्रतिबन्धित औषधी सेवन गरेको आरोप लाग्यो। उसको क्यारियरमा कालो बादल छायो। डोपिङ टेस्टमा दोषी पाईएकी कविताले कति स्पष्टिकरण दिई थाहा भएन।देश फर्किएपछि कविताले आफूले कुनै त्यसस्तो कार्य नगरेको बताई तर कसले सुन्ने। त्यसपछि कवितामाथि एक वर्षको प्रतिबन्ध लाग्यो। उसले घरेलू प्रतिस्पर्धामा पनि खेल्न पाइन। घर फर्किने विचार गरी तर एक वर्षपछि फेरि उसले आफूलाई अन्तराष्ट्रिय प्रतियोगितामा पाउनु थियो। यसैले उसले घर फर्किने विचार परित्याग गरी राजधानीमा नै संघर्ष गरी बस्ने विचार गरी। अहिलेसम्म कमाएको धन विस्तारै राजधानीको भीड़मा सकिन लागेको थियो। नीजि स्तरमा प्रशिक्षण लिनु मँहगो भइरहेको थियो।
यसैबीच उसलाई राजधानीका एक धनाठ्य व्यक्तिले केही धन दिने भए। कविता भर्खर यौवन अवस्थामा पुगेकी थिई। ती व्यक्तिले कविताको रूप देखेर नै उसलाई प्रशिक्षणका लागि धन उपलब्ध गराउने भएका थिए।कवितालाई पैसाको पूरै आवश्यकता छ भन्ने कूरो ती व्यक्तिलाई राम्रोसँग थाहा थियो। यसैले उनले कवितामाथि खोला जस्तो पैसा बगाउने भई। आवश्यकताले मानिसको विचार नै परिवर्तन गरिदिन्छ।कविता पनि ती व्यक्तितिर विस्तारै आकर्षित बन्न थालेकी थिई। अनि त्यस समाजले देख्दा भलाद्मी देखिने त्यस व्यक्तिको कविता दिन दिनेै शिकार बन्न थालिसकेकी थिइ।
कविताले पैसा लिन भऩे त्यस व्यक्तिको विस्तरकोठामा जानुपर्थ्यो, एक दिन उसले आफ्नो अभाव टार्न र लक्ष्य प्राप्त गर्ने चहानामा त्यसै गरी त्यसै दिनदेखि उसको जीवनको कालो अध्याय शुरू भई सकेको थियो।
एक वर्षको प्रतिबन्धित समय पूरा भएपछि कविता पुनः राष्ट्रिय स्तरका प्रतियोगिताबाट खेलमा फर्किई। तर कविताको फर्काई पहिलाको जस्तो थिएन। लगातार तीनवटा प्रतियोगितामा खराब प्रदर्शन पछि चौथोमा भने मरेर उसले कास्य पदक जिती। समय-समयमा उसले त्यस व्यक्तिको विस्तर पनि तताउनु पर्ने बाध्यता छँदै थियो। अब त उसलाई बानी पनि परिसकेको थियो। विस्तर तताउने प्रवृत्तिले उसलाई रोमाञ्चक तुल्याउँथ्यो।
ठीक ओलम्पिकको चयन प्रक्रियाको समयअघि कविताको अवैध यौन सम्पर्कको कालो किस्सा मीडियाले छापेपछि उसको ओलम्पिक गोल्ड जित्ने सपना सपना नै रह्यो।
त्यसपछि कविताको जीवन नर्कतुल्य बन्न पुग्यो। त्यस व्यक्तिले पनि छाडिदियो। कविताका कारनामाका किस्सा अब इतिहास बने।
आज कविताको कथा सुने पछि मेरो मन भाँचियो।
कविता जस्ता कति हाम्रा प्रतिभाहरू अन्याय र षड़यन्त्रको शिकार बनेका छन्। म जस्ता साथीहरू कथा मात्र सुन्नसक्छौ, गर्न केही सक्दैनौ। कविताहरू दिन-दिनै कविता बन्न पुग्छन्। हामी हेरिरहन बाध्य छौं। हामी चुप छौ। कविताहरूको कथा सुनेर चुप छौं, र चुप बसेर हेरिरहन्छौं तमासा।

No comments: