Saturday, April 23, 2011

समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन -2

समकालीन सिक्किमेली कविता साहित्य

साहित्यको सबैभन्दा धनी र उर्वर विधा कविता नै हो। सिक्किममा शुरुदेखि नै कविता साहित्यमा उल्लेखनीय कार्य हुँदै आएको थियो भने ९०-को दशकपछि त झन् सिक्किममा कविहरूको बाढ़ी नै उर्लियो। एकातिर यहॉं अघिल्लो पुस्तादेखि नै कविता सिर्जना गर्दै आएका कविहरू सक्रिय थिए भने अर्कातिर यस अवधिमा लगभग २००-भन्दा धेरै सक्रिय नवोदित कविहरूले पदार्पण गर्दै आफ्नो कलमलाई तिखार्ने काम गर्दैछन्। आज सिक्किमका प्रमुख कविहरूको चर्चा गर्नुपर्दा गुणात्मक रूपमा यहॉं कविता सिर्जना गर्ने धेरै कवि पाइन्छन्। नयॉं हुद्दाका कविहरूमा पनि विभिन्न प्रवृतिगत विशेषता र विषय वस्तुको गहनताका साथ साथै काव्यिक सौन्दर्य पनि प्रचुर मात्रमा पाइन्छ। यस कालखण्डमा एकातिर शास्त्रीय छन्दमा कविता सिर्जना गर्ने तुलसीराम शर्मा "कश्यप', चक्रपाणि भट्टराई, भवानी घिमिरे, के.एन. शर्मा, स्वामी स्वदेशानन्दजस्ता कविहरू पनि सक्रिय रहे भने गद्य कवितामा दक्षता प्राप्त गरिसकेका प्रयोगधर्मी कविहरू केदार गुरूङ, प्रवीण राई जुमेली, गिर्मी शेर्पा, राजेन्द्र भण्डारीजस्ता प्रयोगवादी कविहरू आफ्ना कवितालाई क्लिष्टतादेखि सरलतातिर ल्याउन तयार रहेका देखिए। अर्कातिर पवन चामलिङ "किरण', भीम दाहाल, विजयकुमार सुब्बाजस्ता कविहरू प्रगतिवादी विचारधारामा अघि बढ़ेको देखिन्छ। यसरी नै उपमान बस्नेत, मिना सुब्बा, विणाश्री खरेल, सरला राई आदिका कवितामा सरलता पाइन्छन्। यस कालमा आएर कवितामा विषयवस्तुगत विस्तार पाइन्छ। कविहरूले आफ्नो कवितामा विषयवस्तुको छनौट र प्रस्तुतिलाई व्यापकता दिने काम गरेका छन्। स्थानीय गतिविधि, सामाजिक परिवर्तनदेखि लिएर वैश्विक परिवर्तनको प्रभाव कवितामा पाइन्छ। राष्ट्रियता, भाषा, जातिप्रतिको प्रेम, कर्तव्यबोध, प्रगतिवादी चिन्तन, विसङ्गति र विकृति र विसंगतिको खुलेर विरोध, रोमाण्टिक विरोधिता, प्रेम र वात्सल्यता, प्रकृतिको चिन्तन, ग्रामीण जनजीवनप्रतिको मोह, आधुनिकीकरणको स्वागत तर यसको नग्नताको विरोध, मानवतावादी दृष्टिकोण, विश्वजनिन विषयवस्तुहरूको समावेश, हत्या र हिंसाप्रति घृणा, आतङ्कवादी गतिविधिको प्रत्यक्ष र परोक्ष छाप, अन्याय अत्याचारप्रति क्रान्तिको आवाज, विकास, प्रगति र समृद्धिका भावनात्मक अभिव्यक्तिहरू विभिन्न कविका कविताहरूमा पाइन्छन्। यही विषयवस्तुको व्यापकताले यस कालखण्डमा कविताप्रति चासो बढ़ेर गएको हो। यही कालखण्डमा सिक्किममा महाकाव्य, खण्डकाव्यको सिर्जना सॅंगसॅंगै दुइ हरफे र एक हरफे कविता लेखनको परम्परा पनि बसेको छ। यही माटोबाट अहिलेकै समयमा आएर कविताको संक्षेपीकरण गर्ने कार्य नेपाली साहित्यका लागि उल्लेखनीय बन्दछ। यसक्रममा कालूसिंह रणपहेंलीको युग्मक (दुइ हरफे कविता) अनि अमर बानियॉं लोहोरोको काव्याणु (एक हरफे कविता) उल्लेखनीय छन्। एकातिर तुलसीराम शर्मा "कश्यप' जस्ता कवि महाकाव्यको सिर्जनामा जुट्छन् भने अर्कातिर रणपहेंली र लोहोरोजस्ता कवि कविताको छोटो रूप पस्कन अघि सर्छन्। यिनै विविधाताका कारण समकालीन सिक्किमेली साहित्यमा कविता विधाले व्यापकता लिएको हो। यस अवधिमा अनेकौं कविताकृति प्रकाशित भए। स्रष्टा पत्रिकाले आफ्नो पच्चासौं अङ्कलाई अन्तर्राष्ट्रिय कविता विशेषाङ्क-का रूपमा प्रकाशन गरी नेपाली साहित्यमा कसैले गर्ननसकेको कार्य सम्पादन गरिदियो।

शैली र प्रस्तुतिकरणका दृष्टिकोणमा पनि यो समय धनी छ। कवितामा स्थानीयताको छाप दिँदै काव्यिक प्रस्तुति गर्ने, पूर्वीय र पाश्चात्य जगतको चिन्तन, विचारको समनवय गर्ने, ग्रामीण र शहरी जीवनको फियुजनीकरण गर्ने, विश्व परिवेशका आधारमा प्रस्तुति गर्ने, स्थानीय विम्ब र प्रतीकको प्रयोग गर्ने अनि सरल र स्पष्ट गद्य भाषाको प्रतुति गर्ने कविहरू यस अवधिमा धेरै जन्मिए।

सन् १९६०-कै दशकदेखि कविता साहित्यमा प्रवेश गरेका अनि तीन-तीनवटा महाकाव्य दिने कवि तुलसीराम शर्मा "कश्यप'(जन्म ११ फरवरी, १९३९-मृत्यु ८ फरवरी, १९९८)-का १९९० यता मन्थन (१९९३) महाकाव्य, अनुराग (१९९०) खण्डकाव्य र इन्द्रकील (१९९२) हिन्दी खण्डकाव्यका साथै केही फूटकर कविता प्रकाशित भएका छन्। उनले आमा (१९८८) महाकाव्यका लागि १९९०-मा साहित्य अकादमी पुरस्कार प्राप्त गरे। मूलतः शास्त्रीय छन्दमा रस, अलङ्कारका साथै पूर्वीय काव्यिक परम्परालाई अनुसरण गर्दै मानवतावादी दृष्टिकोण राखेर कविता सिर्जना गर्ने कवि कश्यप एक प्रतिभाशाली कवि थिए। महाकाव्य लेखनको देवकोटाली प्रयासलाई कवि कश्यपले भारतीय नेपाली साहित्यमा इमान्दारिताका साथ बचाएका छन्। यिनको मन्थन महाकाव्यमा पौराणिक विषय-वस्तुमा आजको सामाजिक परिवेशमा देखा परेको विकृति र विसङ्गतिलाई उदाङ्गो पार्ने काम गरेका छन्। यिनको अनुराग खण्डकाव्यमा प्रेम, प्रकृति प्रेम, सौन्दर्यको पूजा, राष्ट्रिय प्रेम आदिको प्रवृत्ति प्रस्तुत गरिएको छ।

सन्‌ १९७०-को दशकदेखि साहित्य सिर्जनामा लागिपरेका अनि सक्रिय राजनीति गर्दै आएका कवि पवन चामलिङ "किरण' (जन्म २२ सितम्बर १९५०)-का यस अवधिमा म को हूँ? (१९९३) र क्रान्तिको प्रवेश (१९९४) प्रकाशित छन्। सरल भाषा शैलीमा प्रगतिवादी विचारधारालाई लिएर क्रान्तिको विगुल फुक्ने कवि हुन्‌ पवन चामलिङ "किरण'। आफ्ना कविताहरूमा अन्याय र अत्याचारको विरोध गर्दै मानवतावादी दृष्टिकोण राख्ने र सधैं समानताको पक्षमा बोल्ने र क्रान्तिका निम्ति आह्वान गर्ने कविका रूपमा परिचित छन् उनी। व्यस्त राजनीतिमा रहेर पनि उनको साहित्यप्रतिको झुकाउ अत्यन्त रहेको छ। मुख्यमन्त्रीका रूपमा रहेर पनि सधैं साहित्य कर्मी र कलाकारहरूको सम्मानमा अघि बढ्ने कवि चामलिङ नेपाली साहित्यका भारतीय प्रगतिवादी कविहरूको हुद्दामा सबैभन्दा माथि पर्दछन्।
सन् १९६०-को दशकदेखि निरन्तर कविता लेखनमा रहेका अनि अनेकौं कविता सिर्जना गरिसकेका कवि केदार गुरूङ (जन्म-९ जुलाई, १९४८) समकालीन कालखण्डमा पनि त्यतिकै सक्रिय र प्रतिबद्ध देखिन्छन्। प्रतीक र विम्बहरूको प्रयोगद्वारा गुम्फित भाषा शैलीको प्रयोग गर्दै केही दुर्बोध्य कविता सिर्जना गर्ने कवि गुरूङ समकालीन अवस्थामा आइपुग्दा केही सरल बन्नपुगेका छन्। अघिल्ला कालखण्डका उनका कविताहरूको तुलनामा यस अवधिका कविताहरूमा विषय वस्तुगत विविधताका साथै केही सरलतातर्फ उन्मुख देखिन्छ। यस अवधिमा उनका तीनवटा कविता सङ्ग्रह उर्लन्छन् छालहरू समय र ज्वारभाटाहरूजस्तै (१९९५), म आफ्नै कविताहरू भारी घिसाएर हिँड़िरहेछु (२०००) र खरीको बोट र सुनाखरीहरू (२००५) प्रकाशित छन्। यसका साथै यिनका अनेकौं कविताहरू विभिन्न पत्र-पत्रिकाहरूमा निरन्तर प्रकाशित भइरहेका छन्।

सन् १९७०-को दशकदेखि सिक्किमेली कविता साहित्यका चिन्हारी बन्दै आएका कवि राजेन्द्र भण्डारी (जन्म-) मूलतः विम्बात्मक कविता सिर्जना गर्ने कवि हुन्। यस अवधिमा आएर कवि भण्डारीका कवितामा वर्तमान विश्वको छाप स्पष्टसॅंग देखा पर्दछ भने उत्तराधुनिक कविता लेखनका उनी एक सशक्त प्रतिभा हुन्। यिनका यस अवधिका कविताहरूमा विश्वको बद्लॅंदो परिवेशबाट सिर्जना भएका समस्याहरू, व्यङ्ग्यात्मक चेतनाको प्रचुरता तथा प्रतीक र विम्बको समन्वयता पाइन्छ। पश्चिम बङ्गालको कालेबुङमा जन्मिएर सिक्किमलाई कर्मभूमि स्वीकार गरेका कवि भण्डारीको यस अवधिमा क्षर/अक्षर (१९९८) कविता सङ्ग्रह प्रकाशित छ।
सन् १९८०-को दशकको उत्तरार्द्धदेखि कविता लेखनमा प्रवेश गरेका अनि समकालीन कविहरूमा सबैभन्दा सशक्त र उर्वर बनेर उदाएका कवि हुन् प्रवीण राई जुमेली (जन्म-१९६७)। कवि जुमेली १९९० यता नै एक प्रतिष्ठित कविता रूपमा स्थापित बन्नपुगे भने यस अवधिमा उनका तीनवटा कविता सङ्ग्रह प्रकाशित भए। उनका शुरुका कविताहरू केही क्लिष्ट र दूर्बोध्य भए पनि नयॉं शताब्दीको थालनीसितै यिनले सरलतालाई स्वीकार गरेको भान हुन्छ। आफ्ना कविताहरूमा विम्ब र प्रतीकलाई सरलताका साथ खेलाउने तथा शहरी र ग्रामीण जनजीवनको मिश्रण गरी पाश्चात्य चिन्तनलाई पस्कने कविका रूपमा परिचित जुमेलीका कवितामा चित्रात्मक अभिव्यक्ति र चित्रकलाको भाषाको समेत प्रयोग भएको पाइन्छ। यिनका कविता सङ्ग्रहहरू हुन्- घाउका आर्वतहरू (१९९५), शब्दातीत (२०००) अनि इम्पास्टो अक्षर (२००६)।

सन्‌ १९८०-कै दशकदेखि कविता लेखनमा लागिपरेका अनि सरल कविताहरूको रचना गर्नमा सिद्धहस्त प्राप्त गरिसकेका कविका रूपमा परिचित छन्‌ उपमान बस्नेत(जन्म-३ मार्च, १९५३)। समकालीन कविता लेखनमा कवि बस्नेत आफूलाई सक्रियताका साथ अघि सार्दै आफ्ना कविताहरूमा सरल अभिव्यक्तिद्वारा सामाजिक परिवर्तन, राष्ट्रियता, जातिप्रेम, भाषा प्रेम, प्रकृतिप्रेम आदि विषय वस्तु समेट्दै कविता सिर्जना गर्दछन्। यस अवधिमा उनका प्रकाशित कविता कृतिहरू हुन्‌-तुषारोले कठ्याङ्ग्रिएका रूग्ण, चिसा पलहरू (१९९५) र घुम्टोभित्रको घुर्मैलो आकाश (२००४)।

सन्‌ १९८०-को दशकको उत्तरार्द्धदेखि कविता लेखनमा प्रवेश गरेका वीरु बाङ्देल (जन्म-)-को जन्मथलो दार्जीलिङको लाटपञ्चर भए पनि कर्मथलो सिक्किम रहेको छ। आफ्ना कविताहरूमा व्यङ्ग्यात्मक अभिव्यक्ति पस्कने अनि समाजमा रहेका विसङ्गति र विकृतिलाई खुलेर चित्रण गर्ने कविका रूपमा परिचित छन् बाङ्देल। सन् १९९०-को दशकको शुरुआत सॅंगसॅंगै यिनी कविता लेखनमा अझ बढ़ी सक्रियताका साथ लागिपर्दछन्। वर्तमान वैश्विक परिवेशका अनुभूतिहरूसमेत समेटेर कविता सिर्जना गर्ने बाङ्देलका हालसम्म दुइवटा कविता सङ्ग्रह प्रकाशित छन्- आहट मानेभञ्ज्याङको (१९९५) र कसाईको बस्तीमा (२००५)।

मूलतः उपन्यासकार र कथाकारका रूपमा परिचित रहेका भीम दाहाल (जन्म.....) सिक्किमेली समकालीन कविहरूमा एक उल्लेखनीय नाम हो। दुइवटा कविता सङ्ग्रह प्रकाशित गरिसकेका अनि कवितात्मक अभिव्यक्तिमा प्रगतिवादी चिन्तन, मानवतावादी दृष्टिकोण, क्रान्तिकारी विचारधारा र क्राम्तिको अपील गर्ने तथा मार्क्सेली द्वान्द्वात्म भौतिकवादलाई कवितात्मक रूप दिने चेष्टा गर्ने कवि हुन्‌ उनी। यिनका समृद्ध व्यथाः कङ्काल अभिव्यक्ति (१९९७) र रगतको हस्ताक्षर (२०००) गरी दुइवटा कविता सङ्ग्रह प्रकाशित छन्।

विजयकुमार सुब्बा (जन्म २६ जनवरी, १९६२)- पनि यसै अवधिमा आएर पूर्णतः स्थापित बन्न सफल कवि हुन्। मूलतः प्रगतिवादी चिन्तनधारामा व्यङ्ग्यत्मक अभिव्यक्ति प्रस्तुत गर्दै सरल प्रतीकात्मक प्रयोग र विम्ब सिर्जनाद्वारा काव्यिक सुन्दरता प्रस्तुत गर्ने कवि हुन् विजयकुमार सुब्बा। उनको सन् २००४-मा तेस्रो दृश्यको नेपथ्यतिर (कविता संग्रह) प्रकाशित भएको छ। यिनका कविताहरूमा दलित, शोषित र तेस्रो विश्वका गरीब र श्रमिकहरूको अन्तर्वेदनात्मक चित्कार विद्रोहका रूपमा प्रस्फु टित बन्न खोजेको पाइन्छ।

कथाकारका रूपमा स्थापित तर छोटा अनि मीठा कविता लेखनमा त्यतिकै सक्रिय रहेका अनि एउटा कविता सङ्ग्रहसमेत प्रकाशित गरिसकेका थिरूप्रसाद नेपाल (जन्म....) यस अवधिका एक मूर्द्धन्य कवि हुन्। समाजमा देखा परेका विभिन्न विकृति, विसङ्गति र विडम्बनाहरूको खुलेर चित्रण गर्दै व्यङ्ग्यात्मक अभिव्यक्ति प्रस्तुत गर्ने कवि नेपालको मनको आकाशमा सुनका चरीहरू (२००३) कविता सङ्ग्रह प्रकाशित छ।

पश्चिम बङ्गालको दार्जीलिङमा जन्मिएका अनि सिक्किमलाई आफ्नो कर्मभूमि ठानेका एक प्रयोगधर्मी कविका रूपमा कालूसिंह रणपहेंली (जन्म २ मई, १९५४) समकालीन कविहरूमा अत्याधिक सक्रिय रहेका छन्। यिनले नेपाली कविता साहित्यमा युग्मकको शुरुआत गरेका छन्। युग्मक दुइ हरफमा लेखिने कविताको संक्षेपीकृत रूप हो। एउटा युग्मक सिङ्गो कविताकै रूपमा उदय भएको पाउँछौं। यसका साथै युग्मकमा काव्यत्मकता पनि पाइन्छ। उदाहरणार्थः-

हत्या

फूलको हत्या भयो

हत्यारा मन्दिरतिर गयो।

मुक्तक र लामा कविता लेखनमा पनि उनी त्यत्तिकै सक्रिय छन्। रणपहेंली सन् १९९०-को दशकपछि नै आएर स्थापित बन्न पुगेका कवि हुन्। यस अवधिमा यिनले एक खण्डकाव्यसहित कविता सङ्ग्रह र युग्मक सङ्ग्रह प्रकाशित गरेका छन्। मूल्यन-अवमूल्यन (१९९४) खण्डकाव्य, युग्मक (१९९८) दुइ हरफे कविता सङ्ग्रह र बॉंच्नुको क्रम (२००४) कविता सङ्ग्रह। स्थानीय दैनिकहरूमा यिनका युग्मक र कविताहरू निरन्तर प्रकाशित भइरहेका छन्, जसबाट यिनको कविता साहित्यप्रतिको प्रतिबद्धता अभिव्यक्त हुन्छ।

वर्तमान साहित्यिक परिप्रेक्ष्यमा आएर स्थापित बन्न पुगेकी कवयत्री सुधा राई (जन्म २१ मार्च, १९६८) सिक्किमेली नेपाली साहित्यमा नारी कविताकारहरूमा अग्र स्थानमा रहेकी छन्। आन्तरिक काव्य सौन्दर्य र अन्तर्द्वन्द्वात्मक अभिव्यक्ति आफ्ना कविताहरूमा प्रस्तुत गर्ने सुधा राईका फूलको यौवन फूलैसित जोड़ (१९९५) र विरोधाभाष (२०००) गरी दुइ कविता सङ्ग्रह प्रकाशित छन्। यसै क्रममा उदाएकी अर्की सशक्त कवयत्री विनाश्री खरेल (जन्म ४ मई, १९५७)-का पनि दुइ कविता सङ्ग्रह प्रकाशित छन्, प्रश्न चिन्ह (१९९७) र मेरो बकपत्र (२००३)। यस अवधिकी अर्की सक्रिय कविताकारका रूपमा परिचित छन् दीपा राई(जन्म......)-को भ्रम (२००५) प्रकाशित छ।

अघिल्लै दशकमा तीनवटा कविता सङ्ग्रह प्रकाशित गरिसकेका अनि समकालीन परिप्रेक्ष्यमा पनि त्यत्तिकै प्रतिबद्धताका साथ कविता सिर्जनामा लागिपरेका कवि हुन्‌ वीरभद्र कार्कीढोली(जन्म.....) । प्रतीक र विम्बको प्रयोग गर्दै नवीन परिपाटीमा कविता लेख्न रूचाउने कार्की ढोलीका समकालीन कविता सङ्ग्रहहरू हुन्‌ एकमुठी कविता (१९९४) र शब्द र मन (२०००)
समकालीन कविता साहित्यमा सक्रियताका साथ उदय भएका अनि कविता साहित्यलाई संक्षेपीकरण गर्नमा तल्लीन रहेका कवि हुन्‌ अमर बानिया "लोहोरो' (जन्म १९५८)। कविताको संक्षेपीकरणको क्रममा उनले एक हरफे कविता सिर्जना गरेर आफूलाई अन्य कविहरूभन्दा छुट्टै रूपमा चिनाएका छन्। यसका साथै यिनका धेरै लामा कविताहरू पनि प्रकाशित छन्। भावधन (२००५) कविता सङ्ग्रहमा १०८ कविता प्रकाशित छन् भने यिनको एक हरफे कविता सङ्ग्रह काव्याणु (२००६) प्रकाशित छ। आफ्नो प्रयासलाई प्रतिबद्धताका साथ अघि ल्याउन बानियाको एक हरफे कवितामा काव्यात्मकताभन्दा बढ़ी वस्तुनिष्ठता पाइएको देखिन्छ। उदाहरणार्थः-

अज्ञानता

दुखको दोस्रो मुहान।

समकालीन सिक्किमेली कविता साहित्यको कुरा गर्दा शास्त्रीय छन्दमा कविता सिर्जना गर्ने कविहरू पनि उत्तिकै सक्रिय रहेको पाइन्छ। यस क्रममा चक्रपाणि भट्टराई, भवानी घिमिरे, स्वामी स्वादेशानन्द र केएन शर्मा प्रमुख रहेका छन्। चक्रपाणि भट्टराई (जन्म १० दिसम्बर, १९६४)-का शास्त्रीय छन्दमा लेखिएको नारी अङ्क (१९९४) काव्यमा विश्वका विश्वका नारीहरूको संघर्ष र जीवनीलाई प्रेरणाका रूपमा ग्रहण गरिएको छ। उनको डा. शोभाकान्ति थेगिम स्मृति पुरस्कार प्राप्त कविता सङ्ग्रह मातृसत्ताको निम्ति (२००२)-मा प्रकाशित छ, जसमा प्रकृति प्रेम आदि विविध अवधारणाका कविताहरू पाइन्छन्। भवानी घिमिरे (जन्म ...)-को युगप्रसाद (२००४) कविता सङ्ग्रहमा सामाजिक विकृति र विसङ्गतिप्रति तिखो प्रहार गरिएको छ। यस्तै के.एन. शर्मा (जन्म....) एकातिर गद्य कविता लेखनमा पनि त्यत्तिकै सक्रिय छन् भने अर्कातिर छन्दोबद्ध कविता र अनुवादमा पनि उत्तिकै लागिपरेका छन्। यिनको कविता सङ्ग्रह तिमीलाई म के भनूँ? (२००६) प्रकाशित छ। गद्य पद्य दुवै कविता लेखनमा सक्रिय रहेका स्वामी स्वादेशानन्द "कनकधारावाले' (जन्म- २९ सितम्बर, १९६४)-मा डिमापुर, नागाल्याण्डमा जन्मिएका स्वादेशानन्दले सिक्किमलाई आफ्नो कर्मभूमि बनाएका छन्। यिनको गोर्खा एकात्मता (२००६) खण्डकाव्य प्रकाशित भएको छ भने स्थानीय दैनिक हाम्रो प्रजाशक्तिमा महाकाव्य धरती स्वर्ग-को धारावाहिक प्रकाशन २००६-देखि शुरु भएको छ।

समालोचक र निबन्धकारका रूपमा स्थापित डा. शान्ति छेत्री (जन्म) कविता लेखनमा पनि त्यत्तिकै सक्रिय रहेकी छन्। आफ्ना कविताहरूमा विभिन्न आयामहरूको निरुपण गर्दै काव्यिक सौन्दर्यको समिश्रणद्वारा त्यसलाई हृदयस्पर्शी बनाउने डा. छेत्रीको ज्वालामुखी र छालहरू (१९९२) कविता सङ्ग्रह प्रकाशित भएको छ।

१९८५-मा आफ्नो पहिलो कविता सङ्ग्रह प्रकाशित गरेका कवि प्रद्युम्न श्रेष्ठ (जन्म २१मार्च, १९५४) १९९०-पछि अझ सक्रिय भएर उदाउँछन्। यिनको मह (१९९७), मोह (२००१) र माया (२००५) गरी तीनवटा कविता सङ्ग्रह समकालीन कविता लेखनकै समयमा भएकाले यिनको कविताप्रतिको प्रतिबद्धता प्रष्ट भएर जान्छ। साधारण भाषा-शैलीमा राष्ट्रियता, जातिप्रेम र सामाजिक विविधतालाई विषय वस्तु स्वीकार्दै कविता सिर्जना गर्ने श्रेष्ठ यस अवधिका महत्वपूर्ण कविताकारहरूमा एक हुन्। सन्‌ १९७१-को ७ अगस्तमा जन्मिएका भीम ठटालका विचारप्रधान काव्यिक अभिव्यक्ति ९०-को दशकको उत्तरार्द्धदेखिका उनका कविताहरूमा पाइन्छन्। नयॉं शताब्दीको थालनी सॅंगसगै भीम ठटाल सिक्किमका एक स्थापित कविका रूपमा परिचित भइसकेका छन्। उनको जिद्दी बालक (२००६) कविता सङ्ग्रहका कविताहरूमा प्रयोगवादी शैली तथा विश्वजनिन चिन्तनको समिश्रण पाइन्छ। साहित्य भनेपछि मरिमेट्ने युवा कवि टीबी चन्द्र सुब्बा(जन्म) १९९०-पछि साहित्य क्षेत्रमा स्थापित भएका हुन्। खण्डकाव्य तथा फूटकर कविताको रचनामा यिनको कलम रमाएको पाइन्छ। यिनको अभ्यस्त (...) कविता सङ्ग्रह, अनुद्वेगको रूप (१९९७), दुख सागर () गीति काव्य प्रकाशित छन्। खण्ड काव्य र गीतिकाव्यमा प्रयोग गर्न रूचाएका सुब्बाका काव्यहरू परम्पराप्रतिको विद्रोह बोकेर उदाएका छन्।

सिक्किमेली कविता लेखनमा एक आशावादी कविका रूपमा देखा परेका कवि भानुराज थापा "निरोगी' (जन्म) १९९०-कै दशकमा उदाएका एक सशक्त कवि प्रतिभा हुन्। यिनका चारवटा कविता सङ्ग्रह प्रकाशित छन्। ती हुन्‌ अतृप्त सम्झनाका कोसेली (१९९७), शीतको एक थोपा (१९९९) , बॉंझो परिधि ः मान्छे मान्छेहरू अनि मान्छेका मान्छेहरू (२००१) अनि आधी आकाशभित्रका केही ताराहरू (२००४)। सरल भाषा शैलीमा कविता सिर्जना गर्ने "निरोगी' मुक्तक लेखनमा पनि त्यत्तिकै सक्रिय छन्। उनको शीतको एक थोपा मुक्तक सङ्ग्रहका रूपमा प्रकाशित छ। १९८२-देखि कविता लेखनमा प्रवेश गरेका अनि कथा र उपन्यास लेखनमा पनि त्यतिक्कै सक्रिय रहेका कपिलमणि अधिकारी (जन्म २२ मई, १९६६) पनि समकालीन साहित्यकारहरूमा स्थापित नाम नै हो। यिनको फक्रिन नपाएका कोपिलाहरू (१९९२) कविता सङ्ग्रह प्रकाशित छ।

एक अनेपाली भएर पनि नेपाली साहित्यको सेवामा दत्त चित्त भएर लागिपरेका एमएस खान (जन्म २४ मार्च, १९५८) मूलतः कथाकार र निबन्धकारका रूपमा परिचित भए पनि कविता लेखनमा पनि सक्रिय छन्। साधारण भाषामा नेपाली सामाजिक परिवेशलाई समेत समेट्दै कविता लेख्ने खानका कवितामा प्रौढ़्ता आउन बॉंकी नै रहेको छ। यिनको कविता सङ्ग्रह जीवन पृष्ठ (२००६)-प्रकाशित छ।

पाश्चात्य लेखन शैलीलाई अप्नाउँदै १९९०-को दशकको पूर्वार्द्धमा जति सक्रियताका साथ सन्तोष आले (जन्म ११ नोभेम्बर, १९६७) उदाएका थिए उत्तरार्द्धदेखि भने उनी कविता लेखनमा त्यति सक्रि य देखिएका छैनन्। उनको एकमात्र कविता सङ्ग्रह तलाउभित्र अनुहार (१९९४)-को दोस्रो संस्करणसमेत प्रकाशित भयो तर अर्को कविता सङ्ग्रह भने देखा परेकोछैन। यिनका कवितामा तीव्र युगबोध, भाषिक परिमार्जन विद्रोहवादी चेतना, हृदयस्पर्शिता र छुट्टै परिपाटी पाइन्छ। यिनका कविता एकातिर बौद्धिक चिन्तन पाइन्छ भने अर्कातिर स्तरीय कविता लेखनमा यिनले बढ़ी जोर दिएको अनुभव हुन्छ।

गजल लेखन र कविता लेखनलाई आत्मसात गरेर अघि बढ़ेका खुशेन्द्र राई (जन्म १६ दिसम्बर, १९६८) समकालीन कविहरूमा चीर परिचित नाम हो। भावनात्मक काव्यिक अभिव्यक्ति आफ्ना कविताहरूमा प्रस्तुत गर्ने खुशेन्द्रको गजल लेखनमा दक्ष कलम चलेको छ। सिक्किममा गजल लेख्नेहरूमा खुशेन्द्र राई धेरै अघि पुगिसकेका छन्। यिनको अनाम बाटो (१९९५) कविता सङ्ग्रह र मेरा एकाउन्न गजलहरू (२००५) पाठकसामु छन्। यिनका गजलहरूमा रोमान्सेली भावका साथसाथै व्यङ्ग्य पनि प्रचुर मात्रामा पाइन्छ।

सन् १९७०-को दशकदेखि साहित्य क्षेत्रमा लागिपरेका राज.के.श्रेष्ठ (जन्म) मूलतः निबन्धकार र जीवनीकारका रूपमा परिचित भए पनि कविता लेखनमा पनि सक्रिय छन्। उनका कविताहरूमा नीतिवादी जीवन दर्शन पाइन्छभने गीति सरलता पनि यिनका कविताहरूको विशेषता हो। यिनको यात्रा क्रम (१९९८) कविता सङ्ग्रह प्रकाशित छ।

सन् २००४-को भानु पुरस्कारले सम्मानित प्रेम थुलुङ (जन्म) एकजना सिद्धहस्त कविका रूपमा परिचित छन्। यिनका तीनवटा कविता सङ्ग्रह आधारहीन सत्य (.....), अर्थहीन यात्रा र खण्डहरः अधुरो गीत (....) प्रकाशित छन्।

समकालीन नेपाली सिक्किमेली कविता साहित्यको कुरा गर्नुपर्दा अनेकौं कवि प्रतिभाहरूको उदय यस अवधिमा भएको अघिबाटै बताइसकिएको छ। यस अवधिमा सक्रियताका साथ कविता साहित्यमा लागिपरेका कविहरू तथा कविता कृतिहरू यस प्रकार छन्ः-

देवीप्रसाद अधिकारीको कविता कुसुम, टीएन शर्माको शीर्षहीन अनुभूतिका शीर्षकहरू (२००३), हेमप्रसाद ढकाल (जन्म१२ जनवरी १९६४) -को गान्तोक तिमीलाई (१९९९), मीनुदेवी छत्रीको तिम्रो गोरेटोमा आँखा बिछाई (१९९६), बलि सुब्बा (जन्म १९५७, मृत्यु १९९८)-को गीतै भो आधार (१९९७) गीत सङ्ग्रह, पेमनर्बू शेर्पा "ज्योति'-को धरतीको पुकार (१९९५), अनिता सेवाको साटिएको सपना (), तामलिङ वीरबल लिम्बू, (जन्म १४ मार्च १९५०)-को चाहिएको छ मलाई एउटा छोरा रावण जस्तो (२००१), अप्सरा दाहाल (जन्म)-को सम्झनाको देश (२००३), टीका ढुङ्गेल (जन्म ११ अगस्त १९६८)-को पूर्वाधार (२००२), नन्दलाल भट्टराईको सिक्किमका ऐतिहासिक आन्दोलनहरू (२००६), दिवश "भिखारी'ः को आधुनिक आकाशमुनि हुर्किएका मान्छेहरू (२००६), श्याम विरही (जन्म १९६४)-को अभिव्यक्ति अनुभूतिहरूका (१९९७) र श्यामा विरहीका कविता, माधव खनाल (जन्म १ अगस्त, १९६१)-को कहिले काहिँ (१९९८), सुवास दीपक (जन्म १ अप्रेल १९४८)-को आधारशिला (१९९३), विजय बान्तवाको अर्धसत्यमा बॉंच्नेहरू (१९९२), रघुनन्द सापकोटा (जन्म ७ अक्टोबर, १९४८)-को जीवनको अँगालोमा फैलिएका अनुभूतिहरू, सन्तोष बरदेवा (जन्म १६ अप्रेल, १९४७)-को अस्तित्व तिम्रो र मेरो, पूर्णकला भण्डारी, रविनलाल गुरूङ, मनप्रसाद गुरूङ, गंगाराम छेत्री र दीवस पेगाको संयुक्त लेखनमा प्रकाशित परमगद (२००५), वत्स वेदनिधि दाहालको दिप्तीमय उजाड़ स्मृति (१९९६) र दिव्य चेतना (२००५), भक्ति बस्नेतको गीतका अनुभूतिहरू (२००५), टीका भाइ (जन्म १९८०-का) केवल बुख्यॉंचाहरू (१९९८) र गनगन (२००३), गोविन्दप्रसाद शर्मा "अनाथ'-को जीवन सर्कस (१९९१), लिला तुम्बोपोको प्रभात (२००१), ओङ्दी छिरिङ लामाको लामाका कविताहरू (१९९४), नन्दू दूतराज "निशा'-को मायालु तिम्रै यादमा, टार्जन कटेलको छटपटाएका आत्माहरू (१९९०), रबर्ट रोशन राई र लिनु खालिङको संयुक्त लेखनमा तयार भएको सुस्केराद्वय (१९९५), मनोज कुमार बुमछेनको किन? रून्छ यो मन(१९९९), दाउछो लेप्चाको दुवो मुनिका कमिलाहरू (२००३), नरसिंह राईको तृषणा मलाई पनि (२००४), उदयचन्द्र न्यौपानेको स्पर्श, पारसमणि शम (जन्म ५ जुलाई १९८२)-को खण्डकाव्य आर्तव (२००३), राधिका शर्माको प्रथम यात्रा जीवनको (२००१), पालुवा फेर्दै (२००३) र पल्लव (२००६), नन्दकुमार ठटालको कति सम्झाऊँ, तारा दास (जन्म १९७३)-को उज्यालो उज्यालो हुँदै जान्छ (२०००), युवराज थापा र राजकुमार प्रधान "दुखी'-को पाइलाहरू प्रयासका मार्गमा (२००१), कृष्ण भारतीको अग्निशिखा खण्डकाव्य (१९९६) आदि उल्लेखनीय छन्।

यस अवधिमा कविता लेखनमा सक्रियताका साथ अघि बडेका तर पुस्तक चाहिँ प्रकाशन नगरेका थुप्रै कवि कवयत्रीहरू नेपाली कविता साहित्यमा आफ्नै किसिमको परिचयका साथ उदय भएका छन् भने कतिपय पुराना कविहरू यस अवधिमा आएर बेला-बेला कविता लेखनका साथ देखा पर्दैछन्। अघिल्लो कालखण्डमा अर्थात १९९० अघि सक्रियताका साथ कविता सिर्जनामा जुटेका तर १९९० पछि भने कविता विधामा थोरै कलम चलाएका कविहरूमा गिर्मी शेर्पा, रूद्र पौड्याल आदि प्रमुख छन्।

सन् १९९०-पछि सिक्किममा धेरै नवोदित कविहरूको उदय भयो, जो कविता लेखनको कुशलता र दक्षताका साथसाथै आफ्नो स्थान सुनिश्चित गर्न प्रयासरत देखिन्छन्। समकालीन परिप्रेक्ष्यमा उदय भएका कविहरू, जसका कविताहरू विभिन्न पत्र-पत्रिकाहरूमा निरन्तर प्रकाश भइरहन्छन् ती यसप्रकार छन्ः-
मिना सुब्बा, चम्पादिवस राई, अर्जुन यावा चामलिङ, अर्जुन पीयूष, रोजी निरौला, राधिका शर्मा, डीएन नेपाल, डिल्लीराम अधिकारी, डिल्लीराम शम, भूूपाल कौशिक, खड्गबहादुर चामलिङ, गोवर्द्धन बॉंस्तोला, किशोर मोक्तान, कमल बानिया (छटपटाएका आत्माहरू, १९९०), हरिभक्त अधिकारी, मणि चामलिङ "रहर', कविता सुब्बा, युवराज थापा, नवीन लामिछाने, केबी ठटाल, शान्तिराम अधिकारी, सुवास तामङ "अतीत', युवा बराल, पुण्य कोइराला, रिकी यल्मो लेप्चा, होमनाथ दवाड़ी, खुशबु छेत्री, डिकमाया दाहाल, रामभक्त, हस्तकुमार बन्धु, मणिका शर्मा, लीलाधर दुलाल, डेण्डूप लेप्चा, शंकर ढकाल, चन्द्रप्रकाश भट्टराई, एलएम नेपाल, पदम छेत्री, पदम क्षेत्री, बालकृष्ण श्रेष्ठ सदामे, एसएम बस्नेत, हरिप्रसाद अधिकारी, खड़ानन्द कोइराला, योगेश भण्डारी, शेरशशि, कृष्ण दवाड़ी, अर्जुन कोइराला, श्रीदास बेकारी, सुवास कोइराला, अमृता शर्मा, डीपी ढकाल, सुरेन मोहोरा, रोशन कौशिक, रूद्र कौशिक, दिनेश अधिकारी, धीरज राई, विमल काफ्ले, गोपाल गाउँले, पवन प्रतीक्षा खतिवडा (भोलि भूकम्पको थर्कमान), युवराज घले भाइ, चन्द्रप्रकाश राई, भीम प्रधान, गोविन्द प्रधान, भीम बाटुरा, शिव प्रधान, विन्देश्वरीप्रसाद, सोनाम दोङ, सीएम शर्मा, महेन्द्र बजगाईं, इमानुएल राई, सरला राई, भीम थापा, प्रवीण खालिङ, दोर्जी शेर्पा, नन्दू ठटाल, राजेनचन्द्र शिवाकोटी, देवकुमार दुमी राई, मित्रलाल निरौला, होमनाथ मिश्र, कल्पना प्रधान, रोशनी राई, यादव अधिकारी "स्वराज', ओटी लेप्चा, बसन्ती शर्मा, दलमान पीर मुखिया, अविचन्द्र सिग्देल, प्रकाश शर्मा, गायत्री गौतम, फुछिरिङ लेप्चा, विकाश शर्मा, भूषण शर्मा, सुरेश सुब्बा, शान्ति सहारा राई, चन्द्रप्रकाश सिञ्च्यूरी, तारामणि मोक्तान, अञ्जली, गंगाप्रसाद लिम्बू "असफल', पमिता अनु, कुवेर भट्टराई, सिर्जना गिरी, ए.बी मुरिङ्ग्ला, दीपक राई, देवराज राई, डीके प्रधान, राज पाखरिन, कृबु संयमी, भूपेन शर्मा आदि।

No comments: