Saturday, April 23, 2011

समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन -5

समकालीन सिक्किमेली नेपाली उपन्यास साहित्य

आधुनिक उपन्यास साहित्यका क्षेत्रमा सिक्किमले थोरै उपन्यास सिर्जना गरे पनि गुणात्मकताका दृष्टिकोणमा सिक्किमेली उपन्यास साहित्य अब्बल रहेको छ। सिक्किममा उपन्यास लेखनको परम्परा सन्‌ १९७०-को दशककै छेउछाउबाट शुरु भएको हो। सिक्किममा उपन्यास साहित्य भित्र्याउने श्रेय गंगा कप्तानलाई जान्छ। गंगा कप्तानको निर्दयी (१९६९) उपन्यास सिक्किमेली उपन्यास साहित्यको जेठो उपन्यास हो। सिक्किमका प्रथम उपन्यासकारको पगरी गुथेका गंगा कप्तानले जिउँदो लाश (१९७०), महत्वहीन कुमारीत्व (१९७०)- गरी सन् १९९०-अघि तीनवटा उपन्यास प्रकाशनमा ल्याइसकेका थिए। यसपछि उनले इन्दू उपन्यासको रचना (१९८८)-मा गरे पनि यसको प्रकाशन भने उनको मृत्युपछि २००५-मा भयो। गंगा कप्तानद्वारा सिर्जना गरिएको पृष्ठभूमिमा समीरण छेत्री प्रियदर्शी र अर्जुन निरौला जस्ता उपन्यासकारको उदयले सिक्किमेली उपन्यास साहित्यलाई माथि उठाउने काम गरेको छ। ऐतिहासिक परिप्रेक्ष्यमा लेखिएको समीरण छेत्री प्रियदर्शीको बलिवेदी (१९७०) र पोखिएको जिन्दगी (१९७१)-ले सिक्किमेली उपन्यास साहित्यलाई मल-जल गर्ने काम गरेको छ। यसपछि उपन्यास लेखनमा सशक्तताका साथ उदय भए अर्जुन निरौला। यसपछि सुवास दीपकको उपन्साय अभिषेक (१९८०), राधाकृष्ण शर्माको भन्न नसकेका कुरा (१९८३) र तुलसी शर्मा "कश्यप'-को सङ्कल्प (१९८८) उपन्यास प्रकाशन भए। यस दुइ दशकमा सिक्किमेली उपन्यास साहित्यले मलिलो माटो पाइसकेको थियो। १९८०-को दशकको अन्त्यमा आइपुग्दा अर्जुन निरौला घाम डुबेपछि (१९८९) उपन्यास लिएर आए। घाम डुबेपछि उपन्यास अघिल्ला उपन्यासहरूको तुलनामा परिष्कृत र परिमार्जित छ भने यो एउटा प्रयोदवादी उपन्यास हो। चेतन प्रवाह शैलीमा लेखिएको पहिलो भारतीय नपाली उपन्यासको पगरी लगाउन सफल घाम डुबेपछि उपन्यास नेपाली साहित्यको निम्ति एउटा विशिष्ट कृति बन्न पुगेको छ। यसरी १९९०-को दशक शुरु हुनअघि नै सिक्किममा उपन्यास साहित्यको निम्ति एउटा मलिलो पृष्ठभूमि तयार भइसकेको हामी पाउँछौं।

९०-को दशकदेखि यता सिक्किममा उपन्यास साहित्यको निम्ति उल्लेखनीय पहल भएको छ। मलिलो पृष्ठभूमिमा यहॉं भीम दाहाल, सानु लामा, पारसमणि शम, एम.डी. कार्की जस्ता उपन्यासकारहरूको उदय हुन्छ। समकालीन उपन्यास साहित्यमा उपन्यासकारहरूले विभिन्न दृष्टिकोण राखेका छन् भने भाषा-शैली र प्रयोगधर्मिताको दृष्टिकोणमा यस अवधिमा सिक्किममा लेखिएका उपन्यास नेपाली साहित्यका निम्ति बहूमूल्य कृति पुगेका छन्।

उत्तराधुनिक औपन्यासिक चेतको विकास सॅंगसॅंगै नारीवादी लेखनतर्फ अग्रसर बन्दै उपन्यासमा सामाजिक पृष्ठभूमिका यथार्थ कुराहरू हुबहू उतार्न अनि जीवन्त पात्रहरूको प्रयोग गर्न उपन्यासकारहरू अघि सरेको देखिन्छ। उपन्यासमा खोक्रो प्रेम र आडम्बरी मायालाई पर राखी जीवन भोगाइका क्रममा देखापरेका अनेकौं पाटाहरूलाई उपन्यासकारहरूले इमान्दारितापूर्वक पस्किने कोशिश गरेका छन्। यतिमात्र होइन यस अवधिका उपन्यासमा सिक्किमको वास्तविक सामाजिक पृष्ठभूमिलाई खुल्लम-खुल्ला रूपमा प्रस्तुत गर्न खोजिएको छ। आञ्चलिक पृष्ठभूमिमा लेखिएका उपन्यासहरूमा उपन्यासकारहरू कतिपय प्रयोग गर्नमा अघि सरेका छन्। यसका साथै यस अवधिका उपन्यासले साहित्यप्रतिको छुट्टै धारणा पनि सिर्जना गराएका छन्। यसै अवधिमा भीम दाहाललाई उपन्यास लेखनकै क्षेत्रमा साहित्य अकादमी पुरस्कार प्राप्त हुनुबाट सिक्किममा उपन्यास साहित्यले उल्लेखनीय प्रगति गरेको स्पष्ट भएर जान्छ।

यस अवधिमा लेखिएका उपन्यासहरूलाई यसरी सूत्रात्मक रूपमा प्रस्तुत गर्नसकिन्छ-अभीष्टको खोज-हिमालचुली मन्तिर-द्रोह-विद्रोह-लक्ष्यतिर-सिँहासन।
समकालीन सिक्किमेली उपन्यास साहित्यमा भीम दाहालले आफ्नो छुट्टै स्थान निर्धारण गरेका छन्। २००६-को साहित्य अकादमी पुरस्कारद्वारा सम्मानित भीम दाहाल एक प्रयोगवादी सफल उपन्यासकार हुन्। उनका तीन उपन्यास यस अवधिमा प्रकाशन भएका छन्। भीम दाहाल पहिलो उपन्यास अभीष्टको खोज (१९९३)-बाट नै पूर्णतः स्थापित उपन्यासकारका रूपमा परिचित भएका हुन्। उनको द्रोह (२००२) र विद्रोह (२००५)-भन्दा अभीष्टको खोज अनेकौं महत्व का दृष्टिकोणमा माथिल्लो पंक्तिमा खड़ा भएको छ।

अभीष्टको खोज नायिका प्रधान उपन्यास हो र यसको कथानक नायिका केन्द्रित भएकोले उपन्यासमा नारीहरूको सामाजिक स्थान र महत्वलाई स्पष्ट पार्ने काम भएको छ। यस उपन्यासमा उपन्यासकार दाहालले नायिका शान्तिलाई तेस्रो पुस्ताकी नारी चरित्रको रूपमा खड़ा गरेका छन्। यस उपन्यासमा नारीका तीन पुस्तालाई केलाउने काम भएको छ। उपन्यासमा पुरुषवर्गको शोषण र दमनलाई खुल्ला रूपमा प्रस्तुत गर्दै उपन्यासकारले नारीको विद्रोहात्मक स्वरूपलाई अघि सारेका छन्। सिक्किम भारतमा विलय भए अघिको र पछिको सामाजिक पृष्ठभूमिमा सिर्जना भएको यस उपन्यासमा दुवै ऐतिहासिक कालखण्डलाई उदाङ्गो पार्ने काम भएको छ। कसरी सिक्किममा तीव्रताका साथ सामाजिक परिवर्तन भयो त्यस कुरालाई उपन्यासकारले विशिष्ट शैलीमा प्रस्तुत गरेका छन्। सामाजिक संस्कार र परिवेश अनि व्यवस्थाले नारीहरूमाथि के-कस्ता प्रभाव पार्दछन् ती कुरालाई उपन्यासमा राम्रारी देखाइएको छ। अभीष्टको खोजको अर्को विशेषता हो, उपन्यासकारको भाषा-शैली। उपन्यासकारले उपन्यासमा जुन भाषा शैलीलाई प्रस्तुत गरेका छन्, त्यसले पाठकलाई आकर्षित पार्दछ। उनको भाषा-शैलीले प्रत्येक वर्गका पाठकलाई मोहित बनाउन सक्षम बनेको छ। दाहालको आञ्चलिक परिवेशमा लेखिएको अनि उत्तराधुनिक उपन्यास लेखनलाई भित्र्याइएको अभीष्टको खोज नेपाली साहित्यका निम्ति गहकिलो कृति बन्नपुगेका छन्।

दाहालको अर्को उपन्यास द्रोह संरचनात्मक दृष्टिकोणमा अभीष्टको खोज भन्दा भिन्नै रहेको छ। यस उपन्यासमा दाहालले उपन्यासलाई विभिन्न खण्डमा शीर्षक दिएर विभाजन गरेका छन्। यस उपन्यासको विशेषता केमा छ भने उपन्यासकारले पात्रहरूको चयनमा देखाएको चतुरपना। एकातिर उनी सूत्रात्मक रूपमा पात्रहरूको नामाकरण गर्छन् भने अर्कातिर समाजका प्रत्येक कुनाबाट उनले पात्रहरू टिपेका छन्। सिक्किमेली सामाजिक, राजनैतिक परिवेशमा लेखिएको यस उपन्यासमा उपन्यासकारको प्रगतिवादी दृष्टिकोण स्पष्ट देखिन्छ। भाषा-शैलीका दृष्टिकोणमा द्रोहमा आइपुग्दा दाहालको लेखन शैली अझ परिष्कृत र परिमार्जित भएको छ। उनी चरित्र चित्रण गर्नमा आफ्नो छुट्टैपना देखाउँछन् भने समाजको विकृति र विसङ्गतिलाई उनले खुल्ला रूपमा चित्रण गरेका छन्। राजनैतिक परिवेशमा आएको भ्रष्टाचारप्रति उनको तिखो व्यङ्ग्य रहेको छ। यस उपन्यासमा उनले ठाउँ-ठाउँमा असित व्यङ्ग्यको प्रयोग गरेका छन्, जो अघिल्लो उपन्यासमा कम थियो। पात्रहरूको चयन र नामाकरणमा उनले अनौठो प्रयोग गरेका छन्। यस उपन्यासमा जिल्लाराम, विचारलाल, कैंजरबहादुर, एलबीकेसी राई जस्ता पात्रहरूले उपन्यासलाई अर्कै लोकमा पुऱ्याएको छ। यहॉं आइपुग्दा उनी सूत्रात्मक शैलीको पनि प्रयोग गर्न रूचाउँछन्। द्रोहको विशिष्टताकै कारण यस उपन्यासलाई साहित्य अकादमी पुरस्कारका निम्ति चयन गरिएको हो।

उनको तेस्रो उपन्यास विद्रोह-को पाठकीय ग्राफ अघिल्ला दुइ उपन्यासको तुलनामा केही तल झरेको छ। विशेष गरी विद्रोहमा आइपुग्दा भीम दाहाल मार्क्सवादी चिन्तनधाराबाट बढ़ी प्रभावित भएको पाइन्छ। उपन्यासमा जुन हिसाबमा साम्यवादी विद्रोह भएको छ त्यो शायद आजको परिवेशमा सम्भव पाठकलाई नलागेको हुनसक्छ। यद्यपि, सिक्किमको वास्तविक कथा बोकेको यस उपन्यासमा उपन्यासकारले जतिसक्दो जीवन्त पात्रहरू खड़ा गर्ने कोशिश गरेका छन्। उपन्यासकारको अभीष्ट प्रगतिवादी र साम्यवादी समाजको निर्माण गर्नु रहेको देखिन्छ। यद्यपि, विद्रोहको भाषा-शैली अझ परिष्कृत र परिमार्जित भएको छ अनि यहॉं आइपुग्दा भीम दाहाललाई शैली सम्राट भनेर भन्नसकिने स्थिति खड़ा भएको छ। आफ्ना तीन उपन्यासहरूमा प्रयुक्त भाषा-शैलीबाट भीम दाहाल सॉंच्चै नै शैली सम्राट बनेका छन्।

समकालीन सिक्किमेली उपन्यास साहित्यको कुरा गर्दा सानु लामाको आख्यान साहित्यको चर्चा नगरी पूरा हुँदैन। उनको हिमालचुली मन्तिर (१९९८) आत्मपरक शैलीमा लेखिएको आख्यानात्मक कृति हो। सानु लामाले यसलाई उपन्यासको दर्जा नदिए पनि यो औपन्यासिक रूपमा तयार गरिएको अनुभवन्यास हो। यो अनुभवन्यास आत्मपरक वृतान्त धारावाहिक शैलीमा लेखिएको छ। यसका मूल पात्र अनुभवन्यासकार लामा नै हुन् र यसका सम्पूर्ण घटनाहरू उनी वरिपरि घुमेका छन्।

यस पुस्तकमा समावेश गरिएका कथाहरू सिक्किमका ग्रामीण परिवेशमा सिर्जना भएका छन्। सरल भाषा-शैलीमा कूल २० खण्डमा बॉंड़िएको यस कृतिमा अनुभवन्यासकारले सिक्किमका विभिन्न ग्रामीण क्षेत्रहरूमा आफ्नो सरकारी कामका सिलसिलामा बिताएका ती तीता-मीठा पलका अनुभवहरूलाई रेखाङ्कित गरिएको छ। सिक्किमको ग्रामीण परिवेशलाई राम्रोसॅंग चिनेका अनि त्यसलाई केस्रा-केस्रा केलाउन सफल भएका साहित्यकार सानु लामाको हिमालचुली मन्तिर नेपाली आख्यान साहित्यका निम्ति अमूल्य रत्न बन्नपुगेको छ।

सन्‌ २००६-मा आएर सिक्किमबाट दुइवटा उपन्यास प्रकाशन भए। पहिलो एम.डी. कार्कीको सिँहासन र दोस्रो पारसमणि शमको लक्ष्यतिर! कार्कीद्वारा लिखित उपन्यास सिँहासनमा सिक्किमको भूत र वर्तमान परिवेशलाई उदाङ्गो पारिएको छ। यस उपन्यासमा वर्णित जनजीवन, घटना र ऐतिहासिक सन्दर्भहरू तथा मिथकीयको समायोजन गर्ने काम भएको छ। इन्द्रकीलको पृष्ठभूमिमा रचिएको यस उपन्यासमा वर्तमान राजनैतिक परिवेशका साथसाथै सिक्किमको ऐतिहासिक पृष्ठभूमिलाई पनि समातेर कथानकलाई अघि बढ़ाउने काम भएकोछ। लोक कथा, दन्ते कथा र ऐतिहासिक पृष्ठभूमिबाट उपन्यासलाई उठाउंँदै वर्तमानको सामाजिक पृष्ठभूमिमा देखा परेका विविध समस्या, विसङ्गति, विकृति आदिलाई उपन्यासकारले प्रस्तुत गरेका छन्। यो एउटा अतीतदेखि वर्तमानसम्मको यात्रा बोकेको एउटा प्रयोगवादी उपन्यास हो। उपन्यासको ऐतिहासिकतालाई लेखकको काल्पनिक कथावस्तुले ठाउँ-ठाउँमा मधुरो बनाएको भए पनि सिक्किमलाई चिनाउन यसले विशेष भूमिका निर्वाह गरेको छ। साधारण र सरल भाषा शैलीमा लेखिएको यो उपन्यास कुल २१ खण्डमा विभाजित छ।

नवोदित उपन्यासकार पारसमणि शमको लक्ष्यतिर उपन्यास विशुद्ध आञ्चलिक परिवेशमा लेखिएको प्रयोगवादी उपन्यास हो। उपन्यासमा शमले सिक्किमको पाण्डाम गाउँको सेरोफेरोमा जीवन्त पात्रहरूद्वारा आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक प्रसङ्गलाई टिप्दै उपन्यासलाई अघि बढाएका छन्। उपन्यासमा संवादको लगभग बहिष्कार गर्दै विवरणात्मक शैली अप्नाइएको छ। सरल र स्पष्ट वाक्य रचना, छोटा वाक्य गठनले उनको शैलीलाई सरल र मधुर बनाउने काम गरेको छ भने उपन्यासमा सिक्किमको ग्रामीण परिवेशलाई एउटै गाउँको कथाले बोकेको छ। उपन्यासमा प्रयुक्त पात्र-पात्रा जीवन्त छन् अनि ती सबै आ-आफ्नै ठाउँमा आ-आफ्नै प्रकारले प्रतिनिधित्व गर्न सक्षम बनेका छन्। कुल ३१ खण्डमा विभाजित यस उपन्यासको प्रत्येक खण्डमा एउटा कथा पाइन्छ तर ती उपकथाहरू उपन्यासकै कथानककै वरिपरि घुमेका छन्। उपन्यासकारको विशेषता केमा रहेको छ भने यो उपन्यास शुरुबाट, बीचबाट अथवा अन्त्यबाट जुनै खण्डबाट अध्ययन गर्दा पनि उपन्यास सिद्धिँदा पाठकले मूल कथानकलाई समाउन सक्षम बन्नेछन्। गाउँ समाजको विकास र समृद्धिको क्रममा देखा परेका अनेकौं मोडहरूलाई उपन्यासकारले जुन हिसाबले प्रस्तुत गरेका छन् त्यो निक्कै घतलाग्दो छ। यसमा उपन्यासकारको अग्रगामी दृष्टिकोण अनि समयभन्दा तीव्रताका साथ अघि बढ़ेको परिकल्पनाले उपन्यासलाई रोचक बनाएको छ। यस उपन्यासमा मूल कथानक र उपकथा दुवै नै महत्वपूर्ण छन्। मूल कथाले धागोको काम गरेको छ भन उपकथाले फूलको। उपन्यासकार पारसमणि शमको पहिलो उपन्यास भए पनि लक्ष्यतिरले नौलो स्वाद र परिकार दिन सक्षम बनेको छ भन्न सकिन्छ।
१९८८-मै रचना गरिए पनि २००५-मा आएर मात्र प्रकाशित भएरको गंगा कप्तानको उपन्यास इन्दू नारी जीवनमा आइपरेका विभिन्न समस्याहरूलाई लिएर लेखिएको उपन्यास हो। समाजमा नारीहरूको स्थान अनि उनीहरूले भोग्नुपरेका विविध समस्या र उनीहरूको जीवनचर्यामाथि आधारित यस उपन्यासमा इन्दू पात्रले भोग्नुपरेका अनेकौं कष्टसाध्य जीवन यात्राको चित्रण गरिएको छ। उपन्यासकार गंगा कप्तानको सुधारमुखी आग्रह उनको अन्तिम उपन्यास इन्दू-मा आइपुग्दा यथावत रहेको स्पष्ट हुन्छ।

यस अवधिमा लेखिएका अन्य उपन्यासहरूमा कपिलमणि अधिकारीको दुेखेको चोट (१९९९), गीता शर्माको खूशबू (१९९२), सविता चामलिङको प्रतीक्षा (१९९०), नन्दू दूतराज "निशा'-को अमर उपहार, जिग्मी लेप्चाको मलाई सिउँदोको सिन्दूरले हत्या गऱ्यो (१९९६), चक्रपाणि भट्टराईको शक्तिको खोज (१९९८), टी.बी. चन्द्र सुब्बाको जीवनदेखि धेरै टाड़ामा (२०००), सन्तोष गुप्त "उदास'-को सौगात (१९९६), निष्ठुरी (१९९८) र वियोग (२०००) आदिमा स्वच्छन्दतावादी धारालाई समातेर सामाजिक पृष्ठभूमिमा उपन्यास सिर्जना गरिएका छन्। यी उपन्यासहरू बढ़ी भावनात्मक तथा रतिरागात्मक रहेका छन्। गीता शर्माको खूशबू-मा नारी जीवनका विभिन्न पाटालाई केलाउने प्रयास भएको छ भने चक्रपाणि भट्टराईको शक्तिको खोजमा एड्स पीड़ित महिलाले भोग्नुपरेका समस्याहरूलाई देखाइएको छ। टीबी चन्द्र सुब्बाको जीवनदेखि धेरै टाड़ामा जीवनको अँध्यारो पक्षलाई अघि ल्याइएको छ भने नन्दू दूतराज र सन्तोष गुप्तका उपन्यासहरूमा क्षणिक प्रेमबाट उत्पन्न विविध समस्याहरूलाई रोमान्सेली रूपमा प्रस्तुत गरिएको छ।

No comments: