Saturday, April 23, 2011

समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन -4

समकालीन सिक्किमेली निबन्ध साहित्य

निबन्ध साहित्य एउटा यस्तो विधा हो, जसलाई रचना गरिन्छ अनि पत्र-पत्रिकामार्फत प्रकाशन गरिएपछि पुस्तकको आकार भने त्यति दिइँदैन। थोरै निबन्धकारले मात्र आफ्ना निबन्धहरूलाई पुस्तकको रूपमा प्रकाशन गर्नेगरेको देखिन्छ। सिक्किमेली निबन्ध साहित्यको कुरा गर्दा भाषा-मान्यतायता यस विधामा उल्लेखनीय प्रगति भएको छ अनि यस विधामा धेरैले आफ्नो कलमको मसी खर्च पनि गरेका छन्। तर समकालीन निबन्ध साहित्यका सन्दर्भमा पुस्तकहरू भने थोरै मात्रामा देखा परेका छन्।

समकालीन सिक्किमेली निबन्धमा विभिन्न प्रवृत्तिगत विशेषता पाइन्छ। निबन्धलाई यहॉं मूलतः लेख भन्ने चलन रहेकोले निबन्ध साहित्यको चर्चा गर्दा ती सबै साहित्यिक लेखहरूलाई समावेश गर्नसकिन्छ,जसमा निबन्धतत्वहरू पाइन्छन्। निबन्ध रचनाका लागि अनेकौं विषय वस्तु रहेकाले यो कुनै सीमित क्षेत्रमा अटाएको हुँदैन। निबन्ध रचना गर्ने रचनाधर्मीहरू आफ्ना भावना, कल्पना, संवेग, आवेग आदिलाई चिन्तन, मनन् र बुद्धिको प्रयोगद्वारा रोचक बनाउने प्रयास गर्छन्। सन् १९९०-पछि सिक्किममा उदय भएका अनि अघिबाटै स्थापित भइसकेका पत्र-पत्रिकाहरूमा निबन्ध, लेख, प्रबन्ध आदि प्रकाशन गर्नेहरू धेरै छन् तर हामीसित पुस्तकाकारमा भने निबन्ध थोरै छन्। विशेष गरी २०००-पछि दैनिक समाचार-पत्रहरूको प्रकाशन सिक्किमबाटै हुन शुरु भयो अनि यसअघि पनि सिलगढ़ीबाट नेपाली दैनिकहरू प्रकाशन भइरहेका थिए। सिलगढ़ी र सिक्किम दुवैतिरका दैनिक समाचार-पत्रहरूमा लेख निबन्धहरू प्रकाशन गर्ने कलमकारहरू धेरै नै जन्मिएका छन्। अर्कोतिर सिक्किममा अघिबाटै रहिआएका पत्र-पत्रिकाहरूमा पनि निबन्धहरूलाई महत्व दिइएकै देखिन्छ।

सिक्किमेली निबन्ध साहित्यमा कलमकारहरूले सामाजिक विसङ्गतिहरूको टिप्पणी, राज्यको राजनैतिक परिवेशको चित्रण, मूल्याङ्कन, समाज सुधारका भावनाहरू, पर्यटनसम्बन्धी लेखहरू, रोजगार अन्य वैकल्पिक आय स्रोतबारे टिप्पणी आदि विषय वस्तुहरूलाई समेटेको देखिन्छ। एकातिर यहॉं केही निबन्धकारहरू आत्मपरक, विवेचनात्मक, विवरणात्मक, विश्लेषणात्मक, निबन्ध साहित्यको रचनामा पनि अग्रसर भएको देखिन्छ। यद्यपि, निबन्ध साहित्यमा कलम चलाउने केही उल्लेखयोग्य निबन्धकारहरूको उल्लेख यहॉं सही ठहर्दछ।

सिक्किमेली निबन्ध साहित्यको कुरा गर्दा डा. घनश्याम नेपाल, डा. शान्ति छेत्री, महानन्द पोड्याल, भीम दाहाल, सानुभाई शर्मा, डा.वत्स गोपाल, तुलसीराम शर्मा "कश्यप', एल्डी राई मिक्खोले, छिरिङ पाञ्जो शेर्पा, गोपाल गाउँले, अशोक प्रशान्त, अर्जुन पीयूष, विजयकुमार सुब्बा, उदयचन्द्र वशिष्ट, रामचन्द्र शर्मा, राज.के. श्रेष्ठ, सुवास दीपक आदिको नाम उल्लेखयोग्य रहेको छ।

डा. घनश्याम नेपाल (जन्मः १३ मार्च, १९५१) मूलतः एक समालोचक हुन्‌ तर पनि निबन्ध साहित्यमा उनको कलम निरन्तर चल्दै आएको छ। मूलतः विशिष्ट भाषा-शैलीमा विचारप्रधान, दर्शनयुक्त निबन्ध रचना गर्ने नेपालका विभिन्न पत्र-पत्रिकाहरूमा निबन्धहरू प्रकाशन भइरहेका छन्। यिनीद्वारा सम्पादित निबन्ध नन्दन (१९९२)-मा नेपाली निबन्ध साहित्यका प्रमुख निबन्धकारहरूको निबन्धलाई संग्रह गरिएको छ।

कविका रूपमा परिचित तुलसीराम शर्मा "कश्यप' एक कुशल निबन्धकार थिए। उनका निबन्धहरू वर्णनात्मक, विवरणात्मक र आत्मपरक रहेका छन्। मूलतः यिनी नैतिक शिक्षा दिने निबन्धहरूको रचना गर्ने निबन्धकार हुन्। यिनको कल्पना (१९९१) निबन्ध सङ्ग्रहमा १५ निबन्ध प्रकाशित छन्।
एक कुशल अनुवादकका साथसाथै एक कुशल निबन्धकार पनि हुन्‌ सुवास दीपक (जन्मः१ अप्रेल, १९४८)। पत्रकारिताको पेशालाई अप्नाएका सुवास दीपकका निबन्धहरू विचारप्रधान र विवरणात्मक रहेका छन्। विशेष गरी टिप्पणीमूलक निबन्धको रचना गर्ने सुवास दीपकको भाषा मान्यता (१९९५) नामक निबन्ध सङ्ग्रहभित्र २४ निबन्ध छोटा तर गहकिला रूपमा प्रकाशित छन्।

विभिन्न पत्र-पत्रिकाहरूबाट स्थापित बनेका निबन्धकार हुन्‌ अर्जुन पीयूष(जन्मः२२ फरवरी, १९६८) मूलतः यिनी टिप्पणीमूलक निबन्ध रचना गर्न रूचाउने अनि आफ्ना निबन्धहरूमा विषयलाई सरलताका साथ प्रस्तुत गर्ने निबन्धकार हुन्। यिनका निबन्धहरूमा बौद्धिक चिन्तनका साथसाथै हार्दिकता पनि पाइन्छ। यिनको समयान्तर (२००५)-मा २४ वटा विशुद्ध साहित्यिक निबन्ध प्रकाशित छन्।

प्रबन्ध लेखनलाई आफ्नो क्षेत्र ठानेका उदयचन्द्र वशिष्टका विवरणात्म लेखहरू पत्र-पत्रिकाहरूमा प्रकाशित भइरहेका छन्। यिनको धार्मिक चाड़-पर्वहरूबारे जानकारी दिँदै लेखिएका निबन्धहरूको सङ्कलन सिक्किमका चाड़पर्व (१९९७) प्रकाशित छ।

पेशागत रूपमा पत्रकार रहेका अनि व्यङ्ग्य लेखनलाई आफ्नो क्षेत्र बनाएका भीम राउत समकालीन सिक्किमेली साहित्यका एक प्रतिभाशाली व्यङ्ग्याकार हुन्। यिनका निबन्धहरूमा सामाजिक, राजनैतिक आदि विषय वस्तुहरूद्वारा समाजमा रहेका विकृतिहरूप्रति तिखो व्यङ्ग्य ठेट बोलीको भाषामा प्रस्तुत गरिएको हुन्छ। यिनका यस किसिमका निबन्धहरू हाम्रो प्रजाशक्ति-मा भीमास्त्र स्तम्भमा प्रकाशन हुँदै आएका छन्। यसै स्तम्भमा प्रकाशित छोटा-मीठा लेखहरूलाई यिनले भीमास्त्र (२००६)-मा संग्रह पनि गरेका छन्।

हास्य व्यङ्ग्य निबन्ध साहित्यका क्षेत्रमा एल्डी राई मिक्खोलेको स्थान प्रमुख रूपले उल्लेखयोग्य छ। यिनका व्यङ्ग्य निबन्धहरूमा सामाजिक विकृतिहरूमा सरल भाषामा प्रहार गरिएको हुन्छ। यिनका यस्तै १८ निबन्धहरूलाई मिक्खोले व्यक्तित्व एवं कृतित्व (२००२)-मा चम्पादिवस राई र मणि चामलिङ "रहर'-ले सङ्कलन गरी प्रकाशन गरेका छन्। हास्य व्यङ्ग्यात्मक निबन्ध रचना क्षेत्रमा यस युगका अन्य निबन्धकारहरूमा विजयकुमार सुब्बा, छिरिङ पाञ्जो शेर्पा, दीप प्रधान "गान्तोके', एम.एन. दाहाल, भीम दाहाल, वीरू बाङ्देल आदि उल्लेखयोग्य छन्।

यस कालखण्डका अन्य निबन्धकारहरू, जसका निबन्धहरू विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित भइरहेका छन्, ती हुन्-केदार गुरूङ, उपमान बस्ने, सीडी राई, गोवर्धन बॉंस्तोला, पारसमणि शम, कमला आँशु, गीता शर्मा, प्रद्युम्न श्रेष्ठ, टी.एन. शर्मा, एस.एम. बस्नेत, कृष्णा कृति, बी.पी. बजगाईं, भीम ठटाल, जी.पी.अनाथ, टीका ढुङ्गेल, चुनिलाल घिमिरे, सुवास तामाङ "अतीत', चन्द्र दुलाल, के.बी. ठटाल, पुण्यप्रसाद शर्मा, पुण्य कोइराला, तारा ढकाल, प्रेम कार्की, सी.बी. कार्की, किरण छेत्री, पवित्र भण्डारी, टेकबहादुर छेत्री, दीपक तिवारी, शङ्कर ढकाल, टीका भाइ, डा. पुष्प शर्मा, प्रा. गीता निरौला, बालकृष्ण श्रेष्ठ "सदामे', डा. सी.एस. शर्मा, डा.सी. एल. प्रधान, सी.एम. शर्मा, मनबहादुर लिम्बू "इजम', हरिभक्त अधिकारी, सुरेन मोहोरा, रोशन कौशिक, रूद्र कौशिक, रामचन्द्र शर्मा, मोहन "नीरज' प्रधान, कमल दाहाल, टी.बी. चन्द्र सुब्बा, सानु लामा, शिव प्रधान, आई.एल. शर्मा, डा. परशुराम पौड्याल, देवकुमार दुमी, पारसमणि खनाल, जोसेफ लेप्चा, इन्दिरा राई, वेदनिधि तिवारी, प्रकाश अधिकारी "खाम्दोङे', रवि रसाइली रोदन, अविचन्द्र सिग्देल, दलमान पीर मुखिया, वीरबल सुब्बा, दुर्गाप्रसाद ढकाल, विजय बान्तवा, रघुनन्द सापकोटा, थिरूप्रसाद नेपाल, एम.एस. खान, एच.पी. ढकाल, टेकनाथ तिवारी, राधा प्रधान, पूर्ण राई, प्रवीण राई जुमेली, गंगा कप्तान, ध्रूव लोहागण, वाङ्दी छिरिङ लामा, उदय छेत्री, कविता सुब्बा, हेमलता गुरूङ, सुमन गजमेर, साम्पाङ राई आदि।

No comments: