Saturday, April 23, 2011

समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन -8

समकालीन सिक्किमेली संस्मरण साहित्य

सिक्किमेली समकालीन साहित्यको सन्दर्भमा कुरा गर्नुपर्दा संस्मरण, नियात्रा साहित्य विकासोन्मुख दिशामै अग्रसर छ। यस दिशामा थोरै कलमकारहरूले कलम चलाए पनि दुइ चारवटा उत्कृष्ट संस्मरणात्मक कृतिहरू सिर्जना भइसकेका छन्। यद्यपि फट्याक फुटुक संस्मरणात्मक लेखहरूमै समकालीन सिक्किमेली संस्मरण साहित्य सीमित रहेको छ। विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित संस्मरणात्मक लेखहरू र केही स्मृति ग्रन्थहरूमा प्रकाशित संस्मरणात्मक लेखहरू नै बड़ी सिर्जना भएको देखिन्छ।

संस्मरण साहित्यमा कलम चलाउने समकालीन सिक्किमेली साहित्यकारहरू हुन्-सानु लामा, डा. शान्ति छेत्री, मटिल्डा राई, पवन चामलिङ "किरण', प्रद्युम्न श्रेष्ठ आदि। सौप लामाको यात्रा संस्मरणमा आधारित दुइ कृति प्रकाशित भएका छन्। औपन्यासिक परिपाटीमा लेखिएको अनि माथि अनुभवन्यास भनेर चर्चा गरिसकिएको हिमालचुली मन्तिर (१९९८)। उनको यस विधामा सिर्जना भएको विशुद्ध संस्मरणात्मक कृति हो। उनको विदेश भ्रमणका आधारमा लेखिएको आँगन परतिर (१९९९) अर्को संस्मरणात्मक कृति नेपाली साहित्यमा उत्तराधुनिक लेखन शैलीमा सिर्जना गरिएको उत्कृष्ट साहित्यिक कृति बन्न पुगेको छ।
यस विधामा देखा परेकी अर्की सशक्त प्रतिभा हुन्‌ डा. शान्ति छेत्री, उनको यूरोप भ्रमण केही संस्मरण (१९९८) यूरोपका राष्ट्रहरूमा गरिएका भ्रमणहरूलाई लिएर लेखिएको छ। यसमा उनका १४ वटा लेखहरूमा उनले तुलनात्मक दृष्टिकोणसमेत राखेर रचनाहरूको सिर्जना गरेकी छन्। संस्मरण साहित्यमा देखा परेकी अर्की सशक्त प्रतिभा हुन् मटिल्डा राई। उनको आफ्ना देश विदेशका भ्रमणमा प्राप्त गरेका अनुभुति र अन्य स्मृतिमूलक घटनाहरूलाई लिएर रोचक शैलीमा लेखिएका ३१ वटा संस्मरणात्मक लेखहरूको सॅंगालो जीवनका केही रेखा केही रंग ( २००१)-मा प्रकाशित छन्।

संस्मरण साहित्यमा आफ्नो सशक्त उपस्थिति दिने अनि आफ्नो जीवन संघर्षका विविध पाटालाई केलाउँदै राजनैतिक पृष्ठभूमिमा संस्मरण लेख्ने संस्मरणकार हुन् पवन चामलिङ। उनको सिक्किमेली राजनैतिक इतिहासको सेरोफेरोमा आत्मवृतान्तमूलक शैलीमा लेखिएको प्रजातान्त्रिक आन्दोलनको आत्म-संघर्ष (२००४) प्रकाशित भएको छ। हुन त यस कृतिलाई राजनैतिक लेखहरूको संग्रह भनिए पनि यसमा पवन चामलिङको जीवनको एक पाटाका महत्वपूर्ण घटनाहरूलाई प्रस्तुत संस्मरणात्मक रूपमा गरिएको कारण संस्मरण साहित्यभित्र गणना गर्न सकिने प्रशस्त ठाउँ रहेको छ।

सिक्किमेली संस्मरण साहित्यमा निरन्तर कलम चलाउने कलमकार हुन्- प्रद्युम्न श्रेष्ठ। उनका विशुद्ध संस्मरण र यात्रा संस्मरणहरू विभिन पत्र-पत्रिकामा प्रकाशित हुँदै आएका छन्। यस विधामा उनका दुइ पुस्तक पनि प्रकाशित छन्। पहिलो पुस्तक मेरा केही स्मृतिहरू (१९९४)-मा संस्मरणहरूलाई संग्रह गरिएको छ भने दोस्रो मेरा केही यात्रा संस्मरणहरू (१९९५)-मा यात्रा संस्मरणहरूलाई राखिएको छ।

यस विधामा कलम चलाउने अन्य कलमकारहरू हुन्- वीरभद्र कार्कीढोली, उपमान बस्नेत, केदार गुरुङ, शिव प्रधान, विजयकुमार सुब्बा, चम्पादिवस राई, भीम दाहाल, सानुभाइ शर्मा, मोहन प्रधान "नीरज', डिल्लीराम अधिकारी, सुधा राई, प्रा. गीता निरौला, गोबर्धन बॉंस्तोला, लक्ष्मी गुरूङ, प्रेम थुलुङ, प्रवीण राई जुमेली, रुद्र पौड्याल, चक्रपाणि भट्टराई, टीबी चन्द्र सुब्बा, विजय बान्तवा, सुवास दीपक, सीडी राई, सन्तोष बर्देवा, उदय छेत्री, राजेन्द्र भण्डारी, वत्स गोपाल, डा.घनश्याम नेपाल, पुण्यप्रसाद शर्मा, डा. पुष्प शर्मा, दीपक तिवारी आदि।

No comments: